राष्ट्रिय फुटबल लिग धरापमा

राष्ट्रिय फुटबल लिग धरापमा


sportखेलकुद लेख :थापा–विवाद
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष गणेश थापा आर्थिक अनियमितताका कारण विवादमा तानिएपछि नेपाली फुटबलको साख ह्वात्तै घटेको छ । सार्वजनिक लेखा समिति र फिफाले थापालाई कारवाहीस्वरुप दुई र चार महिनाको प्रतिबन्ध लगाएपछि फुटबलको विवाद चरमोत्सर्गमा पुगेको छ । थापालाई कस्तो कारवाही हुन्छ, त्यसको अहिलेसम्म कुनै टुङ्गो लागिसकेको अवस्था छैन । अर्थात्, थापा प्रतिबन्धको सजाय भोगिरहेका छन् । यस्तो जटिल अवस्थामा थापाले एन्फाको बागडोर आफ्ना आसेपासेलाई सुम्पे पनि उनीहरूले फुटबललाई सहज तरिकाले अगाडि बढाउन सकेका छैनन् । एन्फाको वार्षिक क्यालेन्डरमा रहेका फुटबल प्रतियोगिताहरू थापाकै प्रतिबन्धका कारणले नै प्रभावित हुन पुगेका छन् । तर विडम्बना, फुटबलमा थापाको बीसवर्षे राजमा सारथी बनेर हिडेका धुपौरेहरू अहिले हिजडा बनेपछि फुटबलमा थप अन्योल सृजना भएको छ । पूर्वघोषित फुटबलका प्रतियोगिताहरूमा प्रश्नचिह्न खडा भएको छ । यसको सवैभन्दा ठूलो मार राष्ट्रिय लिग फुटबल प्रतियोगितामा परेको छ ।
निलम्बित एन्फा अध्यक्ष गणेश थापाले ललितकृष्ण श्रेष्ठलाई एन्फाको कार्यवाहक अध्यक्ष बनाएपछि फुटबलको गतिविधि पूर्णरुपमा ठप्प हुन पुगेका छन् । थापाले राष्ट्रिय लिग फुटबलको घोषणा गरेर विवाद मत्थर गर्ने र लिगतर्फ खेलाडी र पदाधिकारीको ध्यानाकर्षण गर्न खोजे पनि त्यो अहिले असफल प्रयास मात्र सावित भएको छ । थापाले कार्तिक १५ गतेदेखि राष्ट्रिय लिग सञ्चालन हुने घोषणा गरे पनि अहिलेसम्म हुन सकेको छैन । उल्टै एन्फाका पदाधिकारीहरू विभिन्न बहाना बनाउँदैै लिगको समय सार्दै आएका छन् । पहिलो मितिमा लिग सञ्चालन नभएपछि एन्फाले मङ्सिर २२ गतेदेखि हुने पत्रकार सम्मेलनको आयोजना गरी बताएको थियो । तर, यो मितिमा पनि ललितकृष्णको टिमले मुख्य प्रायोजकको बहाना बनाई माघ सातदेखि राष्ट्रिय लिग सञ्चालन गर्ने प्रेस विज्ञप्तिमार्फत् जनाएको छ । अहिलेसम्म लिगमा प्रतिस्पर्धा गर्ने क्लब र जिल्लाका टोलीको टुङ्गो नलागेकोले माघमा पनि लिग हुने सम्भावना निकै न्युन देखिन्छ । प्राप्त जानकारीअनुसार गत वर्ष सम्पन्न ‘ए’ डिभिजनका शीर्ष ६ क्लब र जिल्लाका पाँच टोली राष्ट्रिय लिगमा खेल्न पाउने प्रावधान रहे पनि एन्फाले अहिलेसम्म यसको टुङ्गो लगाउन सकेको छैन ।
राष्ट्रिय लिग फुटबल प्रतियोगिताको मिति तोकिए पनि एन्फाकै कमजोरीले लिग सञ्चालन हुन नसकेको हो । लिगका लागि समयमै क्लब र जिल्ला टोलीको छनोट नहुनु यसको कारकतत्व हो । अर्को कुरा एन्फाकै गैरजिम्मेवारी र टालटुले कुरा र गतिविधिले एन्फामाथि क्लबहरूले विश्वास गर्न छाडेका हुन् । तसर्थ, एन्फाले क्लबहरूलाई दर्ता हुने मिति तय गरे पनि कुनै क्लब सो मितिमा दर्ता नभएबाट पनि सोझै अनुमान लगाउन सकिन्छ । कुनै पनि क्लबले दुईपल्ट राष्ट्रिय लिग खेल्न दर्ता नभएपछि लिगको मिति पर सर्दै गएको खुद एन्फाका पदाधिकारीले बताएका छन् । अर्को