साहित्यकार झमककुमारीलाई सम्मान गरिने

साहित्यकार झमककुमारीलाई सम्मान गरिने


राष्ट्रसेवक बहुमुखी सहकारी संस्था विराटनगरले साहित्यकार झमककुमारी घिमिरेलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ ।

संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा धनकुटाकी साहित्यकार घिमिरेलाई रु १६ हजार १११ सहित स्व किशोरी खतिवडा स्मृति पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको जानकारी दिइयो ।

यही पुस १४ गते हुने संस्थाको २० औँ वार्षिक साधारणसभामा उनलाई सम्मान एवं पुरस्कृत गर्नेछ । यसैगरी सभामा रु १० हजार राशीको स्व दधिराम दाहाल स्मृति पुरस्कारबाट जनप्रतिनिधि ताराबहादुर काफ्लेलाई पुरस्कृत गरिनेछ । यसैगरी विसं २०७४ को एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छ जना शेयर सदस्यका छोराछोरीलाई पनि नगद पुरस्कारले सम्मान गर्ने संस्थाका अध्यक्ष जीवन काफ्ले जानकारी दिए ।

नेपाल निजामती कर्मचारी सङ्गठनमा आबद्ध रहेका नेपालभरी ६८ जिल्लामा शाखा रहेको सो संस्थामा २० हजार शेयर सदस्य रहेका छन् । संस्थामा नेपालीभरी शेयर सदस्यको दुई अर्ब बराबरको पूँजी रहेको छ ।

विसं २०५० मा स्थापना भएको मोरङ शाखामा ६१८ महिलासहित एक हजार ५५७ शेयर सदस्य छन् । संस्थाले गत वर्ष रु दुई करोड ८५ लाख ८८ हजार ३०० आम्दानी गरेको थियो ।