बम्जन आश्रममा प्रहरीको छापा

बम्जन आश्रममा प्रहरीको छापा


  • किशोर बुढाथोकी, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको बाँडेगाउँस्थित टोड्केभीरमा रहेको आश्रममा एक अनुयायीको हत्यापछि दफन र तीन आनी बेपत्ता पारिएको आरोप लागेका ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा प्रहरीले छापा मारेको छ । आश्रममा शुक्रबार केन्द्रीय प्रहरी ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको हो ।

उनी मैत्री भाषामा आफूले आर्जन गरेको ज्ञानलाई लिपीबद्ध गर्न सिन्धुपाल्चोक आएका र सोही बेला अनुयायी सञ्चलाल वाइवाको हत्या गरेको उनमाथि आरोप छ ।

बम्जनको आश्रम छापा मार्नका लागि सिन्धुपाल्चोक जिल्ला अदालतले विहीबार नै प्रहरीलाई अनुमति दिएलगत्तै छापा मारिएको हो । २०७१ असोजमा हेलिकोप्टर चार्टर गरेर उनी बाँडेगाउँको टोड्केभीर आइपुगेका थिए ।

छापा मार्नका लागि ठूलो संख्याको प्रहरी आश्रमस्थल पुगेको थियो । प्रहरीले स्थानीयवासीसँग पनि जानकारी लिनका लागि अनुसन्धान गरिरहेको छ । शुक्रबार साँझसम्म आश्रममै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए । उनले अनुसन्धानका क्रममा रहेकाले छापा मार्ने क्रममा के भेटियो भन्नेबारे अहिले बोल्न नमिल्ने बताए ।

आरोप प्रमाणित गर्नका लागि अनुसन्धान गर्न प्रहरीले विज्ञको टोलीसमेत लगेको छ । आफूले आर्जन गरेको भनिएको मैत्रीमार्ग ज्ञानलाई पुस्तकाकार रुप दिन शान्त ठाउँ खोज्दै बम्जन सिन्धुपाल्चोक आइपुुगेका हुन् । अहिले उनी यहाँ बस्दैनन् । यहाँ रहेको आश्रमलाई उनका अनुयायीहरुले संरक्षण गरिरहेका छन् ।

किन आए बम्जन सिन्धुपाल्चोक ?

२०६२ जेठ २ गते घरबाट एक्कासी हराएका रामबहादुर बम्जन घर नजिकैको हल्खोरिया जंगलमा तपस्यामा लीन भएको बेला भेटिएका थिए । मुलुकमा अशान्ति बढ्दै गएपछि रतनपुरीस्थित हल्खोरिया जंगलमा शान्ति खोज्न भनि निस्केका बम्जनको तपस्या १० वर्ष पुगिसकेको छ ।

बाराबाट सिन्धुली, सर्लाही, चितवन र फेरि सर्लाही हुँदै उनी सिन्धुपाल्चोकको बाँडेगाउँ आइपुगेका थिए । सिन्धुपाल्चोकबाट उनी सर्लाहीको पत्थरकोट गएका थिए । बारामा ५ वर्षको तपस्याबाट आर्जन गरेको ज्ञानलाई उनले पुस्तककार रुपमासमेत निकालिसकेका छन् ।

उनका मैत्री प्रामी ध्यान नामक दुई पुस्तक प्रकाशित छ । बम्जनले तपस्या सुरु गरेदेखि २०६८ फागुनमा पहिलो पुस्तक प्रकाशन गरेका हुन् । सिन्धुपाल्चोकमा बसेपछि उनी अर्काे पुस्तक निकाल्ने तयारीमा रहेको उनका तत्कालीन सहयोगी राम खड्काले त्यतिबेला जानकारी दिएका थिए ।

आफूले आर्जन गरेको ज्ञानलाई भक्तजनसमक्ष ल्याउने गरेका बम्जन सिन्धुपाल्चोकमा शान्त भूमि खोज्दै आफूले आर्जन गरेको ज्ञानलाई लिपीबद्ध गर्न आएका हुन् । सिन्धुपाल्चोक बसेर संसारभर कतै प्रचलनमा नआएको मैत्री भाषामा बम्जनले आर्जन गरेको ज्ञानलाई लिपीबद्ध गर्ने योजना थियो । उनका सहयोगी खड्काका अनुसार आफूले आर्जन गरेको ज्ञानलाई लिपीबद्ध गर्न बम्जनले शान्त क्षेत्रको माग गरेका थिए ।

सदरमुकामदेखि पाँच घण्टाको पैदल दुरीमा पर्ने बाँडेगाउँस्थित टोड्केभीरमा उनी आश्रम बनाएर बसेका सहयोगीसहित बसेका थिए । बम्जनका तत्कालीन अर्का सहयोगी तेजु तामाङ र स्थानीय अशोककुमार तामाङको नाममा रहेको करिब ९६ रोपनी जग्गामा आश्रय लिइरहेका थिए ।