कुरा लिग सञ्चालन नहुनुमा प्रायोजकले एन्फालाई विश्वास नगर्नु पनि एक कारण हो । गणेश थापा आर्थिक अनियमितताको विवादमा मुछिएपछि प्रायोजकहरू फुटबलबाट भाग्दै आएका छन् । यतिबेला पर्ख र हेरको अवस्था रहेकोले फुटबलमा लगानी गर्न प्रायोजकहरू चाहँदैनन् । तसर्थ, करिव सात करोडको बजेट रहेको राष्ट्रिय लिगमा तोकिएको मितिसम्म सात लाख पनि नउठ्नुले लिगको मिति पर सर्दै गएको हो । अहिले पनि अवस्था उस्तै रहेकोले माघ ७ मा पनि लिग होला भनेर एकीन गर्न सकिने अवस्था छैन ।
एन्फाले पटक–पटक मिति सार्दै क्लब र खेलाडीको आँखामा छारो हाल्दै आएको छ । यो पटक पनि यस्तै नाटकको मञ्चन गर्न एन्फा सफल भएको छ । एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले पुनः पहिलेकै कुरालाई सुगा रटानमा व्यक्त गर्दै फुटबलमा अन्योलता सृजना गर्ने दुस्प्रयास गरेका छन्, जुन आफैमा सोचनीय छ । तुलाधारले बडो दम्भका साथ भने, ‘अहिले मिति तोकियो, अब क्लबहरूसँग छलफल गरि केही दिनमै खेलाडी दर्ता प्रक्रियालाई अगाडि बढाउने छौँ । वर्तमान अवस्थामा एन्फाको बारेमा विश्लेषण गर्ने हो भने जबसम्म थापाको बारेमा कुनै टङ्गो लाग्दैन तबसम्म राष्ट्रिय लिग हुने सम्भावना देखिँदैन । लिग तब सञ्चालन हुन्छ जब थापाको पोस्टमार्टम हुन्छ । अन्यथा एन्फाका भरौटे र चम्चे जसरी उफ्रे पनि लिग हुने कुरा दिवास्वप्न मात्रै हो । खेलाडीहरूलाई चेतना भया ।
एन्फाले खेलाडी र क्लबहरूको आँखामा छारो हाल्न विशेष रणनीति अख्तियार गरे पनि त्यो देखाउनका लागि मात्रै भएको एक फुटबल पदाधिकारीले खुलासा गरेका छन् । उनले भने, ‘यो षडयन्त्र मात्रै हो, साँचो रुपमा क्लबहरू नै राष्ट्रिय लिग खेल्न चाहँदैनन् । यसर्थमा कि उनीहरू अप्रत्यक्ष रूपमा गणेश थापालाई असफल पार्ने षडयन्त्रमा लागेका छन् । अझ अहिले एन्फाको कुर्सी सबैका लागि प्यारो बनेको छ । यसमा क्लबका पदाधिकारीहरूले आँखा नलगाउने त कुरै आउँदैन ।’ तसर्थ, उनीहरू जसरी भए पनि थापालाई असफल पार्दै एन्फामा राज गर्न चाहन्छन् । त्यो उनीहरूको हिजोको पनि सपना थियो, आज पनि जिविदै छ भन्दा अतिसयोक्ति नहोला । अर्को सत्य कुरा के हो भने एन्फामा एउटा …वाद उहिलेदेखि नै हावी हुन खोजेको हो । तर उनीहरू यसमा पटक–पटक सफल भए पनि फुटबलको विकासमा माखो मार्न नसकेको जगजाहेरै छ । क्लबको शानमा एन्फामा धावा बोल्न उनीहरूको प्रयास निरन्तर रहेको छ । यसर्थ, थापा अध्यक्ष भए पनि त्यो …वादलाई नचाहेर पनि एन्फाको कार्यसमितिमा राख्नुपर्ने उनको वाध्यता भएको थियो । आज उनीहरूलाई सुनौलो अवसर छ, उनीहरू लिगभन्दा पनि थापालाई एन्फाबाट लखेट्न साम दाम दण्ड भेदको रणनीति अख्तियार गरिहेका छन् । जुन अहिले राष्ट्रिय लिगभन्दा पनि महत्वपूर्ण बनेको छ । उनीहरूले यसैमा आफ्नो ध्यान केन्द्रित गरेका छन् ।
