डाक्टर भेट्नुभएन भने मलाई भन्नुस् : विष्ट

डाक्टर भेट्नुभएन भने मलाई भन्नुस् : विष्ट


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले राखेपअन्तर्गत रहेको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा खेलाडी उपचार गराउन जाँदा डाक्टर नभेटिए आफूलाई जानकारी गराउन भनेका छन् ।

दीर्घायु गुरु अस्पतालको सहयोगमा केन्द्रले आयोजना गरेको प्राथमिक स्वास्थ्य उपचारसम्बन्धी कक्षा तथा बृहत् स्वास्थ्य परीक्षणको उदघाटनका अवसरमा सदस्यसचिव विष्टले सो कुरा बताएका हुन् ।

‘खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा उपचार गराउन जाँदा तपाईं राष्ट्रिय टिममा रहेका खेलाडीले डाक्टर भेटाउनुभएन भने मलाई मेरो मोबाइलमा मेसेज गरिदिनुस् । सम्बन्धितलाई तुरुन्त कारबाही हुन्छ । यो वा त्यो वहानामा कसैलाई उम्कन दिन्नँ,’ सदस्यसचिव विष्टले भने ।

सदस्यसचिव विष्टले एक दिनको शिविरले केही नहुने कुरा आफूलाई पनि थाहा भएको बताउँदै तत्काललाई शुरुवातका रूपमा शिविर थालनी गरिएको बताए । उनले अब महिनाको कम्तीमा एक दिन राष्ट्रिय टिममा रहेका खेलाडीका लागि शिविर सञ्चालन गरिने पनि जानकारी गराए ।

सदस्यसचिव विष्टले खेलाडीको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले अभियानको शुरुवात गरिएको बताउँदै राष्ट्रिय खेलाडीले अब रोग बोकेर बस्नु नपर्ने र त्यसको जिम्मा राज्यले लिने बताए । फरक प्रसङ्गमा सदस्यसचिव विष्टले आउने आर्थिक वर्षमा खेलकुदको बजेट १५ अर्बको हाराहारीमा हुने बताउँदै कोरियाको विश्वविद्यालयसँग खेलाडीलाई प्रशिक्षणमा पठाउन प्रक्रिया अगाडि बढिरहेको पनि अवगत गराए ।

हाल विशेष प्रशिक्षणमा रहेका राष्ट्रिय टिमका ४३ खेलाडी र १६ प्रशिक्षकलाई लक्षित गरी कक्षा र शिविर सञ्चालन गरिएको हो । केन्द्रले पुस १८ गते सम्पूर्ण खेलाडी, प्रशिक्षक, कर्मचारी, पदाधिकारी र खेल पत्रकारलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको केन्द्रका प्रमुख तिलक नेपालीले जनाएका छन् ।