नौ दिनदेखि चार किशोर बेपत्ता

नौ दिनदेखि चार किशोर बेपत्ता


नौ दिनदेखि एकसाथ बेपत्ता भएका भरतपुर महानगरपालिका–११ का चार किशोर अझै फेला परेका छैनन् ।

बाह्रदेखि १५ वर्ष उमेर समूहका भरतपुर महानगरपालिका–११ अमनचोकका सामुइल श्रेष्ठ, दिनेश परियार, सञ्जय मोक्तान र रिवाज कुमाल बेपत्ता छन् । दिनेश, सञ्जय र रिवाज नयाँकिरण माविमा कक्षा ६ अध्ययनरत तथा सामुइल लोटस एकेडेमीमा अध्ययन गर्दै आएका थिए । बेपत्ता चारैजनाको खोजी गर्न जिल्ला प्रहरी कार्यालयले सबै प्रहरी युनिटमा हुलिया र फोटोसहित सूचना जारी गरेको प्रहरी प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए ।

प्रहरीले उनीहरूका आफन्त तथा साथीभाइसँग सोधपुछ गरिरहेको छ । अन्तिमपटक उनीहरूसँग भेट भएका व्यक्तिको भनाइका आधारमा जिल्लाबाहिर जाने विभिन्न लामो तथा छोटो दूरीका सवारीसाधनमा जाँच गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।