६ दशकपछि राष्ट्रिय पुस्तकालयले सुविधासम्पन्न भवन पाउँदै

६ दशकपछि राष्ट्रिय पुस्तकालयले सुविधासम्पन्न भवन पाउँदै


६ दशकसम्म अव्यवस्थित नेपाल राष्ट्रिय पुस्तकालयले अन्ततः आफ्नै भवन पाउने भएको छ ।

ललितपुरको हरिहरभवनस्थित भवनमा सञ्चालन हुँदै आएको उक्त पुस्तकालयको नयाँ भवन राजधानीको जमलमा निर्माण गरिने भएको छ । मन्त्रिपरिषदको निणर्यअनुसार जमलस्थित सात रोपनी १५ आना तीन दाम त्रिभुवन विश्वविद्यालयको तत्कालीन परीक्षा नियन्त्रण कार्यालयको जग्गामा पुस्तकालयको भवन निर्माण हुन लागेको नेपाल राष्ट्रिय पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनालीले जानकारी दिए ।

‘नेपालको कला, संस्कृति र परम्परा झल्कने सुविधासम्पन्न पुस्तकालय निर्माण गर्ने योजना अघि बढेको छ,’ मैनालीले भने, ‘आउँदो आर्थिक वर्षको असार मसान्तपछि पुस्तकालयको भवन निर्माणकार्य अघि बढ्नेछ ।’

०७२ को भूकम्पले पुस्तकालयको भवन पूर्णरूपमा जीर्ण भएको छ । नेपाल राष्ट्रिय पुस्तकालय बालशाखामा हाल राष्ट्रिय पुस्तकालयका केवल ११ हजार पुस्तक पाठकले अध्ययन गर्न पाउने मैनालीले बताए । पुस्तकालयले एकै स्थानमा रहेका अध्ययन सामग्री व्यवस्थित गर्न नसक्दा पाठकको संख्या घटेको मैनालीको बुझाइ छ । उनले भने, ‘नेपाल राष्ट्रिय पुस्तकालयको बालशाखामा राष्ट्रिय पुस्तकालयका सामग्री साँघुरो टहरामा भण्डारण गर्न बाध्य भएका छौँ ।’

काठमाडौंको महेन्द्र भवन माविमा स्थान अभावका कारण राष्ट्रिय पुस्तकालयले ६९ हजार पुस्तक भण्डारण गरेको छ । मैनाली भन्छन्, ‘अर्काे २१ हजार ५४० पुस्तक सानो ठिमी भक्तपुरमा रहेको तत्कालीन जनशक्ति शैक्षिक विकास शाखामा भण्डार गरेर राखेका छौँ ।’

भूकम्पअघि राष्ट्रिय पुस्तकालयमा ‘हाडकोर’ ८२ हजार पुस्तक रहेका थिए भने बाइन्डिङ पत्रपत्रिका गरी कुल १ लाख ५० हजार अध्ययन सामग्री थिए । उनले जमलमा भवन निर्माण सम्पन्न भएपछि सबै सामग्री एकैसाथ राखिने बताए ।

किरा र धुलोबाट पुस्तकलाई जोगाउन दैनिक पुस्तकमा सफा गर्ने, एक–दुई घन्टा पुस्तकमा हावा छिराउन पुस्तक रहेका कोठाको झ्यालढोका खोल्ने, पुस्तकमा फिनेल, कपुर हाल्ने र स्प्रेले कीटाणु मार्ने काम भइरहेको पुस्तकालय कक्ष अनुगमनमा खटिएका कर्मचारीको भनाइ छ ।

पुस्तकालयमा तीन सय वर्ष पुराना संस्कृत, हिन्दी, नेपाली, मराठी, बंगाली र नेवारी भाषाका पुस्तक छन् । पुस्तकालयले आफ्नै निजी भवन निर्माण गर्न ०७३ मा शिक्षा मन्त्रालयका सचिव वैकुण्ठप्रसाद अर्यालको संयोजकत्वमा पाँचसदस्यीय कार्यदल गठन गरी पहिलो प्राथमिकतामा हरिहर भवन, दोस्रो जमल र तेस्रो केशर पुस्तकालयलाई अघि सारेकोे थियो । पुस्तकालयले भवन निर्माणका लागि मन्त्रिपरिषदको निर्णयबमोजिम लालपुर्जासमेत प्राप्त गरिसकेको मैनालीले बताए ।