अन्तरविचारहरू

अन्तरविचारहरू


antarbicharयतिसम्म गर्लान् भन्ने हामीले कल्पनै गरेनौँ– बद्री न्यौपाने (पूर्वमन्त्री एवम् चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष)
डा. बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वकालमा महिला तथा बालबालिकामन्त्रीको जिम्मेवारी निर्वाह गरेका बद्रीप्रसाद न्यौपाने हाल चुरेभावर राष्ट्रिय एकता पार्टीको कमाण्ड सम्हालिरहेका छन् । स्थापनाकालदेखि नै विभिन्न विवाद र टुटफुटको शिकार बन्दैआएको चुरेभावर पार्टी यतिबेला एकपटक पुनः चर्चामा आएको छ । संविधान निर्माण प्रक्रिया अबरुद्ध बनिरहेका वर्तमान परिवेशमा समस्या निकासको कुनै सुत्र दिएर या यस्तै कुनै देशहितको काम गरेर भने चुरेभावर चर्चामा आएको नभई सर्वोच्च अदालतका न्यायाधीशको हत्याजस्तो बहुचर्चित आपराधिक मामलासँग जोडिएर कुनैबेला सो पार्टीको उपाध्यक्ष रहिसकेका व्यक्तिको नाम सार्वजनिक भएबाट चुरेभावर पार्टी एकपटक फेरि चर्चित बन्न पुगेको हो । वास्तवमा न्यायाधीशका हत्यामा मुछिएका व्यक्ति र चुरेभावर पार्टीबीचको कनेक्सन के हो भन्नेलगायतका सवालमा चुरेभावर अध्यक्ष बद्री न्यौपानेसँग गरिएको कुराकानीको सम्पादित अंश ः

० चुरे भावर पार्टी आफ्नो जन्मकालदेखि नै जति चर्चामा रह्यो, उत्तिकै विवादमा पनि पर्ने गरेको छ, किन होला ?
– यो पार्टी ऐतिहासिक कालखण्डमा विशेष परिस्थितिवश जन्मिएको पार्टी हो । हिजो विखण्डनको खतराबीच तराई जलेको बेला उक्त खतरालाई रोक्न समाजका सबै क्षेत्र र तहका नागरिकको सहभागितामा यसको स्वतस्फूर्त जन्म भएको थियो । सुरुमा एक आन्दोलनको रूपमा पैदा भएको चुरे भावर एकता समाजले पछि गएर जातीय सद्भावका साथ नेपाल र नेपालीको सिङ्गो अस्तित्व जोगाउनुपर्छ भन्ने उद्देश्यका साथ पार्टीको रूप लिएको थियो । चरण–चरणको आन्दोलनका क्रममा सरकारले तीनबुँदे, पाँचबुँदे, नौबुँदे सम्झौता यस पार्टीसँग गरे पनि एउटै सम्झौता पनि कार्यान्वयन नगरेकाले बेला–बेला सरकारलाई घचघच्याउन हामी बाध्य हुन्छौँ । यसले नै चुरे भावर पार्टीलाई चर्चा र विवादमा पारेको हुनसक्छ ।
० राजनीतिकभन्दा पनि आपराधिक व्यक्तिविशेषहरूसँग जोडिएर बढ्ता विवादमा तानिने गरेको देखिन्छ नि त ?
– तराईमा जतिबेला राष्ट्रिय झन्डा जल्न थाल्यो, कुनै समुदायविशेषमाथि अवाञ्छित हमला हुन थाल्यो, त्यस्तो अवस्थामा हरेक दल, हरेक क्षेत्र, वर्ग, पेसा र तह–तप्काका नागरिक एकै ठाउँमा गोलबन्द भई ज्यादती गर्ने तत्वविरुद्ध एकै ठाउँमा उभिन पुगे । त्यसलाई चुरे भावर आन्दोलनको नाम दिइयो, जसमा को–कस्ता व्यक्ति कहाँ–कहाँबाट समावेश भए भनी लेखाजोखा राख्ने आवश्यकता र सम्भावना नै रहेन । तराईमा पहाडे समुदायमाथि आफूलाई मधेसी दाबी गर्ने केही अराजक समूहले ज्यादती गरेकाले ज्यान जोगाउनकै लागि पनि त्यसको विरुद्ध एक ठाउँ उभिनु सम्बन्धित सबैको कर्तव्य र आवश्यकता नै बनेको थियो । यसक्रममा चुरे भावर आन्दोलनले अकल्पनीय उचाइ लियो र पछि पार्टीमा परिणत भयो । पहिलो संविधानसभाको निर्वाचनमा यस पार्टीका उम्मेदवारहरू प्रत्यक्षतर्फ थोरबहुत मतले पराजित भए पनि समानुपातिक कोटाबाट एक सिट हासिल गरी पार्टीले संविधानसभामा प्रतिनिधित्व ग-यो । पार्टीका तत्कालीन अध्यक्ष केशव मैनालीको एक्लो आवाजले पनि संविधानसभामा बेग्लै अस्तित्व राख्यो । त्यसपछि त चुरे भावरलाई कमजोर तुल्याउन अनेक खेल सुरु भए । कहाँनेरबाट टुटफुट र कमजोर गराउन सकिन्छ भन्दै आन्तरिक तथा बाह्य चलखेलहरू भए । भावर आन्दोलनसँग जोडिएका–नजोडिएका अनेक पात्रहरूमा महत्वाकाङ्क्षाको विजारोपण गर्ने–गराउने षड्यन्त्रहरू भए । यसैको सिकारस्वरूप अनेक पात्रमार्फत विवादमा पर्ने–पारिने खेलहरू पनि भएको हो ।
० स्थानीय आवश्यकताबाट जन्मिएको तपाईंको पार्टीलाई भारतविरोधी दलको रूपमा पनि आरोपित गरिन्छ, चुरे भावर पार्टी भारतविरोधी नै हो त ?
