क्रिकेट खेलाडीको अग्निपरीक्षा

क्रिकेट खेलाडीको अग्निपरीक्षा


nepal-cricket-team-4खेलकुद लेख – डिभिजन ‘टु’
निकै उतारचढावको सामना गरिरहेको नेपाली क्रिकेट टिमको अग्निपरीक्षा सुरु हुँदै छ । नेपाली क्रिकेट टिमका लागि अन्तिम अर्थात् अग्निपरीक्षाको रूपमा रहेको यो प्रतियोगितामा नेपालले कस्तो प्रदर्शन गर्ला त्यो अहिले चासोको विषय बनेको छ । आफूलाई यो प्रतियोगिताका लागि अब्बल बताइरहेका कप्तान पारस र प्रशिक्षक पुबुदुको साख पनि अहिले दाउमा लागेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन मात्र होइन, च्याम्पियन नै बन्ने उनीहरूको प्रतिबद्धता र आफ्ना विश्वासले अहिले क्रिकेट टोलीको हौसला पनि आसमानमा छ । उनीहरू पनि आफ्नो उत्कृष्ट प्रदर्शन गरेर नेपाललाई उपल्लो स्थानमा पु-याउने मानसिकतामा छन् । तर, क्रिकेट अनिश्चितताको खेल हो । यो खेलमा आफूले सोचेको र चाहेकोजस्तो कहिल्यै हुँदैन । जुनबेला जसले पनि बाजी मार्न सक्छ । ‘डिभिजन टु’ मा पनि यस्तो नहोला भन्न सकिँदैन । यस्तोमा नेपालका कप्तान र प्रशिक्षकले ‘डिभिजन वान’को सपना देख्नु साँच्चिकै ठूलो दुस्साहस हो भन्दा अतिसयोक्ति नहोला ।
यही जनवरी १७ देखि २४ सम्म आईसीसी विश्व क्रिकेट डिभिजन टु नामिवियामा सञ्चालन हुँदै छ । राउन्ड रोबिनको आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाललगायत अन्य पाँचवटा राष्ट्रको सहभागिता रहेको छ । जसमा क्यानडा, केन्या, नेदरल्यान्ड, युगान्डा र आयोजक नामिविया रहेका छन् । यस प्रतियोगिताका लागि आफूलाई प्रबल दाबेदारको रूपमा प्रस्तुत गरेको नेपालले त्यहाँ कस्तो प्रदर्शन गर्छ त्यसको अड्कल र अनुमानको आधारमा विश्लेषण गर्न सकिने अवस्था छैन । यसर्थ कि डिभिजन टु मा प्रतिस्पर्धा गर्ने अन्य टिम निकै उत्कृष्ट र सशक्त छन् । हङकङ र पपुवान्युगिनीबाहेक अन्यलाई एकदिवसीय क्रिकेटको निकै राम्रो अनुभव छ । उनीहरूले एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा समेत सहभागिता जनाएर अनुभव बटुलिसकेका छन् । यस्तो अवस्थामा यो प्रतियोगितामा उनीहरूको तयारीलाई कम आँक्न मिल्दैन । अन्य टिमलाई कम आँके त्यो नेपालका लागि घातक हुने प्रायः निश्चित छ । महत्वाकाङ्क्षी हुनुपर्छ, तर कति भन्ने प्रश्न अहिले नेपालको सामु तेर्सिएको छ । प्रशिक्षक पुबुदु दासानायकेले सञ्चारमाध्यममा दिएको प्रतिक्रियालाई आधार मान्ने हो भने नेपाल अहिले नै डिजिभन वानमा पुगिसकेको आभास हुन्छ । तर, उनको यो कथनमा कत्तिको सत्यता छ, त्यो नेपाली टोलीले क्रिकेट मैदानमा गर्ने प्रदर्शनले प्रस्ट पार्नेछ । त्यसपछि त्यसको पोस्टमार्टम अवश्य हुनेछ ।
यतिबेला नेपाली क्रिकेट टिमबारे निकै हौवा फैलाइएको छ । प्रशिक्षक पुबुदुले त नेपाल च्याम्पियन बन्ने दाबीसमेत गरेका छन् । प्रशिक्षककै लयमा कप्तान पारस खड्काले पनि नेपाल च्याम्पियन बन्ने अन्यथा दोस्रो स्थान हासिल गर्ने बताएका छन् । रमाइलो कुरा के भने प्रशिक्षक र कप्तानले नेपालले पहिलो, दोस्रो स्थान हासिल नगरे तेस्रो स्थान र तेस्रो पनि नभए चौथो स्थान जसरी पनि हासिल गर्ने दावा गरेका छन् । पाँचौँ र छैटौँ स्थान नेपालको