तिम्सिनाको पत्रकार सम्मेलन ओझेलमा पर्ने सङ्केत

तिम्सिनाको पत्रकार सम्मेलन ओझेलमा पर्ने सङ्केत


श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा विवाद समाधान छानबिन समितिका संयोजक पीताम्बर तिम्सिनाले पुस १५ गते आइतबार युवा तथा खेलकुद मन्त्रालयमा गर्न लागेको पत्रकार सम्मेलन ओझेलमा पर्ने सङ्केत देखा परेको छ ।

नेपाल जिम्न्यास्टिक संघको विवाद समाधान भएको जानकारी गराउन समितिका संयोजक तिम्सिनाले पत्रकार सम्मेलनको आयोजना गर्ने भनिए पनि राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त जिम्न्यास्टिक संघका अध्यक्ष किशोरबहादुर सिंह यतिबेला पोखरा भएका कारण मेलमिलाप कार्यक्रम ओझेलमा पर्ने सङ्केत देखिएको हो ।

प्राप्त जानकारीअनुसार यतिबेला अध्यक्ष सिंह पोखरामा छन् । पूूर्व श्री ५ ज्ञानेन्द्रको पोखरा भ्रमणसँगै सिंह पनि पोखरा गएका थिए । सिंह पूूर्व श्री ५ को भ्रमण सकिएसँगै काठमाडौं फर्किने कार्यक्रम रहेको छ । सिंहले आज काठमाडौं आउनेबारे कुनै जानकारी गराएनन् । ‘समितिले बोलाएको छ, तर यहाँ म अर्को काममा व्यस्त छु, हेरौँ के हुन्छ,’ सिंहले घटना र विचारसँग भने ।

जिम्न्यास्टिक विवाद समाधानबारे अध्यक्ष सिंहसँग सम्पर्क गर्दा उनले आफू जहिले पनि मेलमिलापको पक्षमा रहेको बताए । ‘म संघमा विवाद नहोस् भन्ने मान्छे हो, नियमअनुसार विवाद समाधान हुन्छ भने आफूलाई कुनै आपत्ति छैन,’ उनले भने । ध्रुवबहादुर प्रधान अध्यक्ष तपार्इं वरिष्ठ उपाध्यक्ष हुने चर्चा छ नि भन्ने हाम्रो प्रश्नमा सिंहले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

‘आफू जिम्न्यास्टिकको एउटै संघ हुनुपर्छ भन्ने मान्यता राख्दै आएको व्यक्ति हुँ,’ सिंहले भने, ‘आफूसँग समितिले अध्यक्ष, उपाध्यक्षमा को बस्ने भनेर कुनै छलफल गरेको छैन ।’ उल्टै समितिले दुईवटा अध्यक्ष बनाएर जिम्न्यास्टिकको विवाद समाधान गर्ने भन्ने आफूले सुनेको उनको भनाइ छ । उक्त कुरा राखेपको ऐन–नियममा छ कि छैन, छ भने मिल्न सक्छ, छैन भने कसरी मिल्छ ? सिंहले प्रतिप्रश्न गरे ।

त्यस्तै, अन्तर्राष्ट्रिय मान्यता प्राप्त जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानसँग सम्पर्क गर्दा उनले आफूलाई समितिले पत्रकार सम्मेलनमा बोलाएको जानकारी गराए । साथै प्रधानले समितिले आफूलाई जिम्न्यास्टिक संघको अध्यक्ष र सिंहलाई वरिष्ठ उपाध्यक्ष बनाउन लागेको पनि खुलासा गरे । जिम्न्यास्टिक संघको दुईवटा अध्यक्ष बनाउन लागेको चर्चा छ नि भन्ने प्रश्नमा प्रधानले भने, ‘त्यस्तो नहोला, त्यस्तो त हुनै सक्तैन, ऐन–कानुनमा पनि त्यस्तो व्यवस्था छैन होला ।’ अनि कसरी विवाद समाधान हुन्छ त भन्ने प्रश्नमा समितिले समाधान गरिसकेर त पत्रकार सम्मेलन गर्न लागेको होला । यदि सिंह पत्रकार सम्मेलनमा आएनन् भने के हुन्छ नि भन्दा प्रधानले भने– आउनुहुन्छ, नआए कसरी विवाद समाधान हुन्छ त ?

त्यस्तै संयोजक तिम्सिनाले जिम्न्यास्टिक संघको विवाद समाधान हुने कुरामा विश्वास प्रकट गरेका छन् । विवाद कसरी समाधान हुन्छ भने प्रश्नमा तिम्सिनाले भने, ‘अहिले सबैै कुरा गोप्य राखिएको छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुवै संघका पदाधिकारी आएपछि मात्रै त्यसको खुलासा हुनेछ ।’ साथै यतिबेला सिंह त पोेखरामा भएको र १ः३० बजेको फ्लाइटबाट काठमाडौं आउन लागेको पनि तिम्सिनाले जानकारी गराए । एयरपोर्टबाट सीधै पत्रकार सम्मेलनमा आउने बताउँदै र त्यसपछि उहाँ ४ बजे पुनः पोखरा फिर्ता हुने तिम्सिनाले बताए ।