एन्फालले राष्ट्रिय लिग सञ्चालन गर्न आगामी चैत्र महिनासम्म दशरथ रंगशाला बुकिङ गरेको छ । लिगको लागि तीन पटकसम्म मिति तोकेको एन्फाले चैत्रसम्ममा पनि लिग सञ्चालन गर्ने कुराको केहि ग्यारेन्टी छैैन । एन्फाको यस्तो रवैयाबाट दिक्क भएका फुटबल खेलाडीहरूले आफ्नो खेल्न पाउने हकबाट वञ्चित बन्नुपर्दा हालै एन्फा लगायत राखेपमा ज्ञापनपत्र बुझाइसकेका छन् । उनीहरूले एन्फालाई चुनौती दिँदै यदि आफुहरूको बाँच्ने आधार गुमेमा एन्फाविरुद्ध आन्दोलनमा उत्रिने चुनौती समेत दिएका छन् ।
एन्फाको गैरजिम्मेवार हरकतबाट आहत भएका राष्ट्रिय फुटबल खेलाडीहले हालै राष्ट्रिय फुटबल खेलाडी सङ्घ गठन गरेका छन् । सङ्घ गठनसँगै राष्ट्रिय फुटबल खेलाडीहरूले एन्फालाई दबाब दिँदै भनेका छन्, ‘गणेश थापाले आर्थिक अनियमियता गरे थापालाई कारवाही होस्, खेलाडीहरूको बाँच्ने आधार लिग सञ्चालन होस्, हामीले खेल्न पाउनुपर्छ ।’ राष्ट्रिय फुटबल खेलाडीले तोकिएकै समयमा लिग सञ्चालन नभए एन्फाको विरुद्ध सडकमा उत्रिने धम्की दिएपछि एन्फाले तेश्रो पटक लिगको मिति माघ ७ गतेका निम्ति तोकेको छ । यो मितिमा पनि लिग सञ्चालन हुने कुरामा दरिलो आधार नभएकोले अब एन्फाका पदाधिकारीहरूले कसरी लिग सञ्चालन गर्छन्, त्यो हेर्नलायक हुने भएको छ । बताइएअनुसार राष्ट्रिय लिग सञ्चालन गर्न करिव ७ करोडको बजेट आवश्यकता पर्छ । तर, अहिले थापाको विवादका कारणले एन्फाले विगत तीन महिनामा सात लाख रुपैयाँ पनि उठाउन सकेको छैन । यस्तो अवस्थामा राष्ट्रिय लिग कसरी होला– सोझै अनुमान लगाउन सकिन्छ ।

थापाको अध्यक्षतामा फुटबल खेलाडी सङ्घ
पुरानो राष्ट्रिय फुटबल खेलाडी सङ्घ निस्कृय भएको आरोप लगाउँदै हालै राष्ट्रिय फुटबल खेलाडीहरूले नयाँ राष्ट्रिय फुटबल सङ्घ गठन गरेका छन् । राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापाको अध्यक्षमा गठन भएको उक्त कमिटीमा रितेश थापा, राजु तामाङ, अनिल गुरुङ, भोला सिलवाल र जुमानु राई उपाध्यक्ष रहेका छन् । त्यस्तै, महासचिवको जिम्मेवारी सन्दिप राई र सचिवमा रोहित चन्द रहेका छन् । यस्तै, कोषाध्यक्षमा किरण चेम्जोङ चुनिएका छन् भने सदस्यहरूमा रविन श्रेष्ठ, विक्रम लामा, विराज महर्जन, जगजित श्रेष्ठ, विशाल श्रेष्ठ, असिमजंग कार्की, भरत खवास, विमल घर्तिमगर, सन्तोष साहुखल र दीपक भुसाल रहेका छन् । स्मरण रहोस्, पूर्वकप्तान उपेन्द्रमान सिंह अध्यक्ष रहेको राष्ट्रिय फुटबल खेलाडी सङ्घ अस्तित्वमा रहे पनि नयाँ सङ्घ गठन गरिएको हो । नवनियुक्त थापाले नयाँ सङ्घको गठनको बारेमा अखिल नेपाल फुटबल सङ्घलाई जानकारी गराएको पत्रकार सम्मेलनमार्फत् बताए । सागर थापाको नेतृत्वमा नयाँ फुटबल खेलाडी सङ्घ गठन भएपछि अब फुटबलमा पनि दुईवटा सङ्घ अस्तित्वमा देखिएका छन् ।

महासङ्घको प्रथम उपाध्यक्षमा दावा
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले नेपाल कराते महासङ्घ एवम् नेपाल सितोरियो कराते सङ्घका अध्यक्ष दावा गुरुङ एसियाली प्यासिफिक सितोरियो कराते महासङ्घको प्रथम उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु करातेका लागि मात्र नभई सिङ्गो देशका लागि गर्वको कुरा भएको बताएका छन् । प्रथम उपाध्यक्षमा निर्वाचित भएका गुरुङको सम्मानमा सितोरियो कराते प्रशिक्षकले राखेपको दशरथ समीक्षालयमा आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा सदस्य–सचिव लामाले सो धारणा राखेका हुन् ।