कल्पनाभन्दा बाहिरको कुरा भएको बताएका छन् । उनीहरूले यो स्थान आफूहरूलाई थाहासमेत नभएको सञ्चारमाध्यममा बोलेका छन् । साँचो रूपमा भन्नुपर्दा प्रतियोगितामा पाँचौँ र छैटौँ स्थान पनि छ । जुन डिभिजन टु मा प्रतिस्पर्धा गर्ने ६ टोलीमध्ये दुईले अवश्य प्राप्त गर्नेछन् । भलै नेपाल यो स्थानमा नपर्ला, तर प-यो भने के होला ? यसको जवाफ प्रशिक्षक पुबुद र पारससँग छ ? जवाफ रेडिमेड छ भने त केही भन्नु छैन अन्यथा उनीहरूले नराम्रो मूल्य चुकाउनुपर्नेछ । किनकि यसअघि पनि नेपाल डिभिजन टु मा पहिल्यै पुगिसकेको टोली हो । पछि घटुवा भएर डिभिजन थ्रीमा परेको कुरालाई यहाँ कदापि बिर्सन सकिँदैन । हालै डिभिजन थ्रीमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल च्याम्पियन बनेर डिभिजन टुमा पुगेको थियो । तर, डिभिजन टु प्रशिक्षक पुबुदु र कप्तान पारसले सोचेकोजस्तो सहज हुनेवाला पक्कै छैन । प्रत्येक खेल जित्न नेपालले फलामको चिउरा अवश्य चपाउनुपर्नेछ ।
साँचो कुरा के हो भने नेपाली क्रिकेट टोली डिभिजन टुमा यथावत् रहन चौथो स्थानसम्म रहनुपर्ने बाध्यता छ । डिभिजन टुका प्रतिद्वन्द्वी हेर्दा चौथो स्थान पनि नेपालका लागि त्यति सुरक्षित देखिँदैन । यसर्थमा क्यानडा, केन्या, नेदरल्यान्ड र आयोजक नामिविया नेपालभन्दा स्तरीय टोली हुन् । त्यसपछि युगान्डा नेपालका लागि अर्को चुनौती हो । किनकि विगतको इतिहासलाई कोट्याउँदा युगान्डा नेपालका लागि रोडा बन्दै आएको छ । र पनि अनिश्चितताको खेल क्रिकेटमा जे पनि हुनसक्छ, राजा रङ्क अनि रङ्क राजा । डिभिजन टुमा यस्तै नहोला भन्न सकिँदैन । समान प्रदर्शनको आशा कसैबाट गर्न सकिँदैन । नेपालले नेदरल्यान्डलाई हराउन सक्छ भने युगान्डासँग पराजित पनि हुनसक्छ । नेपाल डिभिजन टुमा सहभागी अन्य पाँच राष्ट्र क्यानडा, केन्या, नेदरल्यान्ड, युगान्डा र आयोजक नामिविया पराजित गरी च्याम्पियन बन्दै डिभिजन वानमा पुग्न चाहन्छ । यो नेपाली टोलीको अन्तिम लक्ष्य पनि हो । तर, चाहेर मात्रै केही हुँदैन, त्यसका लागि कर्म गरेर देखाउनुपर्छ । त्यो अग्निपरीक्षामा खरो उत्रिन नेपालले नामिवियामा उत्कृष्ट प्रदर्शन गर्नु आवश्यक छ । तर, क्रिकेट हो, खोकेर हुँदैन, जितेर देखाउनुपर्छ । यो चुनौती अहिले नेपालका सामु दिवार भएर खडा भएको छ । हेरौँ, नेपालले डिभिजन टुमा आफ्नो प्रतिबद्धता र आत्मविश्वासअनुसार प्रदर्शन गर्न सक्छ या सक्दैन ।
डिभिजन टु नेपालका लागि कोसेढुङ्गा त्यतिबेला सावित हुनसक्छ जुनबेला नेपालले पहिलो या दोस्रो स्थानमा आफूलाई उभ्याउन सफल हुन्छ । यदि यो प्रतियोगितामा प्रशिक्षक पुबुदु र कप्तान पारसले भनेझँै नेपालको प्रदर्शन उत्कृष्ट रह्यो भने नेपालका लागि डिभिजन वानको ढोका अवश्य खुल्नेछ । त्यसका लागि नेपाली खेलाडीले बल र ब्याटले कमाल देखाउनुपर्नेछ । डिभिजन टुमा सहभागी सबै टोलीका लागि निकै अहम् बनेकाले यहाँ मौलिक होइन मानसिक रूपमा नेपाली खेलाडी तयार हुनुपर्नेछ । प्रतियोगितामा आफूलाई खरो उतार्न क्रिकेटको मैदानमा गोर्खाली भएर खेल्नुपर्नेछ । हारेको जंगलाई जितमा परिणत गर्नसक्ने खुबी र रगत भएका बहादुर नेपाली क्रिकेटमा