विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका महेश्वर महर्जन नगदसहित सम्मानित भएका छन् । नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले पूर्वघोषित नगद पुरस्कार तीन लाख रुपैयाँ प्रदान गरी महेश्वरलाई सम्मान गरेका हुन् ।
अध्यक्ष श्रेष्ठले पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महेश्वरलाई स्वागत गर्न आयोजित कार्यक्रममा व्यक्तिगत रूपमा प्रोत्साहनस्वरूप महेश्वरलाई नगद तीन लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।
सो कार्यक्रममा फिटनेस च्वाइसका प्रबन्ध निर्देशक उत्तम सिलवालले १ लाख २० हजार, शारीरिक सुगठन सङ्घका सदस्य मोहनकृष्ण श्रेष्ठले ५१ हजार, शारीरिक सुगठन सङ्घका प्रथम उपाध्यक्ष एवम् पूर्वएआईजी विजयलाल कायस्थ, शारीरिक सुगठन सङ्घका उपाध्यक्ष राजेश उपाध्याय र डिभाइन फिजिकल फिटनेस सेन्टरले समान ५० हजार, आरभ मल्टिनेसन प्रा.लि. की रज्जु रञ्जितकार तथा शारीरिक सुगठन सङ्घका कोषाध्यक्ष सागर बगालेले समान २५ हजार नगद पुरस्कार महेश्वरलाई उपलब्ध गराएका थिए ।
शारीरिक सुगठनसँग कुनै नाता नभएका गोपी बर्तौलाले पनि फेसबुकबाट थाहा पाएको जानकारीकै भरमा कार्यक्रम स्थलमै महेश्वरलाई नगद ५० हजार दिएका थिए ।
सो अवसरमा विश्व शारीरिक सुगठनका रजत विजेताद्वय ननिता महर्जन र रुजेश शाहीलाई पनि प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै महेश्वरसँगै टिम व्यवस्थापकका रूपमा थाइल्यान्ड गएका श्याम श्रेष्ठ पनि सोही अवसरमा सम्मानित भए । श्याम विश्व शारीरिक सुगठनमा नेपाललाई पदक (कांस्य) दिलाउने पहिलो खेलाडी हुन् ।
थाइल्यान्डको चाङमाईमा डिसेम्बर ११ देखि १७ तारिखसम्म भएको १०औँ विश्व शारीरिक सुगठन तथा स्पोर्टस् फिजिक च्याम्पियनसिपअन्तर्गत शारीरिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए । महेश्वरले जितेको उक्त स्वर्ण नेपाली शारीरिक सुगठनको इतिहासमा पहिलो हो । विश्व शारीरिक सुगठनको फरक संस्करणमा ननिता महर्जन तथा रुजेश शाहीले रजतसम्म जितेका थिए ।
महेश्वर एसियाली शारीरिक सुगठनका पनि एक मात्र स्वर्ण विजेता नेपाली खेलाडी हुन् । महेश्वरले भुटानमा भएको ५०औँ एसियाली शारीरिक सुगठनमा उक्त सफलता हात पारेका थिए । ताहाचलनिवासी ३५ वर्षीय महेश्वर ११ औं दक्षिण एसियाली शारीरिक सुगठनका पनि कांस्य विजेता हुन् । महेश्वरलाई शुभतारा स्कुलले पनि आफ्नो वार्षिक खेलकुद दिवसको समापनका अवसरमा नगद ५० हजारसहित सम्मान गरेको थियो ।
कार्यक्रममा महेश्वरले सम्मानले भविष्यमा अझ ठूलो सफलता प्राप्त गर्न प्रेरणा मिलेको बताउदै सम्मान गर्ने सबैलाई धन्यवाद दिए ।
प्रतिक्रिया