‘दावा प्रथम उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भनेको करातेलाई मात्र नभई सिङ्गो नेपाल राष्ट्रलाई मिलेको सम्मान हो । यो उपलब्धिमा करातेले मात्र नभई सिङ्गो राष्ट्रले गर्व गर्नुपर्छ’, कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव लामाले भने । उनले खेलाडी र डोजाङका हिसाबले नेपालमा जति अन्य कुनै मुलुकमा कराते ब्यापक नभएको बताउँदै दावाको नेतृत्वमा कराते खेलको विकासमा धेरै सहयोग पुगेको लामाले बताए । लामाले महासङ्घको प्रथम उपाध्यक्षमा निर्वाचित भएपछि गुरुङमा जिम्मेवारी र चुनौती अझ थपिएको धारणा राखेका थिए । ‘हिजो दावालाई राष्ट्रिय स्तरमा मात्र जिम्मेवारी थियो । प्रथम उपाध्यक्षमा निर्वाचित भएपछि अन्तर्राष्ट्रिय स्तरमै जिम्मेवारी र चुनौती दुबै थपिएको लामाको कथन थियो ।
गुरुङले सिंगापुरमा भएको १४ औँ एसियाली प्यासिफिक कराते च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिन नपाउनुमा सङ्घको त्रुटी नभए पनि नैतिकताका आधारमा आफूले जिम्मेवारी लिने बताए । ‘प्यासिफक च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागिताबाट वञ्चित हुनुमा हाम्रो त्रुटी थिएन । त्रुटी आयोजक समितिबाटै भएको थियो । हाम्रो मात्र होइन अन्य मुलुकाका खेलाडीले पनि भाग लिन पाएका थिएनन् । तैपनि सङ्घको अध्यक्षको नाताले नैतिकताका आधारमा खेलाडीसँग क्षमा माग्दै जिम्मेवारी लिन्छु’, अध्यक्ष गुरुङले भने । उनले उक्त च्याम्पियनसिपको १५ औँ संस्करण नेपालमा आयोजना गर्ने प्रस्तावलाई सबैले सहर्ष स्वीकारेको पनि जानकारी गराए । ‘हामीले च्याम्पियनसिपको १५ औँ संस्करण नेपालमा आयोजना गर्नेे काङ्ग्रेसमा प्रस्ताव गरेका थियौँ । त्यो सर्वसम्मतिबाट पारित भएको छ ।’ अध्यक्ष गुरुङले थप जानकारी दिँदै भने– ‘केही समयमै नेपालका सम्भावित स्थानको निरीक्षण गर्न टोली नेपाल आउँदैछ । प्यासिफिक च्याम्पियनसिपलाई अहिलेसम्मकै उत्कृष्ट बनाउन हामी कुनै कसर बाँकी राख्ने छैनौंँ ।’
कार्यक्रममा सदस्य–सचिव लामा, कराते प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठ, तेक्वान्दो प्रमुख प्रशिक्षक ध्रुव गुरुङ, कराते महासङ्घ र सितोरियो सङ्घका पदाधिकारी, प्रशिक्षक, खेलाडीलगायतले अध्यक्ष दावालाई खादा र टीका लगाइ बधाइ दिनुका साथै सफल कार्यकालका लागि शुभकामना दिएका थिए । सिंगापुरमा डिसेम्बर १० देखि १५ तारिखसम्म भएको च्याम्पियनसिपका दौरान भएको काङ्ग्रेसले गुरुङलाई सर्वसम्मत प्रथम उपाध्यक्षमा निर्वाचित गरेको थियो । गुरुङको कार्यकाल दुई वर्षको हुनेछ ।

खेल समाचार