पनि त्यस्तै जित हासिल गर्न सक्छन् भनेर प्रमाणित गर्नुपर्ने यो प्रतियोगितामा आवश्यक भएको छ । वर्तमान अवस्थामा नेपाली टोलीको लक्ष्य डिभिजन वानमा पुग्ने रहेकाले त्यसलाई सार्थक तुल्याउन साँच्चिकै गम्भीर बन्नुपर्नेछ । नेपाललाई एकदिवसीय क्रिकेटको ढोका खोल्न डिभिजन टु अवसर र चुनौती दुवै बनेर आएको छ । पहिलो प्रयास असफलतामा परिणत भए पनि अहिले दोस्रो अवसर प्राप्त भएको छ । जसलाई खेर फाल्नु भनेको नेपालका लागि निकै घातक हुने देखिन्छ । तसर्थ मन, वचन र कर्मले यसपटक नेपालले उक्त निशाना साँध्नुपर्छ । त्यसपछि मात्र नेपाली खेलाडीको वास्तविक सफलता मानिनेछ ।
एकदिवसीय क्रिकेट नेपालका लागि निकै टाढाको लक्ष्य हो । पहिलो लक्ष्य भनेको डिभिजन टुमा सफलता हो । यदि यो प्रतियोगितामा नेपाली खेलाडीले सफलताको झन्डा गाड्दै पहिलो र दोस्रो स्थानमा रहन सफल भए त्यो नेपालका लागि ठूलो उपलब्धि हुनेछ । नेपाल डिभिजनमा वानमा पुग्न सक्नेछ । त्यसपछि नेपालले हाल डिभिजन वानमा रहेका आयरल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड, पपुवान्युगिनी, संयुक्त अरब इमिरेट्स र हङकङसँगै समान रेखामा उभिन पाउनेछ । त्यसपछि डिभिजन वानका आठ टोलीबीच हुने विश्व क्रिकेट लि च्याम्पियनसिपमा नेपालले कमाल देखाउने अवसर प्राप्त गर्नेछ । तर, त्यसका लागि नेपालले यो प्रतियोगितामा डिभिजन थ्रीको झँै उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ । यो अग्निपरीक्षामा आफूलाई सफल पार्नुपर्नेछ । अन्यथा नेपालको एकदिवसीय क्रिकेट खेल्ने सपना सपनामै परिणत हुनेछ ।

राजुलाई ‘पृथ्वी पुरस्कार’
नेपालका चर्चित फुटबल खेलाडी राजुकाजी शाक्यलाई यस वर्षको पृथ्वी पुरस्कार प्रदान गरिएको छ । राप्रपा नेपालको भ्रातृ सङ्गठन राष्ट्रिय खेलकुद सङ्घले सो पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ । उक्त पुरस्कार एक समारोहबीच राप्रपा नेपालका अध्यक्ष कमल थापाले शाक्यलाई प्रदान गरेका थिए । सो अवसरमा शाक्यलाई पृथ्वीनारायण शाहको पूर्ण कद रहेको अवार्ड र कदरपत्रद्वारा सम्मानित गरिएको थियो । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर सो पुरस्कार प्रदान गरिएको हो । सङ्घले प्रत्येक वर्ष उत्कृष्ट खेलाडीलाई यो पुरस्कारद्वारा सम्मानित गर्ने बताएको छ । राजुकाजी शाक्य नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान तथा राष्ट्रिय फुटबल टिमका प्रशिक्षक हुन् । १९६० मा धरानमा जन्मिएका शाक्यले सन् १९७५ देखि व्यावसायिक फुटबल खेलेका थिए । शाक्यले राष्ट्रिय टिमबाट निरन्तर अठार वर्ष खेलका थिए । उनले पाँचपटक दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफमा सहभागिता जनाएर कीर्तिमान कायमसमेत गरेका थिए । उनले १९८१ देखि १९९७ सम्म लामो समयसम्म राष्ट्रिय टिम फुटबल टिमको कप्तानको भूमिकासमेत निर्वाह गरेका थिए । नेपालले दक्षिण एसियाली खेलकुदमा दुईपटक स्वर्ण पदक जित्दा उनी टिमका सदस्य थिए । साफमा नेपालले फुटबलमा सन् १९८४ र १९९३ मा स्वर्ण पदक जितेको थियो । शाक्यलाई उनले फुटबलमा निभाएको भूमिकाको कदर गर्दै सन् २००५ मा एन्फाले लाइटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको थियो ।
