युवा क्रिकेटर सन्दीपको व्यस्तता

युवा क्रिकेटर सन्दीपको व्यस्तता


नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट खेल्न आज (बुधबार) बिहान बंगलादेश पुगेका छन् । अस्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अस्ट्रेलियाबाटै बंगलादेश प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू बंगलादेश प्रस्थान गरेको बताएका छन् ।

अस्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिएका थिए । सन्दीपले स्यलहेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिग खेल्नेछन् । बीपीएल क्रिकेट आगामी शनिबारदेखि शुरु हुनेछ । बंगलादेश प्रिमियर लिगपछि सन्दीप नेपाली टोलीमा सामेल हुनेछन् । नेपालले माघको दोस्रो साताबाट यूएईसँग उसैको मैदानमा एकदिवसीय र टी–२० शृंखला खेल्नेछ ।

बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले खेलेका चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लिएका आठ विकेटमध्ये पहिलो खेलमा दुई, दोस्रो खेलमा तीन, तेस्रो खेलमा दुई र चौथो खेलमा एक विकेट लिएका थिए । जारी लिगको चारै खेलमा विकेट लिँदै सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा आफूलाई दर्ता पनि गराइसकेका छन् । उनले चारै खेलमा विपक्षी टिमका कप्तानलाई आउट गरेका थिए ।