– यो एकदम फजुल आरोप हो । हाम्रो पार्टी किमार्थ मित्रराष्ट्र भारतको विरोधी होइन र हुनुपर्ने कारण पनि छैन । हाम्रो आफ्नो मुलुकभित्र स्वतन्त्रता र स्वाभिमानको मुद्दा उठाएको र त्यस मुद्दाप्रति आमजनताको व्यापक चासो र साथ–समर्थन रहेको देखेपछि त्यो सहन नसक्ने तथा तराईमा मिलेर बसेका विभिन्न जातजाति वा समुदायलाई फुटाएर द्वन्द्व मच्चाउन चाहने अवाञ्छित तत्वले हामीमाथि छिमेकी मित्रदेशको नजर बक्र तुल्याइदिने दुर्नियतले जबर्जस्ती यस्तो प्रपोगण्डा मच्चाइदिएको हो भन्ने मेरो बुझाइ छ । हिमाल, पहाड र तराई तीनै स्थानमा बस्ने हामी नेपाली हौँ । हामीले छिमेकी भारतविरुद्ध एजेन्डा उठाएकै होइन, हामीले त मुलुकको प्रादेशिक विभाजन हुँदा व्यावहारिक रूपले न्यायोचित हुनुपर्छ र कुनै पनि गैरनेपालीलाई नागरिकता प्रदान गरिनुहुन्न भन्ने कुरा मात्र गरेका थियौँ । तर, यसलाई दुर्नियतवश बङ्ग्याएर प्रचार गरियो । हाम्रो पार्टीको विधान, कुनै पनि दस्तावेज एवम् चुनावी घोषणापत्रमा मित्रदेश भारतको विरोधमा या त्यस्तो अर्थ लाग्ने एक शब्द पनि प्रयोग गरिएको छैन । हाम्रा लागि सबै छिमेकी देश मित्रवत् छन् ।
० आफूलाई चुरे भावर आन्दोलन या पार्टीसँग जोड्न चाहने व्यक्तिहरू विभिन्न आपराधिक घटनामा संलग्न भएको कुरा सार्वजनिक भएको छ, सर्वोच्च अदालतका न्यायाधीशकै हत्या–मामलामा समेत चुरे भावरसँग नाम जोडिएको व्यक्तिको संलग्नता देखियो । तपाईंको पार्टी अपराधीहरूकै जमात हो कि पार्टी सञ्चालनका लागि अपराधीहरू पनि आवश्यक पर्छ भनी यस्ता व्यक्ति प्रवेश गराइएका हुन् ?
– कोही व्यक्ति अपराधी छ भने जानाजान त्यस्तालाई सायद कुनै पनि दलले पार्टीको सदस्य बनाउँदैन होला । कमसेकम हामी त अपराध र आपराधिक तत्वबाट पार्टीलाई मुक्त राख्नुपर्छ भन्ने मान्यता राख्छौँ । जहाँसम्म न्यायाधीश हत्याको मामलामा जोडिएर कारबाहीप्रक्रियामा रहेका बाबु थापाको सवाल छ, उनी चुरे भावर आन्दोलनको सुरुदेखि नै अग्रपङ्क्तिमा रही आन्दोलनमा होमिएका व्यक्ति हुन् । पारिवारिक पृष्ठभूमिको कुरा गर्नुपर्दा सर्लाही जिल्लास्थित ढुङ्ग्रे गाविसनिवासी एक सामान्य किसानका छोरा हुन् ती । उनी कुनैबेला भारतीय सेनामा काम गर्थे भन्ने सुनिएको हो । तराईमा पहाडे समुदायका नागरिकमाथि हत्या, बलात्कार, अपहरण तथा अन्य विविध प्रकारका ज्यादती भएको बेला त्यसको प्रतिकारमा स्वतस्फूर्त रूपमा उनी पनि उत्रिएका थिए । त्यहाँ को कुन पृष्ठभूमिका र को कति विद्वान् या गँवार, विवेकी–अविवेकी, अपराधी या सत्जन भनी छ्यानविचार गरिरहने सवाल नै थिएन भनेर त मैले भनिसकेँ । त्यतिबेला उनको पर्फर्मेन्स यस्तो लडाकुजस्तो थियो कि त्यो लडाकुपनकै कारण पछि पार्टी गठन हुँदा उनलाई उपाध्यक्षको जिम्मेवारी मिलेको थियो । म सचिव थिएँ । मुलुक र जनताको पक्षमा त्यत्रो महत्वपूर्ण भूमिका निर्वाह गरेका, ०६४ को संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएका व्यक्ति यस्तो अपराधी हुन सक्लान् भन्ने कल्पना त हामीले गर्ने कुरै थिएन नि †
० कुनै बेला पूर्वअध्यक्ष केशव मैनालीका छोरा र तपाईं स्वयम् पनि उनको आक्रमणको सिकार बन्नुभएको होइन र ?