नेपाली फुटबलको धरोहरको रूपमा रहेका शाक्य रक्षापङ्क्तिका खम्बा थिए । उनको लामो थ्रोइङ त्यसबेला निकै चर्चित थियो । उनको यही थ्रोका कारणले नेपालले विपक्षीको पोस्टमा थुप्रैपटक गोल गर्न सफल भएको थियो । राष्ट्रिय रूपमा निकै ख्यातिप्राप्त शाक्यले बंगलादेशमा व्यावसायिक फुटबलसमेत खेलेका थिए । राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रैपटक सहभागिता जनाएका शाक्यले युरोपका थुप्रै राष्ट्रसँग मैत्रीपूर्ण खेल खेलका छन् । शाक्यले प्रशिक्षकको रूपमा एनआरटी, मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लब सम्हालिसकेका छन् । उनले २०१३ मा ज्याक स्टेफोनोस्कीको नवीकरण नहुञ्जेलसम्म आन्तरिक रूपमा राष्ट्रिय प्रशिक्षकको रूपमा काम गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको खेलकुद क्षेत्रको विकासका लागि खेलकुद क्षेत्रलाई राजनीतिबाट मुक्त गरिनुपर्ने बताएका थिए । त्यस्तै सभासद् गणेश थापाले खेलाडीको हौसलाका लागि पुरस्कारको स्थापना गरेको र यसको दायर वृद्धि गरिने बताए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले राप्रपा नेपालको यो सम्मानले खेलाडीलाई हौसला र प्रोत्साहन प्रदान हुने बताएका थिए । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक विष्ट, राप्रपाका केन्द्रीय सदस्य दमन बस्नेत, राष्ट्रिय खेलकुद सङ्घ नेपालका अध्यक्ष लोकबहादुर शाहीले सम्बोधन गरेका थिए ।

जेकेएफ गोजुकाई अध्यक्षमा यलबहादुर
जेकेएफ गोजुकाई केन्बुकान कराते सङ्घ नेपालको अध्यक्षमा यलबहादुर गुरुङ ‘विजय’ निर्वाचित भएका छन् । उनी यसअघिको समितिमा समेत अध्यक्ष रहेका थिए । हालै सम्पन्न भएको सङ्घको पहिलो अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षत्रयमा रामचन्द्र अधिकारी, पुरुषोत्तम प्याकुरेल र होमराज पौडेल चयन भएका छन् । यस्तै महासचिवमा यामकुमारी गुरुङ ‘अस्मिता’, सचिवमा रमेश पाठक र कोषाध्यक्षमा उत्तमकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सङ्घको सदस्यहरूमा दीपेश भेटवाल, जयराम अधिकारी, बसुन्धरा तामाङ, चन्द्रकुमारी गुरुङ, भगवान थापा र विकास गुरुङ निर्वाचित भएका छन् । त्यस्तै सङ्घको पहिलो बैठकले विष्णुबहादुर सिंहलाई उपाध्यक्षमा मनोनीत गरेको थियो ।
अधिवेशनको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य, खेलकुद विभाग प्रमुख एवम् संविधानसभाका सभासद् धनराज गुरुङले उद्घाटन गरेका थिए । साधारणसभामा विशेष अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य मनबहादुर न्यौपानेको पनि उपस्थिति रहेको थियो । उनले नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गर्दै शुभकामना प्रदान गरेका थिए ।

चेस मास्टर्सको उपाधि विलमलाललाई
