वर्तमान मन्त्रीपरिषदमा सबैभन्दा असफल र विवादित मन्त्रीका रूपमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम् पौडेलको नाम अग्रपङ्क्तिमा आउँछ । खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै विवाद र बखेडामै समय खर्चेका पौडेलले अहिले पनि यो क्रमलाई जारी राखेका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामालाई हटाउनेदेखि नेपाल क्रिकेट सङ्घमा धावा बोलेर विवादमा तानिएका मन्त्री पौडेलले अहिलेसम्म आफ्नो व्यवहारमा सुधार ल्याउन सकेका छैनन् । उल्टै खेलकुदलाई अधोगतिउन्मूख गराउन साम, दाम, दण्ड, भेद चारै नीतिको अवलम्बन गर्दै लागिपरेका छन् । गैरकानुनी निर्णय गर्दै खेलकुदमा धावा बोल्दै आएका पौडेललाई सर्वोच्चले पाठ सिकाए पनि उनले आफ्नो गैरकानुनी हर्कत देखाउन भने छोडेका छैनन् । यसरी खेलकुदको विकासभन्दा बिनासतर्फ अग्रसर मन्त्री पौडेलले खेलकुदमा अराजकता फैलाउन पुन: खेलकुद ऐनको पासा फ्याँकेर खेलकुदमा अर्को विवाद खडा गरेका छन् । जसको नेपाली खेलकुद क्षेत्रमा विरोध भए पनि पौडेल भने सार्वजनिक रूपमै यसको बखान गर्दै राखेपलाई समाप्त गर्न उद्यत् देखिएका छन् ।
खेलकुदमन्त्री पौडेलले गतसाता एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्को ऐन परिवर्तन हुन नसक्दा खेलकुदको विकास हुन नसकेको टिप्पणी गरेका थिए । साथै उनले खेलकुदप्रति राज्य जिम्मेवार र संवेदनशील हुन नसकेको आरोप समेत लगाए । उनले खेलकुदको ऐन, राष्ट्रिय खेलकुद नीति र कार्यक्रम हेर्दा राज्य पूर्वाग्रही देखिएको र यसको निकासको लागि कुनै पनि पहल नगरिएको जिकीरसमेत गरेका थिए । राज्यले पञ्चायत पालामा अर्थात् पूर्वसदस्य–सचिव शरदचन्द्र शाहले ०२८ सालमा बनाएको ऐनलाई परिवर्तन गर्न नसकेकोले राखेप निरङ्कुश र भ्रष्टाचारी बन्दै गएको तर्कसमेत गरेका थिए । राखेप कागज मिलाएर खाने ठाउँ हो भन्दै गम्भीर दोषारोपण गर्न पनि पौडेल चुकेनन् ।
मन्त्री पौडेलको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै राखेपले भ्रमको खेती गर्ने पौडेलको कथनमा कुनै सत्यता नभएको प्रेस विज्ञप्तिमार्फत् जनाएको छ । राखेपका सदस्य–सचिव लामाले राखेप भ्रष्टाचारमा डुबेको छ भन्दै भाषण गर्नु भनेको जग हँसाउने अभिब्यक्ति सिवाय केही पनि मान्न सकिन्न भनेका छन् । लामाले राखेपका कार्यकारी प्रमुख र सम्पूर्ण कर्मचारीलाई भ्रष्ट भएको आरोप लगाउनुको रहस्य राखेपले बुझ्न नसकेको बताएका छन् । यसरी मन्त्री पौडेल आफैं अध्यक्ष रहेको संस्थाको अनर्गल प्रचारमा आँखा चिम्लेर लागिपर्नु चरम राजनीतिक सङ्कीर्णताका साथै नैतिक जिम्मेवारविहीनताको उपज सिवाय केही मान्न सकिन्न । राखेप ऐननियम, कार्यविधि, निर्देशिका र देशको प्रचलित कानुनको अधिनमा रही सञ्चालन भइरहेको संस्था हो, यसको पारदर्शीताप्रति हामीलाई गौरव छ, प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै सर्वोच्च अदालतमा अपहेलना मुद्धा खेपिरहेका र पटक–पटक कानुन उल्लंघन गरेवापत अदालतमा विभिन्न मुद्धाको सामना गरिरहेका मन्त्रीले सर्वोच्चको मानहानी हुने गरी राखेपलाई जोडेर दिएको सार्वजनिक अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ ।