सात वर्षसम्म तपस्याबाट हासिल गरेको ज्ञानलाई लिपीबद्ध गरेर संसारभर फैलाउने योजना अनुरुप तपस्वी बम्जन सर्लाहीबाट होलिकोप्टर चार्टर गरी सिन्धुपाल्चोक आइपुगेका थिए । सिन्धुपाल्चोक शान्तभूमि भएकाले आफूले आर्जन गरेको ज्ञानलाई लिपिबद्ध गर्न कुनै अवरोध नहुने भएपछि २५ जनाको सहयोगीसहित बम्जन यहाँ आएका बोधी धर्म संघ सिन्धुपाल्चोकका अध्यक्ष विद्युत तामाङले जानकारी दिएका थिए । यो संघ बम्जनलाई सहयोग गर्नका लागि गठन भएको हो ।

बम्जनका सहयोगीका अनुसार बम्जनले तपस्या गरेको मैत्रीमार्ग ज्ञान हो । झण्डै ८ वर्ष सिन्धुपाल्चोक बस्ने योजनाका साथ आएका उनी बीचमै किन सर्लाही गएका हुन् । बम्जन सिन्धुपाल्चोक आएपछि उनका सहयोगीहरुले सात वर्षसम्मको तपस्याबाट आर्जन गरेको ज्ञानलाई लिपीबद्ध गरेपछि मात्र उहाँ यहाँबाट फर्कने बताएका थिए । संघका अध्यक्ष तामाङका अनुसार सिन्धुपाल्चोक आउनुअघि बसेको स्थानमा जग्गाको काम परेर बम्जन सर्लाही गएका हुन् ।

‘उहाँ (गुरु)ले सर्लाहीको पत्थरकोटमा जग्गा लिनुभएको थियो,’ संघका अध्यक्ष विद्युतले त्यतिबेला सर्लाही कारण खुलाएका थिए, ‘त्यसैको काम परेर उहाँ जानुभएको हो ।’ उनले उहाँलाई लिन अन्य जिल्लाका संघका सदस्यसमेत बाँडेगाउँ आएका थिए । उनी आफ्नै टोयोटा जीपमा बाँडेगाउँबाट हिँडेका हुन् ।

आफूले आर्जन गरेको ज्ञानलाई उनले सिन्धुपाल्चोकमा बसेर लिपीबद्ध गरिरहेको थिए । सिन्धुली जानेबेलामा झण्डै ८ सय पेज लिपीबद्ध भइसकेको उनका सहयोगीहरू बताउँछन् । उनले प्रकाशन गर्ने लिपी पुस्तकाकार रुपमा तीन भाषामा प्रकाशित योजना थियो । उनको पहिलो पुस्तक तिव्बतीयन भाषामा मात्रै थियो । अब प्रकाशित गरिने पुस्तक नेपाली, अंग्रेजी र तिव्वतीयन भाषामा हुनेछ ।

सात वर्षसम्मको तपस्याबाट हासिल गरेको ज्ञानलाई लिपीबद्ध गरेपछि नेपाल, भारतको मद्रासलगायत अन्य सहरमा प्रचारका लागि लगिने योजना थियो । बम्जनको भनाइलाई उदृत गर्दै उनका सहयोगी खड्काले ज्ञानलाई लिपीबद्ध गर्ने भाषा संसारभर कतै प्रयोग र प्रचलनमा नआएको दावी गरेका थिए ।

‘गुरुले आफैले भाषा उत्पति गरेर त्यही भाषामा आफूले आर्जन गरेको ज्ञानलाई लिपीबद्ध गनुहुनेछ ।’ उनले भनेका थिए, ‘गुरु(बम्जन)ले लिपीका लागि भने चलनचल्तीकै कागज प्रयोग गरिएको थियो ।’ तपस्वी बम्जनले हासिल गरेको ज्ञानलाई प्रचार गर्नकै लागि लिपीबद्ध गरि पुस्तककाकार रुपमा प्रकाशित गर्न लागेको जनाइएको छ ।

बारादेखि सिन्धुपाल्चोकसम्मको यात्रा

बाराको हल्खोरिया जंगलबाट उनले २०६८ जेठ २ गते तपस्या समापन गरेका थिए । बारामा तपस्या गरेदेखि चर्चामा चुलिएका उनले विश्वभर आफ्ना भक्तजन बनाइसकेका थिए । तपस्यामा बसेदेखि अन्न नखाएका तपस्वी बम्जनले २०६८ चैत १९ गतेमा ३५ राष्ट्रमा छरिएर रहेका उनका भक्तजनहरुबीचमा अन्न ग्रहण गरे । त्यसबेला उनले आफ्नै चेलाबाट अन्न ग्रहण गरेका थिए ।

