गोरखापत्रको सल्लाहकार सम्पादकमा खनाल

गोरखापत्रको सल्लाहकार सम्पादकमा खनाल


गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा गोपाल खनाललाई नियुक्त गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही पुस महीनामा बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई नियुक्त गरेको जानकारी गराए । पाँचथरको थाक्लेमा जन्मिएका खनाल परराष्ट्र र वैदेशिक मामिलाका जानकार छन् ।

पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला परराष्ट्र मामिला विज्ञका रुपमा नियुक्त भएका उनले ‘भू–राजनीति’ पुस्तकसमेत लेखेका छन् । ‘सगरमाथा दैनिक’ पत्रिकाबाट पत्रकारिता आरम्भ गरेका खनालले रेडियो नेपाल, कान्तिपुर दैनिकको सहायक सम्पादकका रुपमा समेत काम गरिसकेका छन् ।

अङ्ग्रेजी, पत्रकारिता र राजनीतिक शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका उनि अहिले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा विद्यावारिधि गर्दै छन् । नवनियुक्त सल्लाहकार सम्पादक खनालले गोरखापत्रलाई थप पठनीय र यसको गौरवपूर्ण इतिहासलाई थप अझ मजबुद बनाउन पहल गरिने बताए ।