– पूर्वअध्यक्ष मैनालीका छोरा समीर मैनालीमाथि किन आक्रमण गरे थाहा भएन, तर जुन आक्रमण गरियो त्यो अत्यन्त निन्दनीय प्रकारको थियो । जहाँसम्म ममाथि बाबु थापाले आक्रमण गरेको सन्दर्भ छ, यसमा चाहिँ भएको के थियो भने, राजनीतिक प्रतिस्पर्धा र उतारचढावबीच सभासद् मैनालीले संविधानसभा सदस्य पदबाट बीचैमा हात धुनुप-यो । त्यसरी रिक्त हुन आएको स्थानमा पार्टीबाट कसले प्रतिनिधित्व गर्ने भन्ने सवालमा छलफल चल्यो र कुरा नमिलेपछि त्यसले विवादकै रूप लियो । पार्टीका अधिकांश सदस्यले मेरो नाम सिफारिस गरेपछि बाबु थापा असन्तुष्ट बन्न पुगे अनि त्यही असन्तुष्टिको प्रतिक्रियास्वरूप ममाथि एकपटक आक्रमण गरेकै हुन् । तर, त्यो घटना त्यति बढाइचढाइ गरिरहनुपर्ने खालको नभएको र म सभासद् भएपछि स्वतः त्यसैबेला नै सामसुम भइसकेको हो ।
० तपाईंसँगको विवादपछि बाबु थापाले आफ्नो अध्यक्षतामा अलग्गै पार्टी पनि बनाए कि ?
– उनको महत्वाकाङ्क्षा असामान्य रूपले बढेको र पार्टीको हित र अनुशासनविपरीतका क्रियाकलाप बढ्न थालेको भन्दै पार्टीले साधारण सदस्यता पनि नरहने गरी ०६८ सालमा कारबाही गरेको हो । त्यसपछि चुरे भावर पार्टीसँग कुनै सम्बन्ध नराखी उनी जिल्लामा आफ्नै धन्दा–व्यवसाय गरी बसेको भन्ने मात्र बुझेको हुँ मैले ।
० अत्यन्त ठूलो र जघन्य हत्याकाण्डका प्रमुख योजनाकारको रूपमा बाबु थापाको संलग्नता पुष्टि भइसकेको र ती पात्र कुनै बेला तपाईंको पार्टीका उपाध्यक्ष रहिसकेको सन्दर्भमा यतिबेला कस्तो अनुभूति गरिरहनुभएको छ तपाईं ?
– नेपालमा ठूलाठूला पार्टीमा ठूलाठूलै जिम्मेवारी सम्हालिसकेका व्यक्तिहरू पार्टी छोडेर अर्कोमा गएका, राजनीतिबाटै सन्न्यास लिएर सार्वजनिक जीवन परित्याग गरेका, आफ्नै निजी व्यवसायमा रमाएका या हराएका अनेक उदाहरण छन् । मेरै कुरा गर्ने हो भने म नेपाली काङ्ग्रेस पृष्ठभूमिबाट उठेर यतिबेला चुरे भावरको अध्यक्ष छु । त्यसैले कुनै व्यक्ति कुनै पार्टीमा सक्रिय रहेकै बेला कुनै राम्रो या नराम्रो काममा जोडिएर आउँछ भने त्यसबारे पार्टीले जिम्मेवारी लिनु स्वाभाविक हुन्छ, लिनु पनि पर्छ । तर, पार्टी छोडेर सबै नाता–सम्बन्ध नै तोडेर आफ्नै धन्दामा रहेको व्यक्तिले कतिबेला कहाँ के–के गरिरहेको हुन्छ, त्यसको जिम्मेवारी त कसरी पार्टीले लिन सक्छ र ? अनि कुनैबेला पार्टीमा जोडिएको थियो भन्दैमा उसको राम्रो या नराम्रो कर्मको भागीदार सम्बन्धित दल कसरी हुन सक्छ र ? यस्तो यथार्थ बुझ्दैनबुझी या बुझ्ने कोसिस नगरी कतिपय मिडियाकर्मीले समेत ‘चुरे भावरको उपाध्यक्ष नै न्यायाधीशको हत्यारा’ भन्दै भ्रमपूर्ण प्रचार गरेको देख्दा मलाई दुःख लागेको छ ।
० आफू गृह राज्यमन्त्री बन्न लाग्दा सर्वोच्चका न्यायाधीश रणबहादुर बमको फैसलाकै कारण त्यो अवसरबाट वञ्चित हुनुपरेकाले प्रतिशोधमा न्यायाधीश बमको हत्या गरेको बयान बाबु थापाले प्रहरीसमक्ष दिएका रहेछन्, के तिनी मन्त्री बन्ने सपना देख्न लायक पात्र थिए, या यो देशमा गृहमन्त्री÷मन्त्री या राज्यमन्त्री हुन कुनै क्षमता या औकात नै नचाहिने रहेछ, के भन्नुहुन्छ ?
– उनमा मन्त्री बन्ने महत्वाकाङ्क्षा जाग्यो होला, कसैद्वारा जगाइएको पो थियो कि † यसबारे म केही जान्दिनँ । बाबु थापाले मात्रै मन्त्री बन्ने सपना देख्न नहुने या त्यस्तो महत्वाकाङ्क्षा पाल्न नहुने भन्ने अधिकार पनि मसँग छैन ।
० नेपालका राजनीतिक दलहरूले गुण्डा, माफिया तथा आपराधिक व्यक्तिहरूलाई पार्टीमा रेड कार्पेट ओछ्याएर भित्याउने, तिनलाई संरक्षण या प्रश्रय दिने काम निकै गर्न थाले भन्ने आरोप त त्यसै लागेको होइन रहेछ, हो कि ?