तपस्याकै क्रममा २०६८ असोजमा आफ्ना बाबु गुमाएका उनले बौद्ध संस्कार अनुसार कर्मसमेत गरेका थिए । बौद्ध धर्मअनुसार ४९ दिनको कर्म हुन्छ । उनले आफूले आर्जन गरेको ज्ञान र तपस्या गरेको मैत्रीमार्ग अनुसार बाबुको संस्कार गरेका थिए । उनले ७५ दिनमा बाबुको वार्षिकी गरेको स्रोत बताउँछ । बाराको रतनपुरी स्थायी घर भएका बम्जनको परिवारमा हाल एक आमा दुई जना दाजु, २ जना भाई, तीन दिदी र एक बहिनी छन् । उनी घरका साँइलो छोरा हुन् ।

स्थानीय रतनपुरी स्कुलबाट कक्षा तीनसम्म औपचारिक अध्ययन गरेका बम्जन त्यसपछि लामा पढ्न भारत गएका थिए । एक वर्ष भारतमा लामा शिक्षा अध्ययन गरेर नेपाल फिरेपछि उनी ध्यान गर्न हल्खोरिया गएको स्रोतले जानकारी दियो । स्रोतअनुसार भारतमा पाएको लामा शिक्षा कै प्रभावबाट उनी तपस्यामा लागेका हुन् ।

बाराको जंगलमा आफ्नो तपस्या सम्पन्न गरेका उनी २०६९ जेठ ३१ गते थप तपस्याकै लागि सिन्धुली गएका थिए । सिन्धुलीको बजारमै आश्रम बनाएर उनले तीन महिना तपस्या गरेका थिए । तपस्यापश्चात उनले २०६९ भदौ २७ देखि ३० गतेसम्म महादर्शन कार्यक्रमबाट उनले भक्तजनहरुलाई दर्शन दिएका थिए । ‘शान्त भूमि’खोज्दै तपस्याका लागि उनी सिन्धुलीबाट सर्लाहीको पत्थरकोट गएका थिए । उनका सहयोगीकाअनुसार बम्जन पत्थरकोटमा १ वर्ष पाँच दिन तपस्या गरेर बसेका थिए ।

विभिन्न स्थानमा महादर्शन गरेर आफ्ना भक्तजनलाई दर्शन दिने क्रममा बम्जन पत्थरकोटबाट ५ दिने कार्यक्रम लिएर चितवनको शारदानगर पुगेका थिए । बम्जनले शारदानगरमा २०७० जेठ २७ देखि २९ सम्म महादर्शन कार्यक्रमबाट भक्तजनलाई दर्शन दिएका थिए । शारदानगरबाट सर्लाही फर्केका बम्जन जिल्लाको बाँडेगाउँस्थित टोड्केभीरमा आएका हुन् । सिन्धुपाल्चोकबाट सर्लाही पुगेका उनी त्यसपछि कहाँ गए भन्नेबारे अनविज्ञ छ ।

के गरे सिन्धुपाल्चोकमा ?

बाराको रतनपुरी जंगलबाट तपस्या सुरु गरेका बम्जन शान्त ठाउँ खोज्दै सिन्धुपाल्चोक पहिलोचोटी आएका हुन् । बाँडेगाउँका स्थानीयका अनुसार बम्जन हेलिकोप्टरबाट ओर्लिएको दिन उनलाई हेर्न झण्डै ४ सयको हाराहारीमा गाउँले आएका थिए । स्रोतअनुसार उनी ओर्लिएपछि दर्शनका लागि उभिएका गाउँलेको शिरमा हात राख्दै बम्जन अघि बढेका थिए । उनी आउनु ४ दिनअघि उनका सहयोगीहरुले आश्रमस्थलको निरीक्षण गरेर फर्किएका थिए । बम्जन सिम्रिक एअरको होलिकोप्टरबाट सिन्धुपाल्चोक आइपुगेका थिए ।

उनको सुरक्षाका लागि आठ कुकुरसमेत ल्याइएको थियो । कुकरका साथै दुई जोडी खरायो र दुई घोडासमेत थिए । तपस्यास्थलभित्र दुई खाइवा राखेर बम्जन थान्कामा चित्र कोरेका समेत थिए । बम्जनको निर्देशन अनुरुप खाइवाहरुले थान्कामा उनको चित्र बनाउने गरेको स्रोत बताउँछ । बम्जन विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म ध्यानमा रहने गरेका थिए । बाँकी समय बम्जनले आफ्नो पहिलो उद्देश्य आफूले पाएको ज्ञमनलाई लिपीबद्ध गर्नमा समय खर्चेका थिए ।

फाइल तस्बिर : सिन्धुपाल्चोक बस्दाका रामबहादुर बम्जन