फिडे मास्टर विलमलाल श्रेष्ठले चेस मास्टर्स राउन्डरोबिन चेस प्रतियोगिताको उपाधि जितेका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित प्रतियोगितामा विलमले पाँच जित, तीन बराबरी र एकमा हार व्यहोर्दै ६.५ अङ्क जोडका थिए । समान अङ्क जोडेका प्रतियोगिताका सबैभन्दा कान्छा खेलाडी रूपेश जैसवालले दोस्रो स्थानमा चित्त बुझाए । रूपेश ‘कोया सिस्टम’का आधारमा दोस्रो स्थानमै सीमित भएका हुन् । प्रतियोगितामा पहिलो नेपाली फिडे मास्टर मनीष हमाल तेस्रो भएका थिए । उनले ६ अङ्क बटुलेका थिए । विजेतालाई पूर्वमन्त्री शङ्कर पोखरेल, सभासद् विनोद श्रेष्ठ, नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष राजेशहरि जोशी, एकेडेमीका अध्यक्ष रमेश सिलवाल र महासचिव पुरेन्द्रविक्रम लाखेले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । अनामनगरस्थित मदन भण्डारी मेमोरियल कलेजमा भएको पाँचदिने प्रतियोगितामा १० प्रतिस्पर्धी सहभागी थिए । प्रतियोगिता आयोजक एकेडेमीको छैटौँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको हो ।

मनाङ सेमिफाइनलमा
मनाङमस्र्याङ्दी क्लब ‘एनबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङले ४० प्लस नेपाल भेट्रान टिमलाई २–० गोलले पराजित ग-यो । मनाङका मिलन श्रेष्ठ र टासी छिरिङले १–१ गोल गरे । टासी ‘म्यान अफ द म्याच’ घोषित भए र मनाङले सेमिफाइनलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी र ब्वाइज युनियनबीचको विजेतासँग खेल्नेछ । मनाङलाई ‘डी’ हुँदै ‘ए’ डिभिजनसम्म पु-याई लिग जिताउन सफल टोलीका अधिकांश पूर्वखेलाडीले ४० प्लसविरुद्ध प्रतिस्पर्धा गरेका थिए । मनाङबाट मणिविक्रम शाह, विराटजंग शाह, अन्जित बस्नेतलगायत मैदानमा उत्रेका थिए । त्यसअघि नाइट किङ्स क्लबले जावलाखेल युथ क्लबलाई २–० कै नतिजामा हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित ग-यो । नाइटका लागि दुवै गोल आनन्द गुरुङले गरे । आनन्द ‘म्यान अफ द म्याच’ चुनिए । नाइटले पुस ३० मा त्रिभुवन आर्मी क्लबविरुद्ध क्वार्टरफाइनल खेल्नेछ । प्रतियोगिताअन्तर्गत सोमबार एनआरटी र क्लब मोसिस जोरपाटीबीच खेल हुनेछ ।

एनबीए नेपाल कप
भेट्रानहरूले रंगशाला तताए
लामो समयदेखि दशरथ रंगशालामा परेको फुटबलको खडेरीलाई हटाउन ‘नेपाल स्पोर्टस् फर अल क्लब’ सफल भएको छ । क्लबले फुटबललाई माया गर्ने र पूर्व राष्ट्रिय फुटबलरहरूबीच आपसी भाइचारा र प्रेमको अभिवृद्धि गर्न नेपाल बैंकर्स एसोसिएसनसँग हातेमालो गर्दै पहिलोपटक दशरथ रंगशालामा ‘एनबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगिताको सञ्चालन गरेको थियो । प्रतियोगिता पुस २५ गतेदेखि मााघ ३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरी नकआउट आधारमा प्रतिस्पर्धा गराइएको छ । प्रतियोगितामा ४० वर्ष पूरा गरेकाले मात्र सहभागी हुन पाउने प्रावधान छ । खेलअवधि जम्मा ६० मिनेटको हुनेछ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवजराज लामाले गरेका थिए ।
