जंगली हात्तीका कारण व्यसायिक कृषिमा आकर्षण घट्दै

जंगली हात्तीका कारण व्यसायिक कृषिमा आकर्षण घट्दै


  • द्रोण अधिकारी, भद्रपुर (झापा)

अन्नबाली पाक्ने समयमा हरेक वर्ष झापाली कृषक र जंगली हात्तीबीच द्वन्द्व बढ्दा व्यवसायिक कृषि सफल बन्न सकेको छैन । कृषिकै माध्यमबाट व्यवसाय बढाउन चाहने कृषक अन्नबाली शकुसल भित्र्याउन नसक्ने वातावरण जंगली हात्तीका कारण बन्न थालेपछि कृषि पेशा व्यवसायिक बन्ने अवस्था कमजोर भएको हो ।

दशैं, तिहार जस्ता चार्डपर्व पनि यही समय र हात्तीले धान बालीमा क्षति गर्ने समय पनि उही बेला पर्दा झापाली किसान हरेक दिन खेती–बालीको चिन्ताले उत्सवका रूपमा मनाउनुपर्ने पर्वमा पनि चिन्तित भइरहेको अवस्था छ ।

वर्षौंयता पूर्वी दक्षिणी झापाका कृषकले जंगली हात्ती उपद्रोका कारण वर्षभरीका दुःख बिर्सेर खुसीका साथ पर्व मनाउन समेत पाइरहेका छैनन् । दशैं, तिहार र छठ पर्वको समयमा धान पाक्ने कारण यी पर्व मनाउने कृषकले हात्ती त्रासका कारण खुसीका साथ चार्ड पर्व मनाउनै नपाएको गुनासो छ ।

हरेक वर्ष झापामा प्रमुख खाद्यबाली धान पाक्न लागेपछि झापाको सदरमुकाम उत्तर–दक्षिणी क्षेत्रका अधिकांश किसानमा धान जोगाउने चिन्ता बढेर आउने गरेको छ । वर्षभरी खाने र परिवार पाल्ने आधारका रूपमा रहेको धान खेतीमा वर्षौंवर्षयता हात्तीको चरण बन्न थालेपछि पूर्वी उत्तर-दक्षिण झापाका किसानमा धान जोगाउन सकिने हो या होइन भनेर चिन्ता बढ्ने गरेको हो ।

भारतको आसाम राज्यबाट काँकरभिट्टा स्थित मेची नदी किनार हुँदै स–सना झुण्डका रूपमा नेपाल प्रवेश गरेका दर्जनौं हात्ती मध्ये ३५ वटा हात्तीका विभिन्न झुण्डले झापा जिल्लामा रैथाने जीवशैली बनाइ सकेको अवस्था छ । यो समूहले कुनै न कुनै रूपमा वर्षैभरी ज्यामिरगढी, दुवागढी, चन्द्रगढी, गरामनी, हल्दिवारी जलथल, पृथ्वीनगर, बालुवाडी, केचना पथरिया घेरावारी लगायत धान उत्पादन क्षेत्रमा बढी क्षति गर्ने गरेको स्थानीयको गुनासो आउन थालेको दशकौँ भयो ।

धान पाक्न सुरू भएको यस समयमा चार्ड पर्वको चटारो भन्दा वर्षभरी पेट भर्ने धानको सुरक्षाचाहिँ कसरी गर्ने भन्ने चिन्तामा झापाका अधिकाम्स कृषकमा चिन्ता छ, किनकि रैथाने हात्ती र पाहुना हात्ती धान बाली भएका क्षेत्रमा हरेक दिन हुल बाँधेर देखिन थालेका छन् ।

स्थानीय कृषक चुडाराज भट्टराईका अनुसार दक्षिणी झापामा हात्ती उपद्रो तीव्र गतिमा बढेको १५ वर्ष जति भयो । त्यस अगाडि उत्तरी झापा मात्र हात्ती प्रभावित क्षेत्रका रूपमा परिचित थियो । सायद त्यस बेला हात्तीको संख्या कम भएर हुन सक्छ दक्षिणी झापामा हात्तीको प्रभाव पर्न सकेको थिएन । तर, पछिल्ला वर्षहरूमा हरेक वर्ष हात्तीको उपद्रो बढेर जाँदा व्यवसायिक खेती गर्ने किसान पलायन हुने क्रम पनि बढेर गइरहेको छ ।