– कुन दलले के–कस्ता व्यक्तिलाई भित्याए र प्रश्रय दिए भन्नेबारे मलाई ज्ञान छैन । मैले केचाहिँ बुझेको छु भने मुलुकको विधान या कानुन हरेक नागरिकले पालना गर्नुपर्छ । कानुनभन्दा माथि कोही पनि छैन । दलहरूले पनि मुलुक र आफ्नो पार्टीको विधानअनुरूप क्रियाकलाप सञ्चालन गर्नुपर्छ । राजनीतिक दलले आपराधिक तत्व वा व्यक्ति–समूहलाई सञ्चालन गर्नु या गर्ने सोच बनाउनु हुँदैन । यसले देशलाई सभ्य, सुसंस्कृत र समृद्ध तुल्याउने अभियानमा ठेस पुग्छ । पार्टी सदस्यको खोल ओढेर कसैले गैरकानुनी काम गर्छ भने उसमाथि उचित दण्ड सजाय हुनुपर्छ भन्ने मेरो प्रस्ट मान्यता छ ।
० विषय बदलौँ, राज्य पुनर्संरचनाको विवादले संविधान निर्माण प्रक्रिया नै अवरुद्ध बनेको अवस्था छ, यसबारे तपाईंको पार्टीको के धारणा छ ?
– यो देशमा बढीमा ६ वटा प्रदेश हुनुपर्छ र राष्ट्रिय अखण्डता, सार्वभौमिकता, स्वाधीनता, नेपाल र नेपालीको अस्तित्वको अक्षुण्णता र जातीय सद्भाव कायम राख्नका लागि उत्तरको चीन र दक्षिणी छिमेकको भारतलाई छोएका बढीमा ६ वटा प्रदेशसहितको सङ्घीयता हुनुपर्छ भन्ने हाम्रो पार्टीको सुरुदेखिकै स्पष्ट धारणा छ । अझ प्रस्टसँग भन्नुपर्दा कोसीपूर्व उत्तर–दक्षिण छोएको बराह प्रदेश, कमला नदीपूर्व हलेसी प्रदेश, कमला नदीपश्चिम जानकी प्रदेश, नारायणी खोलापारि लुम्बिनी प्रदेश, कर्णाली नदीपारि खप्तड प्रदेश र काठमाडौं उपत्यकाचाहिँ बागमती प्रदेश या केन्द्रशासित रहनुपर्ने खाका हामीले प्रस्तुत गरेका छौँ । यस्तै शासकीय स्वरूपमा संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद्बाटै निर्वाचित संवैधानिक राष्ट्रपति हुनुपर्ने र मिश्रित निर्वाचन प्रणाली हुनुपर्नेजस्ता अवधारणा हाम्रो पार्टीले सार्वजनिक गरिसकेको छ । तर, संविधानसभामा भाग लिएका एक सय २२ दलको अस्तित्वलाई चुनौती दिँदै सत्तापक्षीय जम्मा तीस दल र ती तीसमा पनि तीन–चारवटा प्रमुख भनिएका दलहरूले हामी र हामीजस्ता अन्य सयौँ दलको आवाजलाई जबर्जस्ती दबाउने प्रयत्न गरिरहेको अनुभूति हामीले गरेका छौँ ।
० यसको मतलब माघ ८ मा संविधान आउँदैन, हो ?
– मुख्य दलहरूको रवैया हेर्दा उनीहरू समयमै संविधान बनाउने पक्षमा छन् जस्तो लाग्दैन । आफ्नो एजेन्डाबाट पछि हट्न कोही तत्पर नदेखिएकाले यस्तो लागेको हो । धर्मनिरपेक्षतालगायतका विवादित विषयलाई जनमतसङ्ग्रहमा लगेर टुङ्ग्याउन तयार नभएसम्म विवाद मत्थर हुनुको साटो झन्–झन् बल्झिने सम्भावना छ । तर, यहाँ ‘चमत्कार’ पनि हुने गरेकाले माघ ८ सम्ममा संविधानको मस्यौदासम्म ल्याउँछन् कि भन्ने पनि लाग्छ । तोकिएको समयभित्र मस्यौदारूपी खेस्रो मात्रै ल्याउन सकेछन् भने पनि दलहरूको ठूलै सफलता मान्नुपर्ने हुन्छ ।

अन्तरविचार–२
पूर्वप्रहरीबाट उत्कृष्ट गृहमन्त्री हुन सक्छन्– वसन्तराज कुँवर
वसन्तराज कुँवर नेपाल पूर्वप्रहरी सङ्गठनका अध्यक्ष हुन् । प्रहरी सेवामा रहँदादेखि नै सिर्जनशील अधिकृतको रूपमा नाम कमाएका कुँवरबाट पूर्वप्रहरीहरूले थुप्रै अपेक्षा राखेका छन् । के ती अपेक्षा कुँवरले पूरा गर्न सक्लान् ? उनको नेतृत्वमा रहेको पूर्वप्रहरी सङ्गठनले नेपाली जनता र राष्ट्रका लागि के महत्व वा अर्थ राख्दछ ? यिनै जिज्ञासाको पेरिफेरीमा रही कुँवरसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।
० नेपाल पूर्वप्रहरी सङ्गठनलाई पूर्वप्रहरीहरूले कसरी हेर्ने ?
– भनिन्छ, कलियुगमा सङ्गठन नै शक्ति हो । यदि देशभर छरिएर रहेका लाखौँ पूर्वप्रहरी आफूलाई यस देशको शक्तिको रूपमा मान्छन् या हेर्छन् भने तिनका लागि यो सङ्गठन शक्तिको स्रोत हो । दुःखमा परेका पूर्वप्रहरीका लागि साथी हो । अन्यायमा परेका पूर्वप्रहरीका लागि यो सङ्गठन हतियार हो । कल्याणका कार्यहरू गराउन दबाब दिने कार्यालय हो । आर्थिक, सामाजिक हैसियत अभिवृद्धि गराउन सहयोग गर्ने निकाय हो र सबैभन्दा ठूलो कुरा यो ठाउँ पूर्वप्रहरीले दुःख–सुख बाँड्ने थलो पनि हो ।
० जनता र समाजले पूर्वप्रहरीलाई कसरी हेर्नुपर्ला नि ?
– वर्षौंवर्ष जनताको सेवा गरेका, जनताको जीवनलाई नजिकबाट नियालेका, तिनका समस्यालाई चौकीस्तरदेखि प्रधानमन्त्री र राष्ट्रपति भवनसम्ममा ड्युटी गर्दा बुझेका, चुनावमा लाइन लागी भोट हाल्नेहरूका अपेक्षा जानेका, सलामीदेखि मलामीसम्म र विवाहदेखि आन्दोलनसम्मका साक्षी रहेका, समाज परिवर्तनको प्रक्रियालाई गहिरो रूपमा बुझेका, यो समाजमा को चोर, को फटाहा, को भ्रष्ट, को इमान्दार र को क्षमतावान छन् भनेर राम्रैसँग पर्गेलेका, जनताका लागि ज्यानको बलिदान दिने एक व्यावसायिक, सच्चा राष्ट्रभक्त र समाजसेवक यी पूर्वप्रहरी हुन् भनेर जनताले बुझ्दा ठीक होला ।
० पूर्वप्रहरीहरू राष्ट्र र समाजका लागि याति धेरै महत्वपूर्ण समूह रहेछन्, तर राष्ट्र र समाजले त मानेका देखिँदैन नि ?
– हो, यही बिन्दुमा हाम्रो ध्यानाकर्षण भएको छ । यो विषयलाई प्रत्येक पूर्वप्रहरीले पनि गम्भीरतापूर्वक लिनुपर्छ । ‘पूर्व’ भएपछि काम गरेको आफ्नै सङ्गठनले पनि पूर्वप्रहरीहरूलाई महत्वहीन समूह ठानेका हुन सक्छन् । सरकारले काम नलाग्ने समूह, राजनीतिक दलले पदका लागि हाम्रा अघि–पछि दगुर्ने समूह र अन्तर्राष्ट्रिय समूहले हामीलाई प्रभावहीन जमात मानेको पनि हुन सक्छ । तर, ती सोचहरू गलत हुन् । वास्तवमै भन्नुपर्दा विगतमा पूर्वप्रहरी सङ्गठनले पूर्वप्रहरीहरूको सामाजिक, आर्थिक, राजनीतिक हौसियत वृद्धि गराउन योजनाबद्ध रूपमा काम नगर्नाले नै आज यो स्थिति आएको हो । पूर्वप्रहरीहरू अवकाशपश्चात् आफ्नो बुद्धि र क्षमताको चिप्स दिमागबाट निकाली प्रहरी प्रधान कार्यालयमा बुझाएर मूर्ख भई समाज फर्किएका समूह होइनन् । हाम्रो चिप्स क्षमता, साहस, व्यावसायिकता र राष्ट्रियताको भावना हाम्रो साथमै छ भनेर सरकार, प्रहरी विभाग र राजनीतिक क्षेत्रले पनि बुझ्नुपर्छ । हामी पनि यही बुझाउन योजनाबद्ध रूपमा काम गर्दै छौँ ।
० पूर्वप्रहरी सङ्गठनलाई बलियो पार्न के योजना छ नि तपाईंको ?
– यो कुरा टिमले गर्ने हो । हामी सबै एउटा बिन्दुमा सहमत भएका छौँ, त्यो के भने जबसम्म हाम्रो सङ्गठन आर्थिक रूपले बलियो हुँदैन तबसम्म यसले आफ्नो र अरूको कल्याण गर्ने सोचसम्म पनि राख्न सक्दैन । आर्थिक रूपले सम्पन्न हुने विभिन्न बाटाहरू हुन सक्छन् । हामीले अवलम्बन गर्न सक्ने एउटा महत्वपूर्ण बाटोचाहिँ यो छ कि सर्वप्रथम पचहत्तरै जिल्लामा पूर्वप्रहरीलाई सहकारी गठन गर्न लगाइसक्ने रकम आफैँबाट जुटाउन पहल गर्दै छु । त्यसपश्चात् चौध अञ्चलमा आधुनिक सवारी ड्राइभिङ स्कुल र पाँच क्षेत्रमा ब्रिजकोर्स सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाउँदै छु । जब पचत्तरै जिल्लामा रकम जम्मा हुनेछ तब हामी नेटवर्किङ गरेर आर्थिक सम्पन्नताका योजना अगाडि सार्नेछौँ । आर्थिक विकाससँगै सामाजिक अभियान पनि अघि बढाउनेछौँ । जब हामी हाम्रै स्रोतबाट सक्ने कार्यक्रम अगाडि बढाउनेछौँ त्यसपश्चात् प्रहरी प्रधान कार्यालय, सरकार र दातृ संस्थासँग पनि आर्थिक सहयोग जुटाउन पहल गर्नेछौँ । हाम्रो लक्ष्य भनेको यो देशमा पूर्वप्रहरीलाई शक्तिशाली बनाई देशसेवा गर्ने हो ।
० पूर्वप्रहरी सङ्गठनले राष्ट्र र समाजलाई योगदान दिन सक्ने मुख्य–मुख्य क्षेत्र के–के हुन सक्छन् ?