मन्त्री पौडेल खेलकुदको ऐन शरदचन्द्र शाहको पालामा बनेको र यो निरङ्कुश भएको दाबी गरेको अवस्थामा एक खेलविज्ञले नाम उल्लेख नगर्ने सर्तमा खेलकुद ऐन ०४६को जनआन्दोलनपछि खेलकुद ऐन ०४८ बनेको प्रस्ट पारेका छन् । स्मरण रहोस्, शरदचन्द्र शाहले ०४४ सालबाट नै खेलकुदबाट बिदा लिएका थिए । सार्वजनिक समारोह र टेलिभिजन अन्तर्वार्तामा मन्त्री पौडेलले शरदचन्द्र शाहको पालाको ऐन भनेर चर्चा गर्दा ती विज्ञले मन्त्रीलाई खेलकुद ऐनको वास्तविकता बारेमा अनविज्ञ रहेका र उनले आफ्नो स्वार्थपूर्ति गर्न शाहको नाम बारम्बार उच्चारण गरेको बताएका छन् । मन्त्री पौडेलले अहिले जुन ऐन ल्याउने चर्चा गरेका छन् त्यो खेलकुदको समग्र विकास र विस्तार भन्दा पनि राखेपका सदस्य–सचिव युवराज लामाप्रति प्रतिसोध साँध्न ल्याउन लागेको प्रस्ट रूपमा देखिएको छ । यो खेलकुदको हितभन्दा मन्त्रालयका कर्मचारीको हितको लागि ल्याउन लागेको देखिन्छ । साँचो अर्थमा भन्नुपर्दा मन्त्री पौडेलले चर्चामा ल्याएको ऐन उनको गलत सोचको उपज मात्रै हो । सदस्य–सचिव लामालाई हटाउन नसकेपछि अर्थात् सर्वोच्चले गत जेठ १९ गते राखेपमा निरन्तर काम गर्न लामालाई अख्तियारी दिएपछि रन्थनिएका पौडेलले लामालाई सवक सिकाउन तयार पारेको ड्राफ्ट मात्रै हो । यो राखेप र सदस्य–सचिवलाई कमजोर बनाउने पौडेलको सुनियोजित षडयन्त्र मात्रै हो ।
मन्त्री पौडेलले चर्चामा ल्याएको ऐन आफैंमा हाँस्यास्पद छ । उनले खेलकुदमा आमुल परिवर्तन ल्याउन परिषद्को गठन तथा काम कर्तव्य र अधिकारलाई ‘बाँदरको हातमा नरिवल’ जस्तै पारिदिएका छन् । पौडेल कहिँ नभएको जात्रा खेलकुदमा देखाउने क्रममा राखेपको उपाध्यक्षलाई आर्थिक अधिकारविहीन कार्यकारी बनाउने र आर्थिक अधिकार खेलकुद मन्त्रालयमा लाने ऐनमा व्यवस्था गरेका छन् । साथै राखेपको उपाध्यक्ष नेपाल सरकारले नियुक्ति गरेको व्यक्ति र कम्तीमा खेलकुद क्षेत्रमा चार वर्षको अनुभव भएको हुनुपर्ने ऐनमा उल्लेख गरिएको छ । तर विडम्बना ! उपाध्यक्षको शैक्षिक योग्यताको बारेमा कुनै चर्चा गरिएको छैन । यसको अर्थ चुल्ठे, मुन्द्रे, गँजडी, डाँका, चोर, फटाहा, गुण्डा, दलाल, भ्रष्टाचारी र दुराचारी जसलाई पनि राखेपको उपाध्यक्ष बनाउन सकिने छ । उक्त ऐनमा खेलकुद परिषद्को सदस्य–सचिवले कार्यकारी निर्देशकको जिम्मेवारी पाउने भए पनि खेलकुदमा उसको अधिकार केही हुने छैन । सदस्य–सचिव खेलकुदमा थपना मात्रै हुनेछ । त्यस्तै खेलकुदका