वि सं २०४१ साल यता झापाको प्रमुख समस्याका रूपमा रहेको हात्ती–मानव द्वन्द्व नियन्त्रणको पटक–पटक गरिएको प्रयास अहिलेसम्म सफल नहुँदा मान्छे र हात्ती मारिने क्रम पनि रोकिन सकेको छैन । तीन दशकसम्म उत्तरी झापाको प्रमुख समस्याका रूपमा रहेको हात्ती आतङ्क पछिल्लो डेढ दशकयता दक्षिण, पश्चिम झापाको समस्या बनेर ज्यान लिने खेलका रूपमा विकास भइरहेको छ ।

भारतको आसामबाट वंगाल हुँदै नेपाल प्रवेश गर्ने हात्तीको बथान बाहुण्डाँगी नाकाबाट नेपाल प्रवेश गरी खेती बाली पाक्ने समयमा ठूलो क्षति गर्ने गर्छन् तर उत्तरी झापाको बाहुण्डाागीमा तारबार लगाएपछि भारतीय हात्तीको ठूलो समूह नेपाल प्रवेश गर्न नसके पनि साना–साना झुण्ड बनाएर काँकरभिट्टा नाकाको मेची नदी किनारबाट दक्षिण पूर्वी ज्यामिरगढी हुँदै दुवागढी चन्द्रगढी वन क्षेत्र चारआली जंगलमा आश्रय बनाएका हात्तीहरूको एकतृत झुण्डले झापाका साविक गाविसहरु दुवागढी, चन्द्रगढी, गरामनी, हल्दिबारी, जलथल, पृथ्वीनगर, बालुवाडी, बनियानी, घेरावारी, राजगढ, शरणामती कुमरखोद क्षेत्रमा हरेक वर्ष अन्नबालीमा क्षति गर्दै आतङ्क मच्चाइरहेका छन् ।

मकै र धान पाक्ने समयमा हात्तीको झुण्डले बाली खाने, नष्ट गर्ने समस्या देखिएको छ भने अन्य सुख्खा समयमा घरमा राखिएको अन्न तथा खाद्यान्न खाइ दिने, घर टहरा भत्काइदिने प्रतिकार गर्न खोजे मानिसमाथि नै आक्रमण गरी अंगभंग पार्ने, ज्यानै लिनेसम्मका घटना बढ्दै गइरहेको अवस्था छ । यस क्षेत्रमा अन्न बाली पाक्ने समयमा अन्य आगन्तुक हात्तीहरूको प्रवेश हुने हुँदा झापाका बाहुण्डाँगी, बुधबारे, शान्तिनगर, खुदुनावारी, सुरुङ्गा, सतासीधाम, दमक लगायत मोरङका उत्तरी क्षेत्रमा पनि हात्तीले कुनै न कुनै रूपमा क्षति गर्ने क्रममा बढोत्तरी भइरहेकै छ ।

विज्ञहरू हात्तीमैत्री जंगलको अवधारणा ल्याउन सरकारलाई सुझाव दिइरहेका छन् भने सरकार अवधारणाविहिन रमिते शैलीमा देखिन्छ ।

पीडित कृषक पदम तामाङ भन्छन्- ‘अब नयाँ कार्यशैली नलिने हो भने झापाली कृषकले पेशा परिवर्तन गर्नु पर्ने बाध्यता अउन सक्छ । यसेै कारण पनि सरकारले छिंटो भन्दा छिटो हात्तीबाट भइरहेको कृषि क्षेत्रको क्षति रोक्न नवीन निर्णय लिनै पर्छ ।’

कृषि बचे कृषक रहलान्, कृषक भए देशको समृद्धिमा योगदान पुग्ला भन्ने सोच राखेर समय र अवस्था अनुकुल सरकारले नीति परिमार्जन गरेर देशको महत्वपूर्ण अंग कृषि क्षेत्र बचाउनुपर्ने माग बढिरहेको छ । पछिल्ला वर्ष हात्तीप्रभावित क्षेत्रमा धान तथा हिउँदे तरकारी खेती घट्दै जानुको कारण कृषि उपजको सुरक्षा चुनौति नै मान्नुपर्ने हात्तीप्रभावित क्षेत्रका कृषकहरूको भनाइ छ ।

यता डिभिजन वन कार्यालय प्रमुख भने हात्ती लगायत जंगली जनावरका कारण अन्न बालीमा क्षति भए क्षतिपूर्तिको व्यवस्था रहेको बताउने गर्छन् ।