– मलाई लाग्छ, यो देशमा सबैभन्दा व्यावसायिक र उत्कृष्ट गृहमन्त्री नै पूर्वप्रहरीबाटै हुन सक्छन् । आन्तरिक सुरक्षाको क्षेत्रमा तीन दशक काम गरेका, शान्तिसुरक्षामा खलल पार्न सक्ने हरेक तत्वहरूलाई राम्ररी बुझेका, गाउँदेखि राष्ट्रपति भवनसम्म रहेर सुरक्षा चुनौती जानेका, ऐन–नियम, संविधान, संस्कृति, परम्परा, देशको सीमा र सुरक्षाकर्मी व्यवस्थापनबारे जानेका, विमानस्थलदेखि विशिष्ट व्यक्तिको सुरक्षासम्म गरेका, केन्द्रदेखि जिल्ला तहसम्म सयौँ–हजाराँैपटक सुरक्षा मिटिङमा भाग लिएका, मानवअधिकारदेखि देशको अपराधबारे ज्ञान राखेका, कमाण्ड क्षमता भएका, सङ्कटकालीन अवस्थाहरूलाई फेस गरेका, सुरक्षाका अन्य निकायका व्यक्तिहरूबाट समेत परिचित रहेका, कफ्र्युदेखि प्रतिआतङ्कवादसम्म र सामुदायिक सेवादेखि लाठीचार्ज गर्नेसम्मको अनुभव हासिल गरेका, अन्तर्राष्ट्रिय कानुन र अन्तराष्ट्रबाट देशको आन्तरिक सुरक्षामा पार्न सक्ने प्रभावबारे बुझेका पूर्वप्रहरीहरू नै छन् । अब भन्नोस्, त्यस्ता व्यक्तिबाट गृहमन्त्री हुँदा मुलुकको कति हित होला । यीबाहेक पनि राज्यका अन्य निकाय एवम् सामाजिक सङ्घ–संस्था आदिमा पनि पूर्वप्रहरीले महत्वपूर्ण र उल्लेख्य भूमिका निर्वाह गर्न सक्छन् भन्नेमा राज्य आश्वस्त बन्दा हुन्छ । त्यसैले पूर्वप्रहरीहरूलाई देश विकासमा लगाउन अनुरोध गर्दै राजनीतिक दलहरूसँग त यो पनि आग्रह गर्न चाहन्छु कि देशका लागि उत्कृष्ट गृहमन्त्री पूर्वप्रहरीबाट हुन सक्छन् । एकपटक पूर्वप्रहरीहरूलाई त्यो जिम्मेवारी दिएर जाँच गर्नुहोस् । भारत, अमेरिका र नेपालमा पनि आवश्यकताअनुसार व्यावसायिक मान्छेलाई उसको विशेषज्ञताअनुरूप मन्त्री पद दिएको छ । पूर्वप्रहरीहरूको विशेषज्ञता तपार्इंहरू पनि प्रयोग गर्न सक्नुहुन्छ । उत्कृष्ट नतिजा आउने निश्चित छ । एकपटक जाँचेर त हेर्नुहोस् ।
० पूर्वप्रहरीहरूलाई शान्तिसुरक्षा कायम गराउने कुरामा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले अहिले कसरी उपयोग गरेको छ त ?
– हेर्नुहोस् उपयोग गर्न पनि विवेक चाहिन्छ । जो–कसैले जो–कसैलाई उपयोग गर्न सक्दैन । सर्वप्रथम उपयोगकर्ता आफ्नो कामप्रति संवेदनशील हुनुपर्छ र ऊ त्यस काम कसरी गर्न सकिन्छ भन्ने कुरामा कन्फ्युज, डाउट र फिएरमा रहेको हुनुहुँदैन । अहिले पनि समाजमा गृह प्रशासन र प्रहरी प्रधान कार्यालयले प्रहरी सङ्ख्या पुगेन भनेर खुब आवाज उठाउँछ, तर लाखौँको सङ्ख्यामा रहेका पूर्वप्रहरीलाई हामी यस कार्यमा सजिलै, छिट्टै र कम खर्चमा प्रयोग गर्न सक्छौँ भन्नेचाहिँ बुझेको देखिँदैन । पूर्वप्रहरीहरू गृहले सही ढङ्गले प्रयोग ग-यो भने वा कुनै संवैधानिक वा सरकारी निकायले योजनाबद्ध रूपमा प्रयोग गर्ने रणनीति बनाउन सक्यो भने हेर्नुस् त्यस निकायले ऐतिहासिक उपलब्धि हासिल गर्नेछ । तर, यो त्यही निकाय वा नेतृत्वले मात्र गर्न सक्छ जसको सोच डाइनामिक छ ।
० यो कुरा देश या सरकारले नबुझे पनि प्रहरी सङ्गठनले त बुझ्नुपर्ने हो नि, होइन र ?
