सुर्खेतमा फरार ४६ अपराधी पक्राउ

सुर्खेतमा फरार ४६ अपराधी पक्राउ


जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न आपराधिक क्रियाकलाप गरेर जिल्ला अदालत सुर्खेतबाट जेल सजाय पाई फरार ४६ अपराधीलाई पक्राउ गरेको छ ।

मंसिरदेखि पुसको १८ गतेसम्म सुर्खेत प्रहरीले ४६ अपराधी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई जम्मा ४३ वर्ष २४ दिन जेल सजाय र रु. २१ लाख ९३ हजार ८२२ जरिवाना असुलउपर गरी फैसला कार्यान्वयनमा सहयोग पु¥याइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

‘फैसला कार्यान्वयन गर्ने नीतिअन्तर्गत एक महिनाको खोजीमा प्रहरीले ४६ फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ,’ प्रवक्ता क्षेत्रीले भने, ‘जिल्लामा एक हजार ६०० अपराधी फरार रहेकाले खोजी अभियानलाई तीव्र पारेका छौँ ।’ अदालतबाट धेरै सजाय पाएका अपराधी भारत जाने गरेका उनीहरूलाई समात्न नसकिएको उनको भनाइ थियो ।

कर्तव्य ज्यान मुद्दाका फरार अपराधी बढी छन् भने रु. २५ तिर्न नसकेका अपराधी पनि फरार छन् । वडा विभाजन गरेर फरारको सूची प्रत्येक प्रहरी चौकीमा पठाइएको बताउँदै प्रवक्ता क्षेत्रीले जतिसक्दो सुर्खेतलाई फरार अपराधी मुक्त जिल्ला बनाउने लक्ष्य लिएको बताए । सुर्खेत प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पुस १८ गते सुर्खेतमा ९३८ लिटर अवैध मदिरा बरामद गरी नष्ट गरेको छ ।