कर्मचारीलाई मन्त्रालयका भेँडाबाख्रा बनाउन खोजिएको छ । मन्त्री पौडेलको यो षडयन्त्रको पर्दाफास भएपछि राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घले हालै यसको विरोध गर्दैै खेलकुद मन्त्रालयमा गएर पौडेललाई ज्ञापनपत्र बुझाएका थिए । पौडेलको षडयन्त्रको पर्दाफास कर्मचारी सङ्घले गरेपछि अहिले उनी राखेप कर्मचारी सङ्घलाई विघटन गर्न लागेको सुनिनमा आएको छ । यसमा स्वयम् मन्त्री र उनका पिछलग्गुहरू सुनियोजित रूपमै लागेको थाहा भएको छ ।
मन्त्रीले चर्चामा ल्याएको ऐनमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्थात् अध्यक्ष ध्रुवबहादुर प्रधान र महासचिव जीवनराम श्रेष्ठ रहेको अवैधानिक नेपाल ओलम्पिक कमिटीलाई ऐनमै राखेर अँझ यसको क्षेत्राधिकारलाई बढाउने दुस्साहस मन्त्री पौडेलले गरेका छन् । सर्वोच्चले अवैधानिक घोषणा गरेको ओलम्पिक कमिटीसँगको भित्री साँठगाँठ र आर्थिक अनियमितताको फाइदा उठाउन पौडेलले यस्तो हर्कत ऐनमा पनि व्यवस्था गरेको सोझै अनुमान लगाउन सकिन्छ । यस्तो दुष्कार्य गर्नका लागि पौडेले ओलम्पिक कमिटीबाट कति आर्थिक नजराना पाए त्यसको खुलासा भविष्यमा अवश्य हुनेछ । आफुले ठूलो माछा मार्न लागेको आभास दिलाउन हालै मन्त्रीले यो ऐनको बारेमा खेलकुदका विज्ञ र विभागीय प्रमुखहरूलाई बोलाएर एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा उपस्थित प्राय: सबैले मन्त्री पौडेलले ल्याउन लागेको खेलकुद ऐनको विरोध गरेपछि अहिले उनी भ्यागुतो झैँ उत्तानो परेका छन् । उपस्थित सबैले यो ऐनले खेलकुदको हित गर्न नसक्ने दावा गर्दै हतार कुनै पनि अप्रिय कार्य नगर्न सुझाव समेत दिएको थाहा भएको छ ।
खेल समाचार
‘एनबीए’ नेपाल कप भेट्रान फुटबल हुने
स्पोर्ट्स फर अल क्लबको आयोजनामा ‘एनबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगिता पुस २५ गतेदेखि दशरथ रंगशालामा हुने भएको छ । प्रतियोगितामा १० देखि १२ टिमको सहभागिता रहने आयोजकका अध्यक्ष एवम् राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक लोकबहादुर शाहीले हालै आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । टिममा सहभागी खेलाडीको उमेर ४० वर्ष पूरा भएको हुनुपर्ने प्रावधान रहेको छ । नकआउट पद्धतिमा आगामी माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको अनुमानित बजेट १७ लाख १५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ । खेल ७० मिनेटको हुनेछ भने प्रत्येक टिमले पाँच ‘सब्स्टिच्युट’ खेलाडी राख्न पाउनेछन् ।
प्रतियोगितामा सहभागी हुन नेपाल प्रहरी, एपीएफ, नेपाली सेना, नेपाल बैंकर्स एसोसिएसन, मनाङ मस्र्याङ्दी क्लब, ब्वाइज युनियन क्लब, एनआरटी, आरसीटी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, थ्री स्टार क्लब, काठमाडौं भेट्रान टिम, पूर्वाञ्चल भेट्रान टिम, पश्चिमाञ्चलको पोखरा भेट्रान टिम तथा कालिम्पोङ र दार्जिलिङको भेट्रान टिमलाई आमन्त्रण गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा नेपाल बैंकर्स एसोसिएसन (एनबीए) रहेको छ ।