– प्रहरीले बुझेर पनि बुझपचाएको वा अन्डरस्टमेट गरेको हुन सक्छ । हाल भएका प्रहरीलाई पूर्वप्रहरीको क्षमता थाहा नभएको होइन, तर पदमा रहँदा व्यक्तिलाई छुटै प्रकारको आडम्बर र घमण्डले ढाकेको हुँदोरहेछ । एउटा सानो उदाहरण लिऊँ– हालका प्रहरी महानिरीक्षक र अतिरिक्त प्रहरी महानिरीक्षकलाई पुलिस बनाउने प्रमुख प्रशिक्षक म नै थिएँ । म त साक्षी छु नि सबैको क्षमताको । धेरै वर्षसम्म हामीहरू एकै ठाउँमा काम गरेकाले पनि हामी एक–अर्काको क्षमता राम्ररी बुझ्छौँ । भाग्यले प्रहरीमा कोही माथि पुग्छन् कोही तल । माथि तल पुग्नुमा व्यावसायिकताले भन्दा पनि त्यो बेलाको गृहमन्त्री, प्रधानमन्त्री, गृहसचिव वा आईजीपी को थिए र तिनका स्वार्थ के थियो भन्ने कुराको ठूलो भूमिका रहेको मैले महसुस गरेँ । यसबाहेक त्यसबेला पैसा, राजनीतिक आशीर्वाद, व्यापारी–उद्योगपतिको आशीर्वाद, नातागोता, पत्रपत्रिकाको भूमिकालगायत जातीयता र क्षेत्रीयताले कस्तो प्रभाव पा-यो ? आदि कुराले पनि ठूलो भूमिका खेल्छ भन्ने कुरा वहालवालाहरूले नबुझेको भए पनि पूर्वप्रहरीहरूले त राम्ररी नै अनुभव गरेका छन् । त्यसैले पूर्वप्रहरी र बहालवालाबीच दज्र्यानी चिह्न र व्यावसायिक क्षमताको भन्दा पनि पारिवारिक सम्बन्ध बढी हुन्छ । क्षमताका हिसाबले एकले अर्कालाई आ–आफ्नै तरिकाले हेरिरहेका र बुझिरहेका पनि हुन सक्छन् । तर, बहालवाला प्रहरीलाई यो कुरा राम्ररी थाहा छ कि नयाँ प्रहरी थप्नुभन्दा विभिन्न क्षेत्रमा पूर्वप्रहरीहरू प्रयोग गर्नु हजारौँ प्रतिशत प्रभावकारी र मितव्ययी हुन सक्छ, तिनले त्यसै दिनबाट उत्पादन र सेवा दिन सक्छन् । करिब चालीस वर्षदेखि साठी वर्षबीचका झन्डै ७० हजार पूर्वप्रहरी सरकारले प्रयोग गरे सबैभन्दा कम खर्चमा ठूलो उपलब्धि हासिल गर्न सक्छ । तर, पहिला त्यहाँका नेतृत्वको दिमागमा यो कुरा हुनुप-यो नि । अपराध नियन्त्रणको राष्ट्रिय नीतिमा पचहत्तरै जिल्लाका पूर्वप्रहरी परिचालन गर्ने रणनीति बनाउनुस् त अनि हेर्नुहोस् नतिजा । चुनावजस्तो कुरो म्यादी प्रहरीको सहयोगले हुन सक्छ भने बीस वर्ष प्रहरीमा सेवा गरेका डाक्टर, इन्जिनियर, अनुसन्धानकर्तालगायत झन्डै साठी हजार व्यावसायिक फौज पाउँदा शान्ति सुरक्षाको क्षेत्रमा कत्रो सफलता मिल्ला त ? दुर्भाग्य नै भनौँ नेपालको गृह प्रशासन र प्रहरी नेतृत्वले यो शक्ति चिनेकै छैनन् अथवा यिनलाई प्रयोग गर्ने उहाँहरूसँग कुनै योजना नै छैन ।
० कल्याणकारी कोषबाट त बहालवाला प्रहरीहरूले पूर्वप्रहरीहरूलाई राम्रै ढङ्गले सहयोग गरेका होलान् नि ?
– म यसबारे पूर्वप्रहरी सङ्गठनको अध्यक्षको हिसाबले १५ प्रतिशत मात्र सन्तुष्ट छु । हाम्रा असन्तुष्टिहरू छिट्टै प्रहरी प्रधान कार्यालयमा विधिवत् रूपमा लगिनेछ । जसरी बहालवाला प्रहरीहरूले त्यो रकमबाट आफूलाई फाइदा हुने कुरामा आफूखुसी ढङ्गले लगानी गर्न सक्छन् । त्यसैगरी पूर्वप्रहरीहरूले पनि लगानी गर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता छ । जसरी ६० हजार बहालवाला प्रहरीको त्यस कोष सञ्चालनमा भूमिका छ त्यसरी नै वा त्योभन्दा बढी भूमिका एक लाख दश हजार पूर्वप्रहरीको पनि हुनुपर्दछ भन्ने हाम्रो अडान छ, किनकि ती सबै पूर्वप्रहरीले त्यस कोषमा रकम दिएका छन् । कल्याण कोषको बाँडफाँड न्यायोचित भएको छैन भन्ने कुरा देशभर भुसको आगोझैँ पूर्वप्रहरीहरूको जमातमा सल्किसकेको छ र बेलैमा कोषको जिम्मा लिएकाहरूले नबुझे प्रहरी प्रधान कार्यालयसँग भूतपूर्व प्रहरीहरूको अनावश्यक टकराव निम्तिने निश्चित छ ।
० तपाईंले विभिन्न सञ्चारमाध्यमद्वारा सर्वोच्चबाट एआईजी बनाउन आदेश दिइएका चारजना डीआईजीलाई प्रहरी प्रधान कार्यालय भित्याउनुपर्ने धारणा राख्दै आउनुभएको छ, यसमा तपार्इंको वास्तविक धारणा के हो ?
