किन भइरहेका छन् कम उमेरका किशोरी करणीको शिकार ?

किन भइरहेका छन् कम उमेरका किशोरी करणीको शिकार ?


अठार वर्षमुनिका किशोरीहरु धेरैजसो जबर्जस्ती करणीको शिकार हुने गरेका छन् । अठार वर्षमुनिका किशोरीले सही र गलत कुराको विचार गर्न नसक्दा जबर्जस्ती करणीको शिकार पर्ने गरेका ललितपुरमा आज आयोजित समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको ‘विद्यालय प्रहरी सम्पर्क कार्यक्रममा’ बताइयो ।

१८ वर्ष मुनिका किशोरीको क्षमता सही र गलत छुट्टयाउन नसक्ने हुँदा उनीहरु बढी जबर्जस्ती करणीको शिकार हुने गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंंका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताए ।

आफन्त वा चिनजानका व्यक्तिबाट ६४ प्रतिशत किशोरी जबर्जस्ती करणीको शिकार पर्ने गरेका भन्दै उपरीक्षक क्षेत्रीले केवल ३० प्रतिशत चिनजान नभएका व्यक्तिबाट किशोरीहरु जबर्जस्ती करणीका शिकारमा पर्ने गरेका उल्लेख गरे ।

कार्यक्रममा ललितपुर महानगरपालिका १३ का वडाध्यक्ष रामकुमारी लिम्बूले बालबालिकाले परिवारसँगभन्दा बढी समय विद्यालयका शिक्षक र शिक्षिकासँग बिताउने हुँदा ती बालबालिकामा विशेष ध्यान दिनुपर्ने जानकारी दिइन् । बालबालिकाको जीवन रक्षा गर्ने दायित्व परिवारभन्दा बढी शिक्षकशिक्षिकाको हातमा छ भन्दै उनले विद्यालयमा शिक्षकशिक्षिकाले कडाइका साथ आफ्ना विद्यार्थीको जीवन सुधार्न लाग्नुपर्ने सुझाव दिइन् ।

महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्रबहादुर धानुकले बालबालिकालाई प्रहरीलाई अभिभावकसरह लिई आफूमा परेका समस्या उजागर गर्न आग्रह गरे । प्रहरीलाई बालबालिकाले साथीसरह व्यवहार गरी आफ्नो पीडा पोख्दा थुप्रै जोखिमको समाधान गर्न सकिने उनको जिकीर थियो ।

महानगरीय वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले १६ वर्षमुनिका किशोरकिशोरीलाई सामाजिक सञ्जालको प्रयोग नगर्न आग्रह गरे भने सो अवसरमा सहभागीले विद्यार्थी र शिक्षकको सम्बन्ध गुरुकुलको जस्तो हुनुपर्ने, शिक्षकहरु सामाजिक सञ्जालभन्दा निकै अघि बढ्नुपर्ने, अभिभावकले सन्तानसँग खुलेर कुरा गर्नुपर्ने, अपराध बढाउने अवसर समाजबाट हटाउनुपर्ने, हरेक परिवारले आफ्ना बालबालिका र उनीहरुको क्रियाकलापमा ध्यान दिनुपर्ने, अश्लील तस्वीर वा भिडियो खिंच्न वा खिंचाउन नहुने, प्रेमजोडीले एकान्त स्थानमा नभई सार्वजनिक स्थानमा भेटघाट गर्नुपर्ने, अपरिचित व्यक्तिसँग बोल्दा कुनै जोखिम हुने सम्भावना देखिएमा बोल्दै हिँड्नुपर्ने, खराब मानिसको हाउभाउ र इशाराको विचार गर्नुपर्ने, जबर्जस्ती करणीको घटनामा परियो भने ननुहाई प्रहरीचौकीमा जानुपर्ने जस्ता सुझाव दिएका थिए ।