स्पोर्ट्स फर अल क्लबले यसअघि जनकपुरधाम र इलामको फिक्कलमा नगद पुरस्कारको नेपाल कप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पत्रकार सम्मेलनमा बैंकर्स एसोसिएसनका प्रतिनिधि एवम् सिभिल बैंकका वरिष्ठ कार्यकारी अधिकृत गोविन्द्र गुरुङले प्रतियोगितामा बैंकर्स एसोसिएसनको भूमिकाबारे प्रकाश पारेका थिए । प्रतियोगिताको समापनका अवसरमा पूर्व राष्ट्रिय फुटबलरद्वय वाइबी घले र श्रीराम रन्जितकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
रविलाई मिस्टर फिटनेस फस्ट उपाधि
रविजंग थापाले प्रथम मिस्टर फिटनेस फस्ट इन्ट्रा शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । उपाधिसँगै रविले १० हजार नगद, फ्रिज र डिस होम बक्स पुरस्कारवापत पाएका थिए । कलंकीको ढुङ्गेअड्डास्थित फिटनेस फस्ट पर्फेक्ट क्लबद्वारा आयोजित प्रतियोगतामा हरि राउत दोश्रो र प्रतिष्ठितलाल श्रेष्ठ तेश्रो भएका थिए । हरिले पाँच हजार र प्रतिष्ठितले तीन हजार नगद पुरस्कार प्राप्त गरे । दुबैलाई डिस होम बोक्स पनि उपहारस्वरुप प्रदान गरियो । प्रतिष्ठितले उत्कृष्ट ‘पोजर’को उपाधि पनि हात पारे । त्यसवापत उनले माइक्रोमेक्स मोबाइल हात पारेका थिए ।
चौथो भएका समीन केसीले दुई हजार, पाँचौँका प्रितम खड्गीले १ हजार ५ सय र छैटौंका मिलन श्रेष्ठले एक हजार नगद पुरस्कार थापेका थिए । त्यस्तै, सातौँका समित महर्जन, आठौँका एमके महर्जन, नवौँका विवेक श्रेष्ठ र दसौँका लालबहादुर गुरुङले समान ५–५ सय नगद पुरस्कार जितेका थिए । विजेतालाई डा. मदनमान मल्ल, डा. नारायण सुवेदी, पहिलो मिस्टर नेपाल शिवलाल श्रेष्ठ, आयोजक क्लबका संस्थापकद्वय लक्ष्मण भट्ट र विनोद महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । उक्त अवसरमा मिस्टर धर्मश्री उपाधि विजेता महेश्वर महर्जन र भारतमा भएको छैटौं विश्व शारीरिक सुगठन च्याम्यिनसिपअन्तर्गत फिट्नेस फिजिक्समा रजत जितेका विमललाल श्रेष्ठलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरी आयोजक क्लबले सम्मान गरेको थियो । एकदिने प्रतियोगितामा १८ प्रतिस्पर्धी सहभागी थिए ।
सगरमाथा अन्तर्राष्ट्रिय करातेमा नेपाल च्याम्पियन
