अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा प्रथम एन्टा कप राष्ट्रिय जुनियर्स टेबलटेनिस प्रतियोगिता पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।
लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा १८ वर्ष ६ महिनामुनिको पुरुष तथा महिला एकल तथा टिम इभेन्ट्स, १५ वर्ष ६ महिनामुनिको छात्र तथा छात्रा एकल तथा टिम इभेन्ट्स, १२ वर्षमुनिको क्याडेट छात्र तथा छात्रा एकल तथा १० वर्षमुनिको क्याडेट छात्र तथा छात्रा एकलमा प्रतिस्पर्धा गराइने प्रतियोगिता संयोजक एवं संघका उपाध्यक्ष धर्ममान बज्राचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
करिब ४ लाख ५० हजारको लागत रहेको प्रतियोगितामा ४० जिल्लाका १५० खेलाडीहरूले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । ४ महिनासम्मको मान्यता रहेको यस प्रतियोगिताबाट भारतको नयाँदिल्लीमा जनवरी २२ देखि २४ सम्म हुने होप टेबलटेनिस प्रतियोगिताको लागि क्याडेट १० वर्ष र १२ वर्षमुनिका छात्र र छात्राको छनोट हुनेसमेत संयोजक बज्राचार्यले जानकारी गराए ।
सोही अवसरमा अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय निर्णायक प्रशिक्षण पनि गर्ने कार्यक्रमसमेत रहेको संयोजक बज्राचार्यले बताए । ४ दिने राष्ट्रिय निर्णायकको प्रशिक्षणका लागि ४० जिल्लाकै प्रतिनिधिको सहभागिता रहने र निर्णायकहरूलाई अन्तर्राष्ट्रिय निर्णायक विनोद शाक्य, शंकर गौतम र तेजेन्द्र महराले प्रशिक्षण प्रदान गर्नेछन् ।
प्रतिक्रिया