नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रमअनुसार शाखा डोजो नक्सालको २०औँ वार्षिकोत्सवको अवसरमा पाँचौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आउँदो पुस २६ गते बिहीबारदेखि शुरु हुने भएको छ । प्रतियोगितामा नेपालसहित मित्रराष्ट्रहरू भारत, बंगलादेश, पाकिस्तान र भुटानका करिब दुई हजार खेलाडीको सहभागिता रहनेछ ।
पुरुषतर्फको जुनियर तथा क्याडेट इभेन्टसमा २०, २३, २५, २७, ३०, ३३, ३५, ४० र पुरुषकै सिनियरतर्फ ४५, ५०, ५५, ६०, ६७, ७५, ८४ किलो र एकल काता गरी १५ इभेन्ट्स र महिलातर्फ जुनियर तथा क्याडेट २०, २३, २५, २७, ३०, ३३, ३५,४० र महिलाकै सिनियरतर्फ ४५, ५०, ५५, ६१, ६७, ६८ किलो तौल समूहमा र एकल काता गरी १५ इभेन्ट्स गरी कुल ३० स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्रबहादुर खपांगी (ईश्वर) ले जानकारी गराएका छन् ।
शाखा डोजो नक्सालले यसअघि आफ्नो १९ वर्षे यात्रा पूरा गर्दै १९ वटा विभिन्न प्रतियोगिता सम्पन्न गरिसकेका छन् भने यो कार्यक्रम समग्रमा नक्सालको २०औँ कार्यक्रम हो । दुई दिनसम्म चल्ने उक्त प्रतियोगिताका खेलहरू नक्साल नारायणचौरस्थित स्टार भेन्यु पार्टी प्यालेसमा सञ्चालन हुनेछ ।
प्रतिक्रिया