‘एनबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका छन् । समूह ‘ए’मा मनाङमस्र्याङ्दी क्लब, ४० प्लस नेपाल भेट्रान टिम, आदिवासी जनजाति फुटबल टिम, सानो गौचरण नाइट किङ क्लब, मदन भण्डारी स्पोर्टस् एकेडेमी टिम र ब्वाइज युनियन क्लब रहेका छन् । त्यस्तै त्रिभुवन आर्मी क्लब, जाउलाखेल युथ क्लब, सीएफटी चौघोडा भेट्रान टिम हेटौँडा, क्लब मोसिस जोरपाटी, नेपाल बैंकर्स एसोसिएसन (एनबीए) टिम र एनआरटी क्लब, न्युरोड समूह ‘बी’ मा परेका छन् । यी १२ टिमबाट फुटबलका पूर्वचर्चित खेलाडीसहित पूर्वमन्त्री, सभासद, डाक्टर, कलाकार, वकिल र सञ्चारकर्मीको खेल्ने पक्का भएको छ । प्रतियोगिताबारे जानकारी गराउँदै क्लबका अध्यक्ष लोकबहादुर शाहीले पूर्वखेलाडीलाई एकै थालोमा उपस्थित गराई पुराना दिनलाई ताजा बनाउन प्रतियोगिता सफल सावित हुने विश्वास व्यक्त गरेका छन् । उनले पूर्वफुटबलरहरू वाईबी घले, श्रीराम रञ्जितकार, अशोक केसी र मणि शाहलाई प्रतियोगिताबाट उठेको केही रकम उपचारका निम्ति सहयोग गर्ने जानकारी गराएका छन् ।
नकआउटको आधारमा सञ्चालन भएको नेपाल कप भेट्रान फुटबल प्रतियोगिताको अहिलेसम्म क्वार्टरफाइनलका खेलहरू सम्पन्न भइसकेका छन् । मनाङमस्र्याङ्दी सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । मनाङले आफ्नो पहिलो खेलमा वाई पाएको थियो । क्वार्टरफाइनलका खेलहरू सम्पन्न हुन्जेलसम्म विभिन्न टिमबाट नेपालका चर्चित अनुहारले आफ्नो सहभागिता देखाइसकेका छन् । जसमा नेपाली म्याराडोनाका रूपमा परिचित मणिविक्रम शाह, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पूर्वअर्थमन्त्री एवम् युवा नेता वर्षमान पुन, नायक धीरेन शाक्य, श्याम थापा, टासी घले, विराट शाही, राजेश मानन्धर, राजु पुलामी, उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, नरेन्द्र श्रेष्ठ, हरि मानन्धर, गणेश पाण्डे, भिक्टरजंग राणा, रमेश लामा, प्रदीप लामा आदिले सहभागिता जनाएका थिए । यी खेलाडीले पुसको जाडो पर्वाह नगरी बूढो जोस देखाउँदै रंगशाला तताएका थिए ।
‘एबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगिताको विजेता र उपविजेताले पाउने नगद पुरस्कार मध्यपुर ठिमीका पूर्वमेयर एवम् समाजसेवी मदनकृष्ण श्रेष्ठले प्रायोजन गर्ने भएका छन् ।
उनले विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए । श्रेष्ठ प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न गठित २५ सदस्यीय मूल आयोजक समितिका संयोजकसमेत हुन् ।

sportअन्तर्राष्ट्रिय पदक विजेता सम्मानित
भारतको पश्चिम बंगालमा भएको त्रिदेशीय खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई नेपाल बादोकाई कराते सङ्घ, शाखा डोजो मानसिंहले सम्मान गरेको छ । उक्त प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीका साथै नेपाल सितोरियो कराते डो सङ्घ, शाखा डोजो सामाखुसीका खेलाडीलाई सम्मान गरिएको हो । मानसिंहबाट ज्ञानी महर्जनले दुई स्वर्ण जितेकी थिइन् । त्यस्तै रूपा महर्जन, राजु गुरुङ, गोमन गिरी, प्राश्ना थापा र नीरज भण्डारीले १–१ स्वर्ण जितेका थिए । स्वर्णधारी रूपाले कास्य पनि हात पारेकी थिइन् भने अर्का खेलाडी विवेक ढुङ्गेलले पनि कास्य जितेका थिए । सामाखुसीबाट किरण गुरुङले एक स्वर्ण र एक रजत तथा लक्ष्मण पाण्डे र बसन्त राईले १–१ रजत हात पारेका थिए । सोही अवसरमा डिसेम्बर १९ देखि २१ तारिखसम्म भएको उक्त च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका राजेन्द्रकुमार ओझा र महेश महर्जन पनि सम्मानित भएका थिए ।