एनएनआईपीए अवार्डलाई आदर्श समाजको साथ

एनएनआईपीए अवार्डलाई आदर्श समाजको साथ


नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले वितरण गर्ने एनएनआईपीए स्पोर्टस् अवार्डले आदर्श समाज विकास केन्द्रको साथ पाएको छ । केन्द्रले अवार्डका लागि खेलाडी संघलाई वर्षको १ लाखका दरले तीन वर्षसम्म रकम उपलब्ध गराउने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा खेलाडी संघका अध्यक्ष र केन्द्रकी अध्यक्ष सपना लामाले हस्ताक्षर गरे ।

सो रकममध्ये २५ हजार रुपैयाँ एनएनआईपीए पत्रकारिता पुरस्कारका लागि छुट्याइने र बाँकी व्यवस्थापनमा खर्च गरिने आयोजकले जनाएको छ । खेलाडी संघले एनएनआईपीए पत्रकारिता पुरस्कारमा १० हजार रुपैयाँ वृद्धि गर्न लागेको हो । गत वर्षदेखि शुरु गरिएको यो अवार्डबाट श्याम चित्रकार १५ हजार नगदसहित सम्मानित भएका थिए । सम्झौतापछि केन्द्रकी अध्यक्ष लामाले आफू पनि खेल क्षेत्रमै संलग्न भएका कारण अवार्डसँग जोडिन पुगेको बताउँदै अवार्डसँग जोडिन पाएकोमा खुसी व्यक्त गरिन् । सपना कराते तथा फुटबल खेलाडी हुन् ।

खेलाडी संघका अध्यक्ष श्रेष्ठले अवार्डमा सहयोगी संस्थाहरू अगाडि आउनु खेलाडीका लागि गौरवको विषय भएको बताए । यसअघि जनता बैंकले अवार्डको मुख्य विधा सर्वोत्कृष्ट पुरुष–महिला खेलाडीलाई जनही १–१ लाख रुपैयाँ प्रदान गर्न खेलाडी संघसँग सम्झौता गरेको थियो ।

अवार्डको १३औँ संस्करण पाटन दरबार स्क्वायर हातामा रहेको ललितपुर संग्रहालयमा पुस १३ गते हुँदै छ । अवार्डका अवसरमा राखेप च्याम्पियनसिपमा समावेश २९ खेलका एक–एक पुरुष–महिला खेलाडीलाई पनि उत्कृष्ट खेलाडीको अवार्डसहित जनही १० हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ । त्यस्तै एक पाका खेलाडी गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सम्मानित हुनेछन् ।