– मेरो धारणा एकदमै स्पष्ट छ । यदि विधिको शासन यस देशमा छ भने चारजना डीआईजी ससम्मान रूपले एआईजी भएर प्रहरी प्रधान कार्यालय छिर्न पाउनुपर्छ । सर्वोच्चको आदेशमा जसरी मरिसकेको संसद् जीवित भएपछि सांसद संसद्भवनभित्र प्रवेश गरे त्यसैगरी चार डीआईजीले पनि प्रधान कार्यालयभित्र प्रवेश पाउनुपर्छ । यदि उहाँहरूलाई ससम्मान बहाली गरिएन भने त्यो बहाली नगर्न प्रत्यक्ष–अप्रत्यक्ष रूपमा भूमिका निभाउने सबै व्यक्तिहरू इतिहासमा आलोचनाका पात्र हुनेछन् । सर्वोच्चको आदेश कुनै देशमा मानिँदैन भने त्यस देशमा प्रजातन्त्र छ र अझ प्रहरीले मान्दैन भने त्यस देशमा प्रहरीले मानव अधिकारको रक्षा गर्छ भन्ने विश्वास गर्नु गलत हुनेछ । मलाई लाग्छ केही पदमा रहेकाहरूले यस विषयमा अलि चाहिनेभन्दा बढी नै घमण्ड बोकेको देखिन्छ । तर, उहाँहरू सबैले बुझ्नुपर्छ कसैको घमण्डभन्दा सर्वोच्चको आदेश सानो हुँदैन । हो, केही दिन रोक्न सक्लान्, तर मलाई जहाँसम्म लाग्छ त्यो रोक्न खोज्नेले पनि नरोक्दाको भन्दा बढी क्षति व्यहोर्नुपर्नेछ । यहाँ मलाई एआईजी हुनुभएको व्यक्तिहरू असक्षम हुनुहुन्थ्यो भन्ने लागेको छैन । कुरा केवल के हो भने प्रहरीले स्वार्थवश बारबार नियम परिवर्तन गरेर उब्जाएको परिस्थितिको प्रतिफल नै यो सर्वोच्चको आदेश हो । यसमा अप्रेशन गरेर हे-यो भने यो स्थिति निम्त्याउन प्रहरी महानिरीक्षक र गृह प्रशासन जिम्मेवार छ । एकपटक प्रहरी प्रधान कार्यालय र गृह प्रशासन आफूले गरेको गल्ती सच्याउन पनि ती डीआईजीहरूलाई एआईजी बनाउनैपर्छ ।
० राजनीतिमा पूर्वप्रहरीहरूको भूमिका कस्तो हुनुपर्ला ?
– पूर्वप्रहरीहरू जुनसुकै पदका किन नहुन् गाउँदेखि केन्द्रसम्म कुनै जनप्रतिनिधिलाई जिताउने वा हराउने हैसियत राख्दछन् । विस्तारै–विस्तारै पूर्वप्रहरीहरू विभिन्न दलहरूका माथिल्ला तहमा पनि सक्रिय भइसकेका छन् । जुन प्रकारले सरकार र राजनीतिक दलहरूले ठूलो सङ्ख्याका पूर्वप्रहरीहरूलाई महत्वहीन ठानिरहेका छन् त्यसबाट पूर्वप्रहरीहरूमा पनि एउटा नयाँ सोच पलाउँदै आएको छ, त्यो के भने देशभर सामाजिक नेताका रूपमा रहेको हामी लाखौँ सङ्ख्याका पूर्वप्रहरीले छुट्टै राजनीतिक दल किन नखोल्ने ? एउटा विचार पूर्वप्रहरीबीच यस्तो पनि आएको छ कि हामीे पूर्वराष्ट्रसेवक र कर्मचारीहरू समेटी छुट्टै राजनीतिक दल किन खडा नगर्ने ? जुन प्रकारले समयमा संविधान नबनी देशलाई गृहयुद्धको चपेटातिर राजनीतिक दलहरूले धकेल्दै छन् त्यो अवस्था देखेर पूर्वप्रहरीहरू चिन्तित छन् र सम्भाव्य अप्रिय स्थितिबारे नजिकबाट अध्ययन गरिरहेका छन् । पूर्वप्रहरीहरू चाहन्छन् समयमा संविधान बनोस् र देश आर्थिक उत्थानतर्फ अगाडि बढोस् । पूर्वप्रहरीहरू सङ्गठित रूपमै राजनीतिमा प्रवेश गरी देशलाई सही दिशा दिन सक्रिय नहोलान् भन्ने स्थिति छैन । तर, यो पूर्वप्रहरी सङ्गठन भने विशुद्ध रूपमा सामाजिक क्षेत्रमै सक्रिय भई पूर्वप्रहरी र तिनका परिवारका हितमा काम गर्नेछ । राजनीतिमा लाग्ने छैनन् ।