किरण बढ्दा प्रचण्ड क्रूद्ध

किरण बढ्दा प्रचण्ड क्रूद्ध


एनेकपा माओवादी पार्टी अब भावनात्मक रूपमै एकताबद्ध हुन मुस्किल देखिएको छ । पार्टीसम्बद्ध नेताहरू साक्षात माओ त्से तुङ नै उपस्थित भए पनि पार्टीलाई पूर्ववत् एकताबद्ध गराउन नसकिने निष्कर्षमा पुगेका छन् । पार्टीमा यस किसिमको अवस्था सिर्जना हुनुमा मोहन वैद्य किरण र डा. बाबुराम भट्टराई पक्षले प्रचण्डको सोच र कार्य-व्यवहारलाई जिम्मेवार ठहर्‍याएका छन् । प्रचण्ड आत्मकेन्द्रित, अराजक, विचारविहीन र अविश्वसनीय रहेको ठहर वैद्य र भट्टराई दुवै पक्षले गरेका छन् । वैद्यले प्रचण्ड क्रान्तिप्रक्रिया र शान्तिप्रक्रिया दुवैप्रति इमानदार हुन नसकेको बेग्लै निष्कर्ष निकाल्नुभएको छ । प्रचण्डको नेतृत्वमा शान्तिप्रक्रिया टुङ्गोमा पुग्न नसक्ने र क्रान्ति सम्पन्न हुन झनै असम्भव रहेको वैद्य पक्षको भनाइ छ । प्रचण्डमाथि फासीवादी भएको गम्भीर आरोप पनि लागेको छ । वैद्यले प्रचण्डले विदेशी गुप्तचरहरूसँग गुप्त सम्बन्ध बनाएको कुरालाई पनि गम्भीर रूपमा लिनुभएको छ । उहाँले पार्टीको मुख्य नेता भएर गुप्तचर एजेन्सीका मान्छेहरूलाई भेट्दै नहिँड्न पार्टी बैठकमै चेतावनीसमेत दिनुभएको बताइन्छ । तर, वैद्य तथा अन्य नेताहरूले जेसुकै भने पनि त्यसलाई आत्मसात् गर्ने या आफूलाई बदल्ने पक्षमा प्रचण्ड देखिनुभएको छैन । बरु वैद्यहरूलाई कसरी सिध्याउन सकिन्छ भनेर उहाँ भित्रभित्रै सक्रिय हुन थाल्नुभएको छ । वैद्यमाथि गम्भीर ढङ्गको गुटबन्दी गरेको आरोप लगाउँदै गुटबन्दी गर्नेहरूका विरुद्ध कठोर कदम चालिने उद्घोष प्रचण्डले गर्नुभएको छ । तर, प्रचण्डका कुनै पनि धम्की र चेतावनीको पर्वाह गर्ने अवस्थामा मोहन वैद्य किरण हुनुहुुन्न । बरु संसदीय दलको नेता र अध्यक्ष नै परिवर्तन गरेर भए पनि शान्ति र क्रान्तिप्रक्रियालाई अगाडि बढाउने सोच वैद्यले बनाउनुभएको बताइन्छ । बाबुराम भट्टराईले आफूलाई केही सच्याएर आए उहाँलाई नै दलको नेता बनाउने धारणा वैद्य पक्षको छ । त्यस निम्ति वैद्यनिकटका नेताहरूले डा. भट्टराईसँग निरन्तर संवाद र छलफल चलाइरहेका पनि छन् । प्रचण्डलाई छद्म अवसरवादी भन्ने वैद्य पक्षले बाबुराम भट्टराईमा दक्षिणपन्थी अवसरवादी भड्काव देखिए पनि व्यक्तिगत रूपमा उहाँ इमानदार हुनुभएको ठानेको छ । भट्टराईसँग वैचारिक सङ्घर्ष गर्दै अघि बढ्न सक्ने स्थिति रहेको पनि वैद्य पक्षको ठम्याइ छ । त्यसैले संसदीय दलको नेता र राष्ट्रिय सहमतिको सरकारको नेतृत्व डा. बाबुराम भट्टराईबाट हुनु उपयुक्त हुने धारणा वैद्यले बनाउनुभएको छ । तर, पछिल्लो