दुई वर्षदेखि रोकिएको तलब क्रिकेट खेलाडीले एकमुष्ट पाउने

दुई वर्षदेखि रोकिएको तलब क्रिकेट खेलाडीले एकमुष्ट पाउने


राष्ट्रिय खेलकुद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् ।

साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररूप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले ०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । राखेपका सदस्यसचिव केशवकुमार विष्टले परिषदको पहलमा आईसीसीले राखेपमार्फत दुई वर्ष (सन् २०१७ र २०१८)को खेलाडीले वर्गीकरणअनुसार पाउने तलब उपलब्ध गराउने सहमति भएको बताए ।

‘हामीले आईसीसीसँग पहल ग¥यौँ, ऊ पनि पैसा दिन सहमत भयो, अहिले हामीले खेलाडीसँग सम्झौता गरेर आईसीसीमा पठाएका छौँ, वर्गीकरणभित्र परेका खेलाडीले केही साताभित्र तलबबापतको पैसा पाउनेछन्,’ विष्टले भने ।

०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । साथै नेपाली क्रिकेटको सबै व्यवस्थापकीय पक्ष आईसीसीले नै हेर्दै आएको छ ।

‘ए’ श्रेणीका सात खेलाडीले पछिल्लो दुई वर्षको एकमुष्ट आठ लाख ४० हजार, ‘बी’ श्रेणीका सात खेलाडीले ६ लाख र ‘सी’ श्रेणीका रात खेलाडीले तीन लाख ६० हजार प्राप्त गर्नेछन्

तलबका विषयमा आईसीसीले राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा तलब दिन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।

खेलाडी तथा परिषदको आग्रहपछि आईसीसी तलब दिनका लागि राजी भएको हो । यसका लागि आईसीसीले तलब दिने खेलाडीलाई ए, बी र सी गरी तीन तहमा वर्गीकरणसमेत गरेको छ । ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु. ३५, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु. २५ र सी श्रेणीका खेलाडीले मासिक रु. १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाउनेछन् ।

त्यसमध्ये ‘ए’ श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी रहेका छन् । श्रेणी ‘बी’मा रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह र शक्ति गौचन रहेका छन् । श्रेणी ‘सी’मा सुशन भारी, किशोर महतो, सुवास खकुरेल, सागर पुन, दिलीपनाथ, सुनील धमला र विनोद भण्डारी रहेका छन् ।

‘ए’ श्रेणीका खेलाडीले पछिल्लो दुई वर्षको एकमुष्ट रु. आठ लाख ४० हजार, ‘बी’ श्रेणीका खेलाडीले रु. ६ लाख र ‘सी’ श्रेणीका खेलाडीले रु. तीन लाख ६० हजार प्राप्त गर्नेछन् ।

आईसीसीको निलम्बनमा पर्नुअघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकेको थियो ।

रासस