वारि र पारि बसेका हेरी डोल्पा र मुस्ताङ
हाँसेको धौलागिरि छ जहाँ उत्तरमा हिमाल
नागबेलीजस्तो घुम्दै र फिर्दै थाक्खोला सुसाउँछ
टुकुचाथाकमा आएर साथमा जिन्दगी बिसाउँछ ।।१।।
उन्नाइस् सय नब्बे र तीनमा पुसको महिना
दस् गते लाग्दा खुलेथ्यो त्यहाँ सुनौलो बिहान
क्षितिज पारि अँध्यारो फारी झुल्किए घाम रे !
जन्मिए कवि भूपेन्द्रमान, भूपी भो नाम रे ! ।।२।।
धनीमा धनी, मानीमा मानी, थकाली समाज
पूजिन्थे अरे मुस्ताङैभरि संस्कार सुसभ्य
व्यापार ठूलो चलाउँथे पिता काठमाण्डु बसेर
भूपी ता हिँडेथे सर्वहारा (?) भूपेन्द्र भएर ।।३।।
योगेन्द्रमान हुन् जेठा दाजु, काङ्ग्रेसमा लागेका
काशीमा पढ्दा रहेछन् भूपी ‘कम्निष्ट’ भएका
अटाउँथे अरे एउटै घरमा बीपी र पुष्पलाल
छुट्टिनुप-यो भूपीले आखिर बिग्रियो घरको हाल ।।४।।
निर्भmर लेखे, झ्याउरे नयाँ छपाए पुस्तक
त्यो घुम्ने मेचमा बसेको अन्धो मान्छे भो प्रसिद्ध
शहीद गाथा, नेपाली व्यथा गाउँदै सुनाए
नेपाली काव्यजगत्मा भूपी नयाँ भै उदाए ।।५।।
गद्यमा पनि पद्य झैँ लय, सङ्गीत हाल्दथे
सरल शब्द, सरस भाव–शैलीमा ढाल्दथे
सबैले बुझ्ने, सबैले गाउने, पढेर रमाउने
कविता बाँच्दा सबैलाई गर्थे रोमाञ्चित बनाउने ।।६।।
नपढे पनि पढुँ झैँ लाग्ने भूपीका कविता
मान्छेमा जोश उमार्न सक्ने व्यक्तिन्छ क्षमता
गोरा र अग्ला, पातला जिउका, चिटिक्क परेका
कविता पढ्दा बन्दथे अरे मदहोस् भएका ।।७।।
प्रज्ञामा गए भएर प्राज्ञ सत्ताले सहेन
विद्रोही भन्दै निकाली दियो क्यै अर्थ भएन
छयालीस् सालमा आएर काल टिपेर लगिगो
रहेनन् भूपी, तैपनि नाम अमर बनिगो ।।८।।
भूपीका कृति पढेर सिकुन् कविता लेख्नलाई
गद्यको शैली मर्मले बुझी सिर्जना गर्नलाई
कविताजस्तो कवि होस्, कवि कविताजस्तो होस्
सम्झना गरौँ भूपीको आज जीवन धन्य होस् ।।९।।
– महाकवि देवकोटा आश्रम, काठमाडौं
प्रतिक्रिया