गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश ३ बाट खेलाडी छनोट पूरा भएको छ । आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोटमा पुरुष ४९ केजीमा काठमाडौंका मदनकृष्ण डंगोल पहिलो भए । उनले मकवानपुरका अनन्त ओझालाई पराजित गरे । ५२ केजीमा काठमाडौंका मिङमार ग्याल्जेन शेर्पाले फाइनलमा चितवनका ओम परियारलाई हराए ।
पुरुष ५६ केजीमा काठमाडौंका आदित्य कर्माचार्यले मकवानपुरका सुचितध्वज कार्की, ६० केजीमा काठमाडौंका सुनिल शाहीले धादिङका अभिषेक राई, ६९ केजीमा काठमाडौंका अनिश डंगोलले नुवाकोटका सरियान्स प्रजापति, ७५ केजीमा चितवनका दिवसलाल भूमिले रामेछापका प्रिनस खड्का तथा ८१ केजीमा ललितपुरका सौजन थापाले चितवनका अमर शेर्पालाई फाइनलमा पाखा लगाउँदै शीर्ष स्थान हात पारे ।
महिला ४८ केजीमा सुष्मा तामाङले भक्तपुरकी अस्गिता दुवाल तथा ५१ केजीमा रोशनी राईले भक्तपुरकी सुष्मा खड्कालाई फाइनलमा निराश पार्दै छनोट भए । ५४ केजीमा शिवानी श्रेष्ठ, ५७ केजीमा कुसुम तामाङ र ६४ केजीमा अम्बिका विक छानिए । छनोट भएका पाँचै खेलाडी काठमाडौंका हुन् ।
यससँगै तीनवटा प्रदेशमा छनोट सम्पन्न भएको छ । यसअघि प्रदेश १ र २ मा छनोट भएको थियो । राष्ट्रिय प्रतियोगिता माघ २२ गतेदेखि राजधानीमा सुरु हुँदै छ । विजेतालाई राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष शैलेश कर्माचार्य, राखेपका सदस्य अर्जुनबहादुर केसी, राष्ट्रिय प्रतियोगिताको मूल आयोजक समितिका संयोजक राजीव श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया