१६ दिनदेखि बेपत्ता वडाध्यक्ष खोजी गरिदिन परिवारको आग्रह

१६ दिनदेखि बेपत्ता वडाध्यक्ष खोजी गरिदिन परिवारको आग्रह


बेपत्ता भएका अर्घाखाँचीको मालारानी गाउँपालिकाका वडाध्यक्षको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । बुटवलमा आज (बुधबार) पत्रकार सम्मेलन गरी १६ दिनदेखि बेपत्ता भएका मालारानी–२ का वडाध्यक्ष विनोद भनिने विष्णु भुसालको खोजी गरी सार्वजनिक गर्न परिवारजनले आग्रह गरेका हुन् ।

सन्धिखर्कमा काम छ भनी घरबाट हिँडेका भुसालको अहिलेसम्म कुनै खबर नआएको दाजु जीवलाल भुसालले बताए । भाइ हराएपछि पुस ४ गते प्रशासनमा निवेदन दिए पनि अहिलेसम्म कुनै पहल नभएको उनको गुनासो छ ।

‘अर्घाखाँची सदरमुकाम जान्छु भनेर पुस २ गते बिहान घरबाट निस्केको थियो,’ दाजु विष्णुले भने, ‘सन्धिखर्क गुन्टेखोलास्थित मोटरसाइकल ग्यारेजमा मोटरसाइकल मर्मत गर्न दिएर कपिलवस्तुको गोरुसिंगे जान्छु भनेर हिँडेको जानकारी भयो । तर अहिलेसम्म उसको अवस्था अज्ञात छ ।’

उनका अनुसार फोन गर्दा उनको मोबाइल कपिलवस्तु वनगाईमा बसका चालकले उठाए । चालकले गाडीमा मोबाइल खसाएको भनेर जानकारी गराएका थिए । ४१ वर्षीय विनोद तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।