राखे सङ्घद्वारा ‘पृथ्वी पुरस्कार’ घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भातृसंस्था राष्ट्रिय खेलकुद सङ्घ, नेपालले पृथ्वीजयन्तीको अवसर पारेर वर्षको उत्कृष्ट खेलाडीलाई ‘पृथ्वी पुरस्कार’ प्रदान गर्ने भएको छ । सो पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको सङ्घका अध्यक्ष लोकबहादुर शाहीले जनाए । आगामी बर्षमा पुरस्कार राशि क्रमिक रूपले बृद्धि गर्दै लगिने योजना रहेको र उक्त पुरस्कार प्रत्येक वर्ष २६ पुसमा प्रदान गरिने शाहीको कथन छ ।
पुरस्कार स्थापना गरिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पूर्व एन्फाअध्यक्ष एवम् सभासद् गणेश थापाले खेलकुदलाई दलीय राजनीतिभन्दा अलग राख्ने नीतिअनुरुप विभिन्न कार्यक्रम आयोजना गर्ने योजना रहेको बताए । ‘सङ्घ विशुद्ध खेल र खेलाडीसँग प्रत्यक्ष सम्बन्ध कायम गर्न चाहन्छ’ भन्दै राप्रपा नेपालको युवा, खेलकुद र विद्यार्थी विभागका प्रमुख थापाले भने– ‘राप्रपा नेपालको खेलकुद सङ्घले गरेको क्रियाकलापबाट अरु दलले पनि सिक्ने छन् ।’ प्रत्येक वर्ष विभिन्न खेलमध्ये एक खेललाई चयन गरी सो खेलमा महत्वपूर्ण योगदान दिएका उत्कृष्ट एक व्यक्तिलाई पृथ्वी पुरस्कार प्रदान गरिने छ ।
त्यसैगरी सङ्घले नयाँ बर्ष २०७२ को उपलक्ष्यमा शुभकामना खेलकुद महोत्सव समेत गर्ने भएको छ । वैशाख १ देखि ७ गतेसम्म काठमाडौंमा महोत्सव सञ्चालन गरिने छ । महोत्सवमा काठमाडौं उपत्यकाभित्रका उच्चमाविहरूबीच महिला/पुरुषका फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका प्रतियोगिताहरू आयोजना हुने छन् । ‘आगामी बर्ष देशभरिका उच्चमाविलाई समेट्ने कार्यक्रम रहेको शाहीले बताए ।

खेलकुदका शुभचिन्तक सम्मानित
राष्ट्रिय खेलकुद परिषद्ले नेपाली खेलकुदलाई माया गर्ने तेक्वान्दोका राजु क्षेत्रीलाई सम्मान गरेको छ । विदेशमा रहेर पनि नेपाली तेक्वान्दो मात्र नभई समग्र खेलकुदलाई सहयोग गर्दै आइरहेकोमा क्षेत्रीलाई कदरपत्रद्वारा सम्मान गरिएको हो ।
तेक्वान्दोका अन्य दुई संस्थाले पनि नेपाली खेलकुदमा क्षेत्रीले पु-याएको योगदानको कदर गर्दै सम्मान गरेको थियो । राष्ट्रिय तेक्वान्दो युनियन–नेपाल र राष्ट्रिय विद्यालय तेक्वान्दो महासङ्घले पनि क्षेत्रीलाई कदरपत्र सम्मान गरेको थियो । सो अवसरमा क्षेत्रीकी धर्मपत्नी कल्पना पनि सम्मानित गरिएको थियो । राखेपको तर्फबाट सदस्य–सचिव युवराज लामा, युनियनको तर्फबाट शिव कोइराला तथा महासङ्घको तर्फबाट उपाध्यक्ष दिपिका थापाले एउटै कार्यक्रममा क्षेत्रीलाई छुट्टाछुट्टै कदरपत्र प्रदान गरी सम्मान गरेका थिए ।
करिव १५ वर्षदेखि दक्षिण कोरियामा बस्दै आएका तेक्वान्दोका पाँचौं डान क्षेत्रीले ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । मास्टर्स इन्स्ट्रक्टर अन्तर्राष्ट्रिय रेफ्री क्षेत्रीले सन् २००८ मा भएको चौथो कोरिया ओपन अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । क्षेत्रीले कोरिया सरकारबाट मानार्थ नागरिकता समेत पाइसकेका छन् । क्षेत्री एनआरएन कोरियाका सल्लाहकार एवम् तेक्वान्दो युनियनका संरक्षक समेत हुन् ।
