निसास्सिएर सुत्केरीको मृत्यु

निसास्सिएर सुत्केरीको मृत्यु


काठमाडौंको शंखरापुर नगरपालिकामा बन्दकोठाभित्र सुतिरहेको अवस्थामा सुत्केरीको मृत्यु भएको छ ।

शंखरापुर नगरपालिका–७ सुकेखोलामा बुधबार राति परिवारसँग सुतेकी ३२ वर्षीया विन्दु मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार सुकेखोलाको एक घरमा भाडामा बस्दै आएकी मगर पाँच महिनाकी छोरीसहित बुधबार राति सुत्ने बेलामा कोठाभित्र दाउरा र कोइला बालेर सुतेकी थिइन् । श्रीमान र तीन छोरीसहित पाँचजनाको परिवार एउटै कोठामा सुतेका उनीहरूमध्ये श्रीमतीको मृत्यु भएको हो ।

खबरलगत्तै घटनास्थल पुगेको प्रहरीले घटनास्थलको अवलोकनपश्चात् शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको जानकारी दिएको छ ।

मृतक मगरकी पाँच वर्षीयासहित अन्य साना दुई छोरी छन् । घटनाको प्रकृति हेर्दा चिसो भुइँमा र कोठाको झ्यालढोका सबै बन्द गरी दाउरा बालेर सुतेकाले निसास्सिएर मृत्यु भएको हुन सक्ने आशंका रहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए ।

उनले भने, ‘शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएका छौँ । थप अनुसन्धान भइरहेको छ ।’ शवको रिपोर्ट आएपछि मात्रै यथार्थ जानकारीमा आउने उनले बताए ।