पत्रकारमाथिको आक्रमण र पिलन्धरे सरकारको गर्जन

पत्रकारमाथिको आक्रमण र पिलन्धरे सरकारको गर्जन


-वीरेन्द्रमणि पौडेल
द्वापर र त्रेतायुगमा सञ्चारकर्मीको भूमिका देवरि्ष नारद र भगवान् श्रीकृष्णले निर्वाह गरेका थिए । त्यतिबेला पत्रकारका रूपमा चिनिएका श्रीकृष्ण र नारद दुवैले आफ्नो भूमिकाअनुरूप जस्ताको त्यस्तै समाचार दिन्थे । तीतो समाचार सुन्दा त्यतिबेला देवताको भूमिका निर्वाह गर्ने र दानवको भूमिका निर्वाह गर्नेहरू क्रोधित हुन्थे र कहिलेकाहीँ पत्रकाररूपी श्रीकृष्ण र नारदमाथि रिस पोख्थे, दारा किट्थे र बेलाबेलामा आक्रमण गर्ने उद्देश्यले मुड्की बटार्थे, लात्तो बजार्थे र कम्मरमा भिरिराखेको म्यानबाट तरबार बाहिर निकाल्थे । त्यतिबेला नारदले नारायण ! नारायण !! भन्ने शब्द मुखबाट निकाल्थे र सत्यलाई स्वीकार्न अनुरोध गर्थे । सम्बन्धित व्यक्ति तुरुन्तै सम्हालिन्थ्यो । नारदको जस्तै श्रीकृष्णले पनि हाँसेरै तह लगाउँथे रिसाएकाहरूलाई । सत्य, त्रेता, द्वापरयुग समाप्तिपश्चात् सुरु भएर कलीको आधा आयु समाप्त हुँदै गरेको बताइने मानव युगमा लेखेर, बोलेर र दृश्य प्रदर्शन गरेर मानव सदस्यहरूले नै मानवलाई सुसूचित गर्न थाले र यस्तो कर्मद्वारा चेतना फैलाउनेलाई नेपालको हकमा पत्रकार भनियो ।
अन्य क्षेत्रको तुलनामा चाँडो फड्को मारेको सञ्चार क्षेत्रमा कार्यरत नेपाली पत्रकारले उजागर गरिरहेका समाचार विभिन्न पेसामा आबद्धहरूले पचाउन सकेनन् । पत्रकारले सकारात्मक निष्कर्षका लागि आलोचना गर्छ भन्ने यथार्थ धेरैले बुझेनन्, जसले बुझे तिनले पनि शक्ति र सङ्गठनको ताकतको अहंकारका कारण अस्वीकार गरे । सत्यलाई स्वीकार्नुपर्छ असत्य ठानिन्छ भने, अन्याय महसुस गरिन्छ भने । कानुनी प्रक्रियाद्वारा न्यायप्रतप्तिका लागि न्यायालय जान सकिन्छ र जानुपर्छ भन्ने यथार्थलाई धेरैले महसुस गर्न सकेनन् त्यसमा पनि खासगरी नेपालका राजनीतिक दलहरूले बुझ्दै बुझेनन् । जसले सबैभन्दा पहिले बुझ्नुपर्थ्याे उनीहरूले पटक्कै बुझेनन् । राजा महेन्द्रको पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर कलम चल्यो । राजा वीरेन्द्रको पालामा प्रजातन्त्र र बहुदलीय व्यवस्थाको पक्षमा नेपाली पत्रकारले घनीभूत ढङ्ले कलम चलाए । २०४६ पछि प्रजातन्त्र फस्टाउँदै गर्दा तगाराका रूपमा अगाडि तेर्सिएका लाउडा, धमिजा, चाइना साउथवेष्ट काण्डजस्ता बडेबडे आर्थिक भ्रष्टाचारबारे नेपाली सञ्चार जगत्ले कलम चलाएर प्रजातन्त्रको सुन्दर गहनाको रूपमा आफूलाई उभ्यायो । २०६२/०६३ को आन्दोलनमा नेपाली सञ्चार जगत्को सम्पूर्ण साथ-सहयोग दलहरूलाई मिल्यो र दलहरू पुनः सत्तामा उक्लिन पाए । सञ्चार जगत्को मद्दत र प्रतेत्साहनमा नेपाली जनता सडकमा आएर छातीमा गोली थापिदिए । जनताका छातीबाट तरतरी चुहिएको रगतले गिरिजाप्रसादलाई दोहोर्‍याएर प्रधानमन्त्रीको कुर्सी दियो । डाक्टर रामवरण यादवलाई राष्ट्रपतिको कुर्सी दियो । प्रधानमन्त्रीको कुर्सीमा बस्न थुप्रैपटक दौरा-सुरुवाल सिलाएर पनि सफलता नपाएर सुस्केरा हालिसकेका माधवकुमार नेपाललाई प्रधानमन्त्रीको आसन दियो । विश्वजनमत लोकतन्त्रको पक्षमा रहेको जान्दाजान्दै उल्टो राजनीतिक हिँडाइ हिँडेर थाकेका प्रचण्डलाई संविधानसभामा ठूलो दलको हैसियत मात्र नदिई शक्तिशाली कार्यकारी अधिकारसहितको प्रधानमन्त्रीको कुर्सी नै दियो । वडाध्यक्ष पद राम्रोसँग हाँक्न नसक्नेहरूलाई उपप्रधानमन्त्रीको कुर्सी दियो । मरिसकेको राजनीतिलाई जनताको रगतले प्रतण हालिदियो । यी सबैका पछाडिको योगदान सम्पूर्ण रूपले महत्त्वपूर्ण योगदान भने पत्रकारिता क्षेत्रको थियो । त्यति मात्र होइन, नेपालको इतिहासमै सबैभन्दा ठूलो सुडान काण्डका नामले परिचित एपीसी खरिद र त्यसमा भएको करोडौँ भ्रष्टाचारबारे निरन्तर समाचार प्रकाशित, प्रसारित गरेर नेपाली पत्रकारिता जगत्ले ठूलो गुन लगायो । तर, घोर विडम्बना ! त्यही गुन लगाएबापत नेपालका पत्रकारलाई आक्रमण, धम्की र हत्याको शृङ्खला चलाएर ‘पुरस्कृत’ गरिँदै छ । बारामा पत्रकार वीरेन्द्र शाहको हत्या गरियो । जनकपुरमा उमा सिंहलाई बाँच्न दिइएन । टीका विष्टको औंला काटियो । पत्रकारमाथिको अत्याचारले निरन्तरता पायो र फेरि केही दिनअघि मात्रै समाचार लेखेकै निहुँमा विराटनगरका पत्रकार खिलानाथ ढकाललाई ज्यानