राजनीतिक दासत्व कहिलेसम्म स्वीकार गर्ने

राजनीतिक दासत्व कहिलेसम्म स्वीकार गर्ने


sportखेलकुदको पीडा
वर्तमान अवस्थामा सन् २०१४ को क्यालेन्डर परिवर्तन भएको छ । सबैले नयाँ वर्ष २०१५ को स्वागत गरेका छन् । विश्व खेलकुद जगत्ले पनि निकै हर्षोल्लासका साथ नयाँ वर्षलाई आत्मसात् गरेको छ । यसरी नयाँ वर्षको आगमनसँगै खेलकुद क्षेत्रमा खुसियालीको तरङ्ग फैलिएको छ । तर, विडम्बना, नेपालको खेलकुद क्षेत्रमा भने यो परिवर्तित क्यालेन्डरको खासै प्रभाव देखिएको छैन । नेपालका प्रायः अन्तर्राष्ट्रिय प्रतियोगिताहरू अङ्गे्रजी क्यालेन्डरअनुसार सञ्चालन हुने भए पनि त्यसको अनुशरण खेलकुदका ठेकेदारहरूले कहिल्यै गरेका छैनन् । परिणाम, नेपालको खेलकुदमा यसले नकारात्मक प्रभाव पार्दै आएको छ । नेपाल अन्य मुलुकको दाँजोमा चार महिना पछि पर्दै आएको छ । जसले खेलकुदको नीति, कार्यक्रम र योजनामा प्रत्यक्ष प्रभाव पारेको छ । साँचो रूपमा भन्नुपर्दा नयाँ वर्षको आगमन नेपालका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ जस्तै भएको छ । र पनि बितेको २०१४ नेपाली खेलकुदका लागि कस्तो रह्यो, त्यसको पोस्टमार्टम गर्दा पाठकले सत्यताको अनुभूति अवश्य गर्नेछन् ।
खेलकुदजस्तो रचनात्मक ठाउँमा सरकार परिवर्तनसँगै चल्ने राजनीतिक चलखेल खेलकुदका लागि निकै कुठाराघात बन्दै गएको तीतो सत्य हाम्रोसामु छ । प्रजातन्त्रको उदयसँगै सल्किएको राजनीतिक डढेलोले खेलकुदको पिछा अहिलेसम्म छोडेको छैन । परिणाम अहिले पनि खेलकुद राजनीतिकै साङ्लोमा कैद हुन पुगेको छ । मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आइसक्दासमेत खेलकुदलाई भने उही राजनीतिक हस्तक्षेपले गाँजेको छ । यसबाट खेलकुदले कहिले मुक्ति पाउने हो त्यो अहिले निकै चिन्ताको विषय बन्दै गएको छ । राजनीतिक दल र तिनका नेताहरूले खेलकुदलाई राजनीतिबाट टाढा राख्ने गफ फकाले पनि व्यवहार भने ठीक त्यसको उल्टो देखिएको छ । खेलकुदलाई खेलाडीमयभन्दा कार्यकर्तामय बनाउनेतर्फ उद्यत् देखिएका छन् । जसले गर्दा नेपाली खेलकुदले आफ्नो पचास वर्षको उपस्थितिमा पनि जहिले पनि दासत्वलाई नै स्वीकार गर्नुपरेको छ । विगत अर्थात् सन् २०१४ पनि नेपाली खेलकुद यही विवादबाट अछुतो रहन सकेन । आपसी मतभेद, खिचातानी र विवादकोे अचानोको मार सहनुप-यो खेलकुदले । यो खेल २०१५ मा पनि जारी रहनेछ, किनकि सरकार एउटाको छ, खेलकुदमन्त्री अर्कोको छ र सदस्यसचिव अझ अर्को छ । यही यथार्थको धरातलमा रहेर २०१४ को खेलकुदको विश्लेषण गर्दा खेलकुदको विकासभन्दा विवादले बढी चर्चा पाएको प्रस्ट रूपमा देखिएको छ ।

खेलकुदमन्त्री र सदस्यसचिवबीच टसल
युवा तथा खेलकुद मन्त्रालयको वागडोर एमालेका मन्त्री पुरुषोत्तम पौडेलले सम्हालेपछि खेलकुदमा विवादको बिउ रोपिएको थियो । मन्त्री पौडेलले जसको मन्त्रालय उसैको सदस्यसचिव हुने कुरामा अडान लिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालाई परिषद्बाट हटाएपछि खेलकुदमा राजनीतिक हस्तक्षेप र नीति–नियमका कुरा उठेका थिए । सदस्यसचिव युवराज लामाले मन्त्रीको कदमलाई गैरकानुनी भन्दै सर्वोच्चमा मुद्दा दायर गरेपछि सम्बन्धमा दरार परेको थियो । अझ सर्वोच्चले लामाको पक्षमा अन्तरिम आदेश जारी गर्दै राखेपमा पुनर्वहाली गरेपछि उनीहरूको सम्बन्धमा चिसोपन मात्र होइन खेलकुदमा अराजकतासमेत भित्रिएको थियो । लामालाई हटाउन नसकेपछि मन्त्रालयले राखेपप्रति अख्तियार गरेको रणनीतिले अहिले खेलकुदलाई एउटा सीमाभन्दा अगाडि बढ्न दिएको छैन । साँचो अर्थमा भन्नुपर्दा विगत ६ महिनादेखि राखेप कर्मचारीलाई तलब खुवाउनेबाहेक केही काम गर्न सकेको छैन । अहिले पनि लामालाई हटाउन मन्त्री पौडेल साम, दाम, डण्ड, भेद चारै नीतिको अवलम्बन गरिरहेका छन् । सर्वोच्चमा कानुनी लडाइँ जारी छ । खेलकुदको विकासको ठेक्का लिएका अध्यक्ष पौडेल र सदस्यसचिव लामा मुद्दा खेल्नमै आफूलाई व्यस्त बनाएपछि खेलकुदको भने हरिविजोग भएको छ ।

ओलम्पिक विवाद जस्ताको त्यस्तै
सर्वोच्चको फैसलासँगै नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुई ओलम्पिक कमिटी अस्तित्वमा देखिएका थिए । राखेपले सर्वोच्चको आदेशको सम्मान गर्ने र खेलकुदमन्त्रीले त्यसको उल्लङ्घन गर्दा ओलम्पिक कमिटीको विवाद झनै चर्किएर गएको थियो । त्यसमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई नै लालमोहर लगाइदिएपछि ओलम्पिकको विवाद अझ पेचिलो बनेको थियो । तर, सार्वजनिक लेखा समतिले अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रधान अध्यक्ष रहेको एनओसीलाई अवैधानिक र राष्ट्रिय मान्यता प्राप्त रुक्मशमशेर राणा अध्यक्ष रहेको एनओसीलाई वैधानिक ठहर गर्दै सम्पूर्ण कार्य राणाको नेतृत्वमा रहेको एनओसीसँग गर्न निर्देशन दिएपछि ओलम्पिकको विवादमा नौलो आयाम थपिएको थियो । समितिले खेलकुद मन्त्रालयलाई ओलम्पिक विवाद समाधानका लागि पत्राचार गरे पनि मन्त्रालयको उदासीनताले गर्दा ओलम्पिक विवादको समाधान औंसीको चन्द्रमा जस्तै क्षीण देखिएको छ । अध्यक्ष प्रधान अन्तर्राष्ट्रिय धाककै बलमा ओलम्पिक कमिटी हाँकिरहेका छन् भने राणा सरकारले नै यसको समाधान गर्नुपर्ने र आफूलाई एनओसीको कुर्सीमा विराजमान गराउनुपर्ने दिवास्वप्न देखिरहेका छन् । परिणाम, ओलम्पिक विवाद वीरबलको खिचडीजस्तो बन्न पुगेको छ । त्यो कहिले पाक्छ दैवले नै जानुन् ।

एन्फा विवाद र प्रतिबन्ध
दुई दशक अखिल नेपाल फुटबल सङ्घमा एकछत्र रजाइँ गरेका गणेश थापालाई भ्रष्टाचारको आरोपमा प्रतिबन्ध लाग्दा एन्फासमेत विवादमा तानिएको छ । थापालाई सार्वजनिक लेखा समितिले दुई महिना र विश्व फुटबल महासङ्घ (फिफा)ले चार महिनाको प्रतिबन्ध लगाएपछि अहिले थापाको नेतृत्व धरापमा परेको छ । सार्वजनिक लेखा समितिले थापालाई ५७ करोडको भ्रष्टाचार गरेको आरोप लगाएको छ । त्यस्तै एन्फाको एक गुट कर्मा छिरिङको नेतृत्वमा थापाको विरोधमा ज्यान छोडेर लागेको छ । उनीहरू थापालाई भ्रष्टाचारी सावित गर्न र एन्फाबाट हटाउन न्वारानदेखिको बल लगाउँदै अहिले देश दौडाहा निस्किएका छन् । स्वदेशको कानुन र कारबाही थापा अगाडि निस्तेज सावित भएको अवस्थामा उनको ज्यान अहिले फिफाको निर्णयमा अडेको छ । अबको दुई महिनापछि फिफाले कस्तो निर्णय गर्छ, त्यसले नै थापा र नेपाली फुटबलको भविष्यको निर्णय गर्नेछ । थापा आफू निर्दोष सावित हुने कुरामा ढुक्क भए पनि पछिल्लो समयमा यस्तै प्रकृतिका दक्षिण एसियाली मुलुकका पदाधिकारीहरूलाई फिफाले गरेको कारबाहीलाई हेर्दा ढुक्क हुने अवस्था छैन । थापाले उन्मुक्ति पाउन फलामकै चिउरा चपाउनुपर्ने देखिन्छ ।

क्यानको विघटन, पुनर्गठन र सफलता
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषद्को नीति, नियम र ऐनलाई धोती लगाउँदै नेपाल क्रिकेट सङ्घ (क्यान) को विघटन गरेपछि क्रिकेटको विवादले निकै चर्चा पाएको थियो । भ्रष्टाचारको आरोपमा क्यानका पदाधिकारीहरू निलम्बनमा परेपछि क्यानका अन्य निर्वाचित पदाधिकारीहरू राखेर तदर्थ समिति गठन गरिएको थियो । तदर्थ समितिको कार्यकुशताप्रति प्रश्न उठाउँदै मन्त्री पौडेलले उक्त समितिलाई विघटन गरेपछि क्यानको विवाद सडकमा पुगेको थियो । मन्त्री पौडेलले क्यानलाई गति प्रदान दिन क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेको अध्यक्षतामा तीन सदस्यीय समिति खडा गरेका थिए । त्यसपछि क्यानका ती पदाधिकारीले मन्त्रीको कदम गैरकानुनी भएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । पछि सर्वोच्चले क्यानका पदाधिकारीको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । तर, केही समयपछि मन्त्री पौडेलले खडा गरेको समितिले अन्तर्राष्ट्रिय मान्यता पाएपछि अहिले क्रिकेटमा पनि दुईवटा सङ्घ अस्तित्वमा देखापरेका छन् । यसरी सफलताको कोसेढुङ्गा पार गर्दै विश्वकपमा आफूलाई होमिसकेको नेपालको लागि क्रिकेट विवाद पहिलो गाँसमै ढुङ्गा लाग्न पुगेकोे छ । यसले खेलाडीहरूको प्रदर्शनमा नकारात्मक प्रभाव परेको छ भने विश्व क्रिकेटमा नराम्रो सन्देश पुगेको छ । क्रिकेटमा उदीयमान देशको रूपमा चिनिएको नेपालका लागि यो सबैभन्दा दुःखदायी र लाजमर्दो घटना भएको छ । यो फोहोरी राजनीतिक खेलको सम्पूर्ण क्रिकेट खेलाडीले भर्सना गरेका छन् ।

एसियाली खेलकुदमा शर्मनाक प्रदर्शन
हालै दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले शर्मनाक प्रदर्शन गरेको थियो । सात करोड खर्चेर २६ खेलका तीन सयभन्दा बढी खेलाडी सहभागिता गरेको नेपालको हातमा अन्तिममा शून्य मात्रै लागेको थियो । सहभागिताको नाममा नानीभन्दा आची ठूलो गरेको नेपालले अन्तिममा परिणाम पनि त्यस्तै भोगेको थियो । सरकारले छनोट गरेर एसियाडमा पठाएका सबै खेलाडी रित्तो हात घर फर्किएको अवस्थामा व्यक्तिगत खर्चमा गएकी करातेकी विमला तामाङले मुलुकको इज्जत जोगाएकी थिइन् । उनले जितेको एउटा कास्य पदक नै एसियाडमा नेपालको शान बनेको थियो । राखेप, खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीको विवाद र खिचातानीले एसियाडमा नेपालको प्रदर्शन लज्जाजनक हुँदासमेत सरकारले मौनता साँध्नु खेलकुदका लागि दुर्भाग्य भएको छ । स्मरणीय छ, यही विवादका कारणले राखेपका कुनै पनि पदाधिकारीले १७औँ एसियाडमा सहभागिता जनाएका थिएनन् ।
वर्तमान अवस्थामा अर्थात् सन् २०१५ मा पनि माथि उल्लेखित गरिएका समस्या नेपाली खेलकुदका लागि चुनौती बनेर आएका छन् । अब यसको समाधान कसरी हुन्छ त्यो अहम् विषय बनेको छ । त्योभन्दा पनि गम्भीर विषय उनै चर्चित खेलाडी र महारथीका अनुहार खेलकुदमा देखिएकाले सहजै समाधान होला भन्न सकिँदैन । त्यसैले २०१४ को क्यालेन्डर परिवर्तित भए पनि खेलकुदको पीडामा कुनै मल्हम लाग्ने देखिएको छैन । यी महारथीहरूले पुनः आफ्नो रङ्ग देखाउने छन्, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा खेलकुदको बद्नाम गर्नेछन् । जो हिजो पनि भएको थियो, आज पनि हुनेछ भविष्यमा पनि हुने कुरामा शङ्का गर्न सकिँदैन । तसर्थ नेपाली खेलकुदको जग हसाउने परम्परा भोलि पनि कायम नरहला भन्न सकिँदैन ।

खेल समाचार

‘एनबीए’ नेपाल कपमा तेह्र टिम
स्पोर्टस् फर अल क्लबको आयोजनामा ‘एनबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगिता यही पुस २५ देखि त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने भएको छ । प्रतियोगितामा १३ टिमको सहभागिता रहने आयोजकका अध्यक्ष लोकबहादुर शाहीले जानकारी गराएका छन् । नकआउटको आधारमा खेलाइने उक्त प्रतियोगिता आगामी माघ ३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले गर्ने अध्यक्ष शाहीेले जानकारी गराएका छन् । प्रतियोगितामा ‘ए’ डिभिजनका मनाङमस्र्याङ्दी, नेपाली सेना, एनआरटी, ब्वाइज युनियनलगायत आदिवासी फुटबल क्लब, मदन भण्डारी स्पोर्टस् एकेडेमी, फोर्टी प्लस भेट्रान टिम, क्लब मोसिस, सानो गौचरण नाइट किङ क्लब, सिभिल बैंक रातो र नीलो रहेका छन् । प्रतियोगितामा पूर्वाञ्चल भेट्रान टिम, पश्चिमाञ्चलको पोखरा भेट्रान टिम तथा कालिम्पोङ र दार्जिलिङको भेट्रान टिम, नेपाल प्रहरी र एपीएफलाई आमन्त्रण गरिए पनि प्राविधिक कारणबस सहभागिता नजाउने भएका
छन् ।
नौ दिनसम्म चल्ने प्रतियोगिताको अनुमानित बजेट १७ लाख १५ हजार रुपैयाँ रहेको छ । खेल ७० मिनेटको हुनेछ । प्रत्येक टिमले सात ‘सब्स्टिच्युट’ खेलाडी राख्न पाउनेछन् । टिममा सहभागी खेलाडीको उमेर ४० वर्ष पूरा भएको हुनुपर्ने प्रावधान रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा नेपाल बैंकर्स एसोसिएसन (एनबीए) रहेको छ । स्पोर्टस् फर अल क्लबले यसअघि जनकपुरधाम र इलामको फिक्कलमा नगद पुरस्कारको नेपाल कप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ । प्रतियोगिताको समापनका अवसरमा पूर्व राष्ट्रिय फुटबलरद्वय वाईबी घले र श्रीराम रञ्जितकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

ओलम्पिकका लागि ६ खेलाडीलाई छात्रवृत्ति
आउँदो वर्ष ब्राजिलमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताका लागि ६ जना नेपाली खेलाडीले विशेष प्रशिक्षणका लागि छात्रवृति पाएका छन् । सो कुरा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले पत्रकार सम्मेलनमा खेलाडीलाई प्रमाणपत्र प्रदान गर्दै जानकारी गराएका हुन् । छात्रवृत्ति पाउने खेलाडीमा संगीना खड्का (एथलेटिक्स), सरस्वती राना (बक्सिङ), फुपुलामु खत्री (जुडो), नीरा रावल (तेक्वान्दो) र शिरिष गुरुङ र सोफिया शाह (पौडी) रहेका छन् । प्रत्येक खेलाडीलाई ओलम्पिक कमिटीले मासिक ६ सय ७० अमेरिकी डलर प्रदान गर्नेछ । छात्रवृत्ति पाएका खेलाडीले ग्रीष्मकालीन ओलम्पिकको छनोट चरणअघिसम्म स्वदेश र विदेशमा रहेर प्रशिक्षण गर्नुपर्नेछ । नेपालको ओलम्पिक तयारी आइतबारदेखि सुरु हुने बताउँदै खेलाडीको छनोट राष्ट्रिय सङ्घको सिफारिसमा गरिएको प्रधानले बताएका थिए । प्रधानले उनीहरूको विशेष प्रशिक्षण दक्ष प्रशिक्षकबाट हुने जानकारी गराएका थिए ।

पीडित बोहरालाई स्पोर्टस् युनिभर्सको प्रोत्साहन
बानेश्वरस्थित खेल सामग्री बिक्री गर्दै आएको स्पोर्टस् युनिभर्सले सामूहिक बलात्कार पीडित पूजा बोहरालाई प्रोत्साहनस्वरूप तेक्वान्दो खेल सामग्री प्रदान गरेको छ । उक्त घटनापछि तेक्वान्दो खेल्न थालेकी पूजालाई युनिभर्सका प्रोप्राइटर एवम् ओलम्पियन दीपक विष्टले २० हजार मूल्यबराबरको खेल सामग्री लैनचौरस्थित रक्षा नेपालमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् । साथै विष्टले रक्षा नेपालमा तेक्वान्दो खेल्ने खेलाडीलाई छुट्टै ८० हजार मूल्यबराबरको तेक्वान्दो सामग्री पनि सोही अवसरमा हस्तान्तरण गरेका थिए । पूजा दक्षिण कोरियाको मुजु सहरमा सन् २०१४ मा सम्पन्न विश्व एक्स्पो तेक्वान्दोअन्तर्गत एकल पुम्सेकी स्वर्ण विजेता हुन् । पूजा हाल रक्षा नेपालमा आश्रित छिन् ।

दक्षिण एसियाली मार्सल आर्ट माघमा
स्टुडेन्ट ओलम्पिक सङ्घ नेपालको आयोजनामा प्रथम दक्षिण एसियाली मार्सल आर्ट च्याम्पियनसिप माघ १ गतेदेखि हुने भएको छ । च्याम्पियनसिपमा विभिन्न पाँच खेलको प्रतिस्पर्धा हुने आयोजकका महासचिव पुरुषोत्तम बुढाथोकीले जानकारी गराएका थिए । च्याम्पियनसिपमा कराते, मुवा थाई, किकबक्सिङ, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, भुटान, श्रीलंका र बंगलादेश गरी ६ राष्ट्रका करिब पाँच सय खेलाडीको सहभागिता रहने आयोजकले जानकारी गराएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने दुईदिने प्रतियोगितामा ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

रनिङ सिल्ड ब्याडमिन्टन भक्तपुरमा
भक्तपुरस्थित ब्यासी ब्याडमिन्टन क्लबले आफ्नो स्थापना दिवसको उपलक्षमा विगत तीन वर्षदेखि शिक्षासेवी शिवभक्त वासुकलाको नाममा आयोजना गर्दै आइरहेको ‘शिवभक्त वासुकला स्मृति कप भक्तपुर जिल्लाव्यापी रनिङ सिल्ड प्रतियोगिता’ यस वर्ष पुस २६ गतेदेखि आयोजना गर्न लागेको छ । जिल्लामा रहेका ब्याडमिन्टन खेलाडीलाई एकै थलोमा उभ्याउने उद्देश्यले ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आइरहेको क्लबले यस वर्षदेखि नयाँ खेलाडी उत्पादनलाई समेत ध्यानमा राख्दै भक्तपुर जिल्लव्यापी माविस्तरीय छात्र तथा छात्रा एकल ब्याडमिन्टन प्रतियोगितालाई पनि समावेश गर्ने जमर्को गरेको आयोजक समितिले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
ब्यासीस्थित आफ्नै कोर्टमा आयोजना हुने प्रतियोगितामा भक्तपुरभित्र रहेका क्लब, सहकारी संस्था, स्वास्थ्य संस्था र विद्यालयले पुस २२ गतेभित्र आफ्नो नाम दर्ता गराइसक्नुपर्ने प्रतियोगिता संयोजक कृष्णप्रसाद वासुकलाले जानकारी गराएका छन् । प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सभासद् नारायणमान बिजुक्छेबाट हुनेसमेत विज्ञप्तिमा जनाइएको छ ।

एकेडेमी स्थापना दिवसमा वाकाथन
मदन भण्डारी स्पोर्टस् एकेडेमीले आफ्नो छैटौँ स्थापना दिवस तथा अङ्ग्रेजी नयाँ वर्षको उपलक्ष्यमा वाकाथन प्रतियोगिताको आयोजना गरेको छ । वाकाथनको नेकपा एमालेका अध्यक्ष एवम् एकेडेमीका संरक्षक केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूतले संयुक्त रूपमा उद्घाटन गरेका थिए । पाटन दरबार स्क्वायरबाट सुरु भएको वाकाथन पुल्चोक, हरिहरभवन, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड गेट हुँदै वसन्तपुर दरबार स्क्वायरमा पुगेपछि सभामा परिणत भएर टुङ्गिएको थियो । सभालाई नेतृ विद्यादेवी भण्डारी, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायतले सम्बोधन गरेका थिए । वाकाथनमा एक हजार पाँच सयभन्दा बढीले सहभागिता जनाएको एकेडेमीका महासचिव पुरेन्द्रविक्रम लाखेले जनाएका छन् । वाकाथनमा सहभागी सबैलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । वाकाथानका दौरान सहभागीले निर्धारित समयमै संविधान जारी गर्न ध्यानाकर्षण गराउने उद्देश्यले ठाउँ ठाउँमा नारासमेत लगाएका थिए ।

पारा तेक्वान्दो खेलाडीलाई प्रोत्साहन
लायन्स क्लब अफ काठमाडौं क्यापिटल सिटीले नेपाल पारा तेक्वान्दो सङ्घका पारा तेक्वान्दो खेलाडीलाई प्रोत्साहनस्वरूप ट्रयाकसुट र खेल सामग्री बुधबार प्रदान गरेको छ । लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ बी २ नेपालका प्रथम भाइस डिस्ट्रिक गभर्नर डीके ढुङ्गाना, लायन्स क्लब अफ काठमाडौंका अध्यक्ष प्रह्लाद दाहालले १५ खेलाडी तथा दुई प्रशिक्षक कल्याण कुँवर र राजेन्द्र खत्रीलाई सामग्री हस्तान्तरण गरिएको थियो । एकजनाले एक हजार ६ सय मूल्यबराबरीको सामग्री प्राप्त गरेको पारा तेक्वान्दो सङ्घका अध्यक्ष जर्नाजन ढुङ्गेलले जनाएका छन् । सो अवसरमा ढुङ्गानाले पारा तेक्वान्दो खेलाडीका लागि जुलाई ३१ देखि लागू हुने गरी एक वर्षका लागि आर्थिक सहयोगस्वरूप प्रतिमहिना तीन हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

विकलाङ्गलाई बानेश्वर क्लबको सहयोग
बानेश्वर युवा क्लबले सातजना अपाङ्गलाई ह्विलचियर प्रदान गरेको छ । बानेश्वर युवा क्लबका सचिव सत्यनारायण मानन्धर र कोषाध्यक्ष राजीव श्रेष्ठले आफ्नोतर्फबाट र उनीहरूको पहलमा अस्ट्रेलियामा रहेकी बहिनी ललिता श्रेष्ठमार्फत करिव एक लाख १९ हजारबराबरको सात थान ह्विलचियर खगेन्द्र नवजीवन जोरपाटीका अपाङ्गहरूलाई प्रदान गरेका हुन् । उक्त ह्विलचियर काठमाडौं क्षेत्र नं. २ का सभासद् दीपक कुइँकेलले अपाङ्गहरूलाई हस्तान्तरण गरेका थिए । सहयोग प्राप्त गर्नेहरूमा सरस्वती शाही, रिमा शाही, सरस्वती गुरुङ, सीता श्रेष्ठ, सन्तोषी राउत, पुतली तामाङ र विष्णु भण्डारी रहेका छन् ।
उक्त अवसरमा बोल्दै सभासद् कुइँकेलले युवाहरू खेलकुदमा मात्र सीमित नरही सामाजिक कार्यमा समेत लागेमा समाजिक विकासलाई टेवा पुग्न जाने र राष्ट्र निर्माणमा सहज हुने बताए । क्लबका सचिव एवम् समाजसेवी सत्यनारायण मानन्धरले खेलकुद र विविध कार्यमार्फत सामाजिक कार्यमा कार्यरत रहे तापनि फरक क्षमता भएका व्यक्तिलाई सहयोग गर्न पाएकोमा खुसी लागेको भन्दै यस कार्यले अन्यबाट पनि समाजमा रहेका अशक्तहरूलाई सहयोगको हात बढ्नेमा आफू विश्वस्त रहेको बताए । खगेन्द्र नवजीवनका प्रमुख सूर्य गुरुङले यस्ता सहयोगले समाजमा रहेका अन्य व्यक्तिलाई समेत सामाजिक सेवामा लाग्न प्रेरण पुग्ने बताए ।

विवादका कारण खेलाडी मारमा
खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को आन्तरिक विवादका कारण थाइल्यान्डको फुकेटमा सञ्चालन भएको १६औँ विश्व पेनकेक सिलात मार्सल आर्ट प्रतियोगितामा सहभागिता जनाउन खेलाडी तथा प्रशिक्षक वञ्चित भएका छन् । उक्त कुरा हालै नेपाल पेनकेक सिलात मार्सल आर्ट सङ्घले पत्रकार सम्मेलनमा जानकारी गराएको हो । उनीहरूले राज्यकै कारण प्रतियोगितामा आफूहरू सहभागी हुन नपाएकोमा आपत्ति प्रकट गरेका छन् । सङ्घका अध्यक्ष लायन टी. ठकुरीले उक्त प्रतियोगिता नेपाली खेलाडीका लागि अत्यन्तै महत्वपूर्ण अवसर भएको चर्चा गर्दै सरकारको मौनताले आफूलाई निकै कुठाराघात भएको बताएका छन् । उनले खेलाडीहरू राष्ट्रको भएको चर्चा गर्दै उनीहरूको भविष्यमाथि खेलवाड हुनु आफूले बुझ्न नसकेको बताएका छन् ।