आमा धर्ती हुन्
सबथोक उम्रिन्छ धर्तीमा
सबथोक भेटिन्छ धर्तीमा ।
आमा आकाश हुन्
सफेद छ मन, चौडा छ छाती
चन्द्रमा, शिरफूल हो आमाको
ताराहरू, नौगेडी हुन् आमाका
धुम्म बादल
गाजल हो आमाको
जसको परेलीबाट असार वर्षिन्छ ।
चिन्ता छ आमालाई
कहाँ फुलाउने तरुनी वैशाख
कहाँ रोप्ने तन्नेरी सपना
कसरी हुर्काउने नाबालक आकाङ्क्षा
कसरी फैलाउने जुनेली सुवास ?
कहाँ हो र पत्थर आमाको मन †
मलाई चोट लाग्दा स्वाभिमानको लडाइँमा
उनै मात्र रोएकी हुन्
कहाँ छ र कमजोर आमाको मुटु †
देश निसास्सिँदा युद्धको धुवाँमा
औँला उठाएर– खबरदार !
उनै मात्र बोलेकी हुन् ।
आमाका सन्तान
चराहरू पनि हुन्
जङ्गलमा मान्छेहरू जस्तै त्रासमा बाँच्छन् चराहरू
र त विश्वास छ आमालाई
अब लड्ने छैनन् मान्छेहरू अर्को युद्ध
र भत्काउने छैनन् आफ्नो घर
अब फर्किने छैनन् चराहरू जङ्गल
लेखिनेछ एउटा पवित्र इतिहास
मान्छे र चराहरूको
अनि निस्किनेछन् आमासँगै
शान्तिको अनन्त यात्रामा ।
प्रतिक्रिया