‘खेलाडी र इमानदार नेपाली खेलकुदको सहयोगी मित्र (क्षेत्री)लाई सहयोग गर्न पाउँदा गर्व लागेको छ । तपाईंले सेवाभावले नेपाली खेलकुदमा गरेको सहयोग प्रशंसनीय छ । नेपाली खेलकुदको साथी तपाईंको सहयोग, समय र सम्पर्क हामीलाई निरन्तर आवश्वयक छ ।’ सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव लामाले भने ।
क्षेत्रीले सम्मानले आफू गर्वित भएको बताउँदै यसले आगामी दिनमा खेलकुदमा सहयोग गर्न अझ उत्साहित तुल्याएको बताए । उनले कोरियामा आउने तेक्वान्दो खेलाडीलाई मात्र नभई अन्य खेललाई पनि सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।

पोखरा म्याराथन पुनः सुरु हुने
पूर्व खेलाडीहरूको साझा संस्थाको रुपमा स्थापित भूतपुर्व खेलाडी मञ्च–नेपालले पोखरा म्याराथन प्रतियोगिता पुनः ब्युँताउने भएको छ । आफ्नो स्थापनाकाल २०५८ देखि म्याराथनको आयोजकको रूपमा पोखरा म्याराथनलाई निरन्तरता दिँदै आएकोमा करिव तीन वर्षदेखि प्रतियोगिता स्थगित रहेको थियो । मञ्चको हालै सम्पन्न बैठकले पोखरा म्याराथनलाई निरन्तरता दिने निर्णय गरेको महासचिव हरि पराजुलीले बताए ।
पोखरा म्याराथनले पोखरालाई विश्वमा परिचय गराउन सहयोग पुगेको मात्र नभई खेलाडीमा उत्साह जगाउने कार्य गरेको मञ्चका प्रथम उपाध्यक्ष तेज गुरुङको कथन छ । उनले पोखरा म्याराथनको स्थगनले खेलाडीलाई मात्र नभई पोखरेली जनतालाई समेत निराश बनाएको भन्दै प्रतियोगिता फेरि सुरु गर्न लागेका बताए । विश्वका अन्य ठूला शहरमा हुने म्याराथन झैँ पोखरा म्याराथन पनि एक हो भन्ने तथ्यलाई पोखरेलीहरूले बिर्सन नहुने तर्क गुरुङले गरे । त्यस्तै, पोखराको खेलकुद पर्यटनलाई पोखरा म्याराथनले उल्लेख्य मात्रामा सघाउने मञ्चका अध्यक्ष खड्ग रानाभाटको कथन छ । पोखरा म्याराथन सम्पन्न गर्न अध्यक्ष रानाभाटको संयोजकत्वमा एक आयोजक समिति समेत गठन गरिएको छ ।

एडिडास रोडरेस उपाधि हरि र कान्छीमायालाई
एडिडास नेसनल १० किलोमिटर रोड रेसको उपाधि पुरुषमा नेपाल आर्मीका हरिकुमार रिमाल र महिलामा एपीएफकी कान्छीमाया कोजुले जितेका छन् । एडिडासको नेपालका लागि आधिकारिक बिक्रेता रुट्स फेसन प्रा.लि.ले नेपाल एथलेटिक्स सङ्घको सहकार्यमा आयोजना गरेको १० किलोमिटर दूरी पुरा गर्न रिमालले ३० मिनेट ४७:८ सेकेन्डको समय लिएका थिए । त्यस्तै कान्छीमाया कोजुले ३८ मिनेट ०३:७० सेकेन्डमा दौड पूरा गरेकी थिइन् । पुरुष/महिला विजेताद्वयले समान ४० हजार नगद पुरस्कार प्राप्त गरका थिए ।
त्यसैगरी पुरुषतर्फ एपीएफका गोपीचन्द्र पार्की दोश्रो र आर्मीका राजन खत्रीले तेश्रो स्थान हासिल गरेका थिए । महिलातर्फ आर्मीकी विश्वरुपा बुढा दोस्रो र काठमाडौंकी सन्तोषी श्रेष्ठ तेस्रो भएकी थिइन् । महिला तथा पुरुष दुवै विधाका दोस्रो हुने खेलाडीले २५/२५ हजार, तेस्रो हुनेले १५/१५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए । चौथोदेखि छैटौँ हुने खेलाडीले ५/५ हजारका दरले नगद पुरस्कार प्राप्त गरेका थिए ।