नेपालले प्रथम सगरमाथा खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ । टिम च्याम्पियन नेपालले २५ स्वर्ण, २५ रजत र ४३ कास्य जितेको आयोजक नेपाल सितोरियो कराते डो सङ्घ, शाखा डोजो नक्सालका प्रमुख एवम् प्रतियोगिता संयोजक ईश्वर थापा (गजेन्द्र)ले जनाएका छन् । नेपालबाट लैनचौर डोजो टिमले सर्वाधिक ८ स्वर्ण प्राप्त गरेको थियो । पाहुना टोली बंगलादेश दोश्रो र भारत तेश्रो भए । बंगलादेशले १ स्वर्ण, १ रजत र ४ कास्य जितेको थियो । भारतले १ स्वर्ण, १ रजत र ३ कांस्य हात पा¥यो । प्रतियोगिताको पुरुषमा नेपालका कृतिश पोखरेल र महिलामा बंगलादेशकी प्रिया अख्तर उत्कृष्ट खेलाडी चुनिए । प्रियाले बंगलादेशलाई स्वर्णविहीन हुनबाट जोगाएकी थिइन् । भारतबाट एक्ली स्वर्ण विजेता वैशाली प्रधानले ९–१० वर्ष उमेर समूहमा पहिलो स्थान हात पारेकी थिइन् । विजेतालाई राष्ट्रिय खेलकुद परिषद््का सदस्य–सचिव युवराज लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा २७ स्वर्ण, २७ रजत र ५० कांस्य गरी १ सय ४ पदकका लागि भिडन्त भएको थियो । आयोजकका अनुसार दुईदिने प्रतियोगितामा नेपाल, बंगलादेश र भारतका ४ सय ९७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
आइस हक्की सङ्घलाई भारतको निमन्त्रणा
नेपाल आइस हक्की सङ्घले भारतको देहरादुनबाट नेपालको भ्रमणमा आएका गोर्खा प्रजातान्त्रिक फ्रन्टका अध्यक्ष सूर्यविक्रम शाही र नरेन्द्र खनाललाई सम्मान गरेको छ । सङ्घका अध्यक्ष लोकबहादुर शाहीले उनीहरूलाई मायाको चिनो प्रदान गरेका थिए । सन् २००८ मा देहरादुनमा दक्षिण एशियाली आइस हक्की च्याम्पियनसिपको भारतीय आइस हक्की सङ्घले गरेको थियो । सो अवसरमा दुबै पक्षबीच आइस हक्की खेलको विकासको लागि के–कस्तो सहयोग गर्न सकिन्छ भन्नेबारे विचार आदानप्रदान भएको थियो । त्यस्तै, भारतीय पक्षबाट निकट भविष्यमा देरहादुनको रायपुरमा रहेको आइस रिङ्क अवलोकन र त्यहाँस्थित आइस हक्की खेलसँग सम्बन्धित पक्षबीच भेटघाट र सहयोग आदानप्रदान गर्नका लागि नेपाल आइस हक्की सङ्घका प्रतिनिधिलाई निमन्त्रणा दिनुभएको थियो ।
उक्त कार्यक्रममा सङ्घका सचिव रामसुदन तिमल्सिना, कोषाध्यक्ष हरि मानन्धर, सदस्यहरू विजय खड्का, विपिका अधिकारी र सुन्दर थापा क्षेत्रीको समेत उपस्थिति रहेको थियो । उक्त अवसरमा विषेश अतिथिको रुपमा कलेन्द्रविक्रम शाहीको समेत उपस्थिति रहेको थियो ।
राष्ट्रिय तेक्वान्दोमा मध्यान्चल च्याम्पियन
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन नुवाकोटको आयोजना तथा मदन भण्डारी स्पोर्टस् एकेडेमी नुवाकोट, नुवाकोट युवा सङ्घ नुवाकोट र खेलकुद महासङ्घ नुवाकोटको सह–आयोजनामा सञ्चालित प्रथम जननेता मदन भण्डारी राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता नुवाकोटको कोलनीमा सफलताका साथ सम्पन्न भएको छ । प्रतियोगितामा पाँच विकास क्षेत्र, सशस्त्र प्रहरी बल र आयोजक नुवाकोटका ‘ए’ र ‘बी’को सहभागिता रहेको थियो । १८ वटा गोल्डमेडलको लागि भएको प्रतिस्पर्धामा पुरुषतर्फ एघार र महिलातर्फ सातवटा गोल्डमेडलका लागि भीडन्त भएको थियो ।