समयमा प्रचण्ड र बाबुरामबीच बढ्दो सान्निध्यले भने वैद्य पक्षधरहरूलाई चिन्तित तुल्याएको छ । कदाचित प्रचण्डले डा. भट्टराईलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभयो भने त्यसलाई अस्वीकार गर्ने मानसिकता वैद्य पक्षले बनाएको छ । भट्टराई मात्र होइन पार्टीका जुनसुकै नेताको नाम प्रचण्डले प्रस्ताव गरे पनि अस्वीकार गर्ने सोच वैद्यले बनाउनुभएको छ । त्यसैले प्रचण्डसँग मिलेर प्रधानमन्त्री बन्ने सोच डा. भट्टराईले बनाउनुभएको छ भने त्यो गम्भीर भूल हुनसक्ने ठानिएको छ । राष्ट्रिय स्वाधीनताको पक्षमा बाबुरामलाई दर्बिलो ढङ्गले उभ्याउने र त्यसरी उभिन तयार भए संसदीय दलको नेता बनाउने भनी वैद्य पक्षबाट भइरहेका प्रयासलाई बाबुरामले सकारात्मक रूपमा लिनुभएको भए पनि उहाँले अन्तिम निर्णय भने गर्न सक्नुभएको छैन । यतिबेला बाबुरामसँगको निरन्तर सर्म्पर्कमा प्रचण्ड हुनुहुन्छ र पहिले-पहिले बाबुरामसँग भेट गर्नुपरेमा उहाँलाई नयाँबजारस्थित आफ्नो निवासस्थानमा बोलाउनुहुने प्रचण्ड अचेल बाबुरामलाई भेट्न सानेपास्थित उहाँकै निवासस्थानमा जाने गर्नुभएको छ । प्रचण्डले भट्टराईलाई प्रधानमन्त्री बनाउने विश्वास पनि दिलाउनुभएको छ, तर नयाँबजार फर्किएपछि प्रचण्डले कुरा फर्ेर्ने गर्नुभएको छ । नयाँबजारस्थित आफ्नो निवासमा आएका निकटवर्तीहरूलाई प्रचण्डले बाबुरामजीलाई प्रधानमन्त्री बनाउन नसकिने स्पष्ट रूपमा बताउने गर्नुभएको छ । भनिन्छ, प्रचण्ड तत्काल झलनाथ खनाललाई प्रधानमन्त्री पदबाट राजीनामा गराउने पक्षमा हुनुहुन्न । भट्टराईलाई प्रधानमन्त्री बनाउनुभन्दा खनाललाई निरन्तरता दिनु नै उचित हुने धारणा प्रचण्डको छ । शान्तिप्रक्रिया केही अघि बढाएजस्तो गर्न सके भदौमा पुन: संविधानसभाको म्याद थप गर्न सकिने विश्वासमा प्रचण्ड रहनुभएको बताइन्छ । त्यसैले झलनाथले तत्काल राजीनामा दिनुपर्छ भनी बाबुराम भट्टराईले चलाउनुभएको अभियानप्रति प्रचण्ड असहमत रहनुभएको छ । प्रचण्ड तथा अन्य पार्टीका नेताहरूको विचार बुझेर नै खनालले तत्काल पदत्याग नगर्ने सोच बनाउनुभएको हो । मोहन वैद्य किरण पनि प्रधानमन्त्रीको उपयुक्त उम्मेदवार तय नभएसम्म झलनाथलाई हटाउने पक्षमा नरहनुभएको बताइन्छ । जे होस्, पुन: प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा हेर्ने चाहना वैद्यमा देखिँदैन । क्रान्ति र पार्टीका निम्ति जस्तोसुकै जोखिम उठाउन पनि वैद्य तयार रहनुभएको छ, त्यसैले कुनै बेलाका प्राधिकार प्रचण्ड अब भविष्यमा सीपी मैनालीको तहमा पुग्नुहुने अनुमान माओवादीभित्रै गर्न थालिएको छ ।