यस्तै, ५ किलोमिटर फन रनको पुरुषतर्फ छत्रबहादुर दाहाल प्रथम भएका छन् । उनले १६ मिनेट ५०:५० सेकेन्डमा दुरी पुरा गरेका थिए । १६ मिनेट ५८ सेकेन्डमा दुरी पूरा गरी हरेराम नेपाल दोस्रो तथा १७ मिनेट १४:६४ सेकेन्डमा दुरी पूरा गरी नारायण देशार तेस्रो भए । ५ किलोमिटर फन रनमा महिलातर्फ होमी बुढामगर प्रथम भइन् । उनले २१ मिनेट ४७ सेकेन्ड समय लिइन् । शर्मिला क्षेत्री दोस्रो भइन् । उनले २२ मिनेटमा दुरी पुरा गरिन् । त्यसैगरी स्विडेनकी लिना बोर्जेस् तेस्रो भइन् । उनले २४ मिनेट ०४ सेकेन्डको टाइमिङ लिएकी थिइन् । फन रनतर्फका विजेतालाई रुट्स फेसनले उपहार प्रदान गरेको थियो ।
सो अवसरमा रुट्स फेसनका प्रबन्ध सञ्चालक सञ्जिव तुलाधरले न्योनो संसारलाई दुई हजार ब्ल्याङ्केटसमेत प्रदान गरेका थिए । तराईको सितलहरबाट प्रभावितका लागि रुट्स फेसनको नेतृत्वमा संकलित ती ब्ल्याङ्केट न्यानो संसारमार्फत् हस्तान्तरण गरिएको हो । प्रतियोगिताको उद्घाटन सभासद् नविन्द्रराज जोशीले गरेका थिए । सो अवसरमा सभासद् रामहरि खतिवडा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, सभासद् एवम् नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह, सिएनएन हिरो पुष्पा बस्नेत, नेपाल बक्सिङ सङ्घका अध्यक्ष तथा रुट्स फेसनका डाइरेक्टर राजीव श्रेष्ठलगायतको उपस्थिति थियो ।
रुट्स फेसनले सामाजिक उत्तरदायित्वअन्तर्गत विगतमा पनि विभिन्न खेलकुद गतिविधिलाई सहयोग गर्दै आएको र यसैलाई निरन्तरता दिएको रुट्स फेसनका प्रबन्ध निर्देशक तुलाधरले बताए । यसैगरी दशरथ रङ्गशालामा एडिडास गोल्डेन स्प्रिन्ट प्रतियोगिता समेत हुन लागेको तुलाधरले जानकारी गराएका छन् ।

मध्यमाञ्चल टिम च्याम्पियन
मध्यमाञ्चलले तेश्रो राष्ट्रिय वादोरियो कराते प्रतियोगिताको उपाधि जितेको छ । ८ स्वर्ण, ६ रजत र ७ काँस्यसाथ मध्यमाञ्चल टिम च्याम्पियन बनेको हो । दोलखाको देवी उमाविमा भएको प्रतियोगितामा २ स्वर्ण, ४ रजत र ६ काँस्यसाथ मध्यपश्चिमाञ्चल दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको पूर्वाञ्चलले २ स्वर्ण, ३ रजत र ९ काँस्य हात पारेको थियो । १३ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाँकी एक स्वर्ण सुदूरपश्चिमाञ्चलले जितेको थियो । नेपाल वादोरियो कराते डो सङ्घद्वारा आयोजित प्रतियोगताको पुरुषमा निमा तामाङ तथा महिलामा सुष्मा तामाङ उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट दुवै सुदूरपश्चिमाञ्चलका हुन् । विजेतालाई सभासद् मोहनबहादुर बस्नेत र आनन्द पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, नेपाल कराते महासङ्घका महासचिव एवम् वादोरियो प्रमुख प्रशिक्षक हरिशरण केसीलगायतले पुरस्कार प्रदान गरेका थिए । दुईदिने प्रतियोगितामा १ सय ९१ खेलाडीले १३ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक बालकृष्ण आचार्यले जनाए ।

जुम्ल्याहा राणाले मारे बाजी
जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणाको जोडी १३ औँ जयकर स्मृति राष्ट्रिय जुनियर खुला लनटेनिस प्रतियोगिताको गल्र्स डबल्सतर्फ च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको उपाधि भिडन्तमा राणा जोडीले अर्को जुम्ल्याहा जोडी दिदी क्याथ्रिन माथेमा र एनीलाई ७–६ र ६–२ को सोझो सेटमा पराजित गरका थिए । सोही स्पर्धाको ब्वाइजमा संरक्षक भुषण बज्राचार्य र सक्षम कार्कीको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा दिपेश खत्री र प्रशान्त बस्नेतको जोडीलाई ६–० र ६–३ को सोझो सेटमा पराजित गरेका थिए । अखिल नेपाल लनटेनिस सङ्घको सहयोगमा मन–जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा अभिलाषा विष्ट यु–१२ गल्र्स सिंगल्स च्याम्पियन बनिन् । फाइनलमा अभिलाषाले सलोनी तामाङको चुनौती ६–१ र ६–२ ले समाप्त पारिन् । यु–१० गल्र्स सिंगल्समा भने सलोनी उपाधि जित्न सफल भइन् । फाइनलमा सलोनीले इशाश्री शाहमाथि ८–३ को जित हासिल गरेकी थिइन् । त्यस्तै यु–१२ ब्वाइज सिंगल्समा सम्यकभूषण बज्राचार्यले बाजी मारे । उनले फाइनलमा शुलभ धिताललाई ६–२, ५–७ र ६–३ ले पाखा लगाएका थिए । यु–९ ब्वाइज सिङ्गल्समा अदित सुवेदीले रनव सिंहलाई ८–३ ले पराजित गर्दै लगाउँदै पहिलो स्थान कब्जा गरेका थिए । यु–१० ब्वाइज सिङ्गल्सको उपाधि आदित्य सुवेदीले जिते ।

युयुएनटीएफद्वारा विमला सम्मानित
दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा नेपालका लागि एक्लो पदक विजेता विमला तामाङलाई युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन, नेपाल च्याप्टरले नगदसहित सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलेले च्याप्टरको तर्फबाट विमलालाई नगद ७५ हजार र सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए । सोही अवसरमा प्रशिक्षक ध्रुवविक्रम मल्ललाई पनि नगद २५ हजारसहित सम्मानपत्रबाट सम्मान गरिएको थियो ।
नेपाललाई पदकविहीन हुनबाट जोगाउने क्रममा विमलाले महिला एकल कातामा काँस्य जित्दै एक्लो पदक जित्ने नेपाली खेलाडी बनेकी थिइन् । सो अवसरमा राष्ट्रिय टिमका तेक्वान्दो खेलाडी मोहम्मद वेश र अस्मिता खड्कालाई पनि प्रोत्साहनस्वरूप छात्रवृत्ति प्रदान गरिएको थियो । वीरगन्ज डोजाङका वेशलाई मासिक ५ हजारका दरले एक वर्षका लागि ६० हजार तथा स्यूचाटार डोजाङकी अस्मितालाई मासिक ३ हजार ५ सयका दरले एकै वर्षका लागि ४२ हजार प्रदान गरिने भएको छ । दुवैले छात्रवृत्तिवापत पाउने ६–६ महिनाको रकम भने कार्यक्रममै प्रदान गरिएको थियो ।

राखेपद्वारा भगवती सम्मानित
राष्ट्रिय खेलकुद परिषद्ले चौथो एसियाली बिच गेम्समा पदक जितेकी भगवती माझीलाई नगदसहित सम्मान गरेको छ । थाइल्यान्डको फुकेटमा गत नोभेम्बर १३ देखि २४ तारिखसम्म भएको गेम्सअन्तर्गत साम्बोतर्फ स्पोर्ट्स साम्बोको महिला ५२ केजीमा भगवतीले कँंस्य जितेकी थिइन् । राखेप सदस्य–सचिव युवराज लामाले भगवतीलाई २० हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए । सो अवसरमा भगवतीलाई नेपाल इन्सोरेन्स कम्पनीले पनि सम्मान गरेको थियो । उनलाई कम्पनीका महाप्रबन्धक चन्द्रसिंह साउदले नगद १० हजार प्रदान गरेका थिए । साउदले भगवतीलाई कम्पनीले एक वर्षका लागि पाँच लाख रुपैयाँबराबरको व्यक्तिगत दुघर्टना बिमा पनि गरिदिएको जानकारी गराए ।