उक्त प्रतियोगितामा सिनियरतर्फ मध्यामान्चनले पाँच स्वर्ण, तीन रजत र तीन कास्य जित्दै च्याम्पियन बनेको थियो । त्यस्तै द्वितिय स्थान आयोजक नुवाकोट ‘ए’ले हासिल गरेको थियो । नुवाकोट ‘ए’ले चार स्वर्ण, तीन काँश्य पदक जितेको थियो । यसैगरी एपीएफले दुई स्वर्ण, दुई रजत र एक कास्य जित्दै तेश्रो स्थानमा चित्त बुझाएको थियो । यसैगरी जुनियरतर्फ आयोजक नुवाकोट ‘ए’ले दुई स्वर्ण, एक रजत र तीन कास्य जित्दै प्रथम स्थान हासिल गरेको थियो भने आयोजक नुवाकोट ‘बी’ले दुई स्वर्ण एक कास्य जित्दै द्वितिय स्थान हासिल गरेको थियो । तेश्रो स्थान हासिल गरेको मध्यमान्चल एक स्वर्ण तीन रजत र एक कास्य जितेको थियो । प्रतियोगितामा उत्कृष्ट सिनियर पुरुष खेलाडीको उपाधि मध्यमान्चलका ज्ञानेन्द्र हमाल चुनिएका थिए भने महिलातर्फ आयोजक योगमाया श्रेष्ठले सर्वोकृष्ट चुनिएकि थिइन । त्यस्तै जुनियर पुरुषतर्फ आयोजक नुवाकोटका पुस्कर थापा र महिलातर्फ पश्चिामान्चलकी सुश्मी थापा उत्कृष्ट खेलाडी चुनिएका थिए ।
विजयी खेलाडीहरूलाई समापन समारोहका मुख्य अतिथि एवम् परराष्ट्रमन्त्री महेन्द्र पाण्डेलगायत नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष प्रदीप जोशी, ओलम्पियनद्वय दीपक विष्ट र संगीना बैद्य लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा ९२ पुरुष र ५९ महिलासहित १ सय ५१ ज्ना खेलाडीले सहभागिता जनाएका थिए ।
गुरुङ र वाइवा सम्मानित
नुवाकोटको कोलनीमा सम्पन्न मदन भण्डारी राष्ट्रिय आमन्त्रण प्रतियोगिताको अवसरमा नुवाकोटका हस्ती ध्रुव गुरुङ र मोहन वाइवा सम्मानित भएका छन् । उनीहरूलाई आयोजक अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन नुवाकोटले सम्मानित गरेको हो । नुवाकोटमा जन्मिएर नुवाकोटको नाम राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा फैलाउन अहम भूमिका निभाएकोले उनीहरूलाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ । सम्मान गरिएका ध्रुव गुरुङ एसियाली गेममा रजत पदकविजेता खेलाडी हुनुका साथै वर्तमान अवस्थामा नेपाल तेक्वान्दो सङ्घका मुख्य प्रशिक्षक हुन् । गुरुङले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै पदक जितेर राष्ट्रको नाम रोशन गर्न सफल भएका थिए । त्यस्तै वाईवा तेक्वान्दोका पूर्व चर्चित खेलाडी हुनुका साथै नेपाली सेनाका पूर्व सेनानी पनि हुन् । उनले स्वदेश र विदेशमा रहेर पनि तेक्वान्दो खेलको विकासमा अहम् भूमिका गर्दै आएका छन् । तेक्वान्दो खेलको समग्र विकासमा अहोरात्र खटिएका वाइवाको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ । सम्मानित दुबैलाई परराष्ट्रमन्त्री महेन्द्र पाण्डे एक विशेष कार्यक्रममा सम्मानित गरेका थिए । सम्मानपछि सम्मानितद्वय गुरुङ र वाइवाले आयोजकलाई धन्यवाद दिँदै यो सम्मानले जिल्लाको लागि अझ केही गर्ने प्रेरणा मिलेका बताए ।
प्रतिक्रिया