पृथ्वीको लक्ष्य – रामेश्वर राउत ‘मातृदास’

पृथ्वीको लक्ष्य – रामेश्वर राउत ‘मातृदास’


indreniपातमुनि झर्दै गए हरियो हुन्छ पालुवाले
हाँसी थमाइदिन्छु मुटु आज मागे यो देशले
यही देशको ढुङ्गा–माटो, हावा–पानी यो जिन्दगी
छटपटाई रुन्छ मन के दिई जाऊँ देशलाई ?

चल्दो मुटु छातीबीच जन्मभूति यहीँ पाएँ
कदम टाढा लम्किएथे आमा सम्झी फर्की आएँ
आफ्नो लागि मात्र बाँच्ने बाँचेर नि सधैँ मर्छन्
देशको लागि मर्नेहरू बाँच्नेभन्दा माथि पर्छन्

एउटा लक्ष्य पृथ्वीको टुक्रालाई एक पार्ने
पृथ्वीलाई च्याती खाने वैरीलाई छेको मार्ने
जाति, भाषा–भेष थिए यतैउतै छरिएका
पहिचान अनिश्चित, हामी थियौँ तरिएका

आज एकै फूलको माला मेचीदेखि महाकाली
हामीले बोक्नुपर्छ नेपाललाई काँध हाली
नेपालको नक्सा कोरी पृथ्वीले छाडी गए
फूलबारी रक्षा गर्दै जीवनभरि माली भए

देशघातीहरू मर्छन् एक दिन होइन घरिघरि
देश बिर्सी बाँच्नेहरू सास फेर्दै मुर्दासरि
पृथ्वी र शहीद छन् हाम्रा आत्मा भरिभरि
पुज्छौँ हामी तिनैलाई राखी स्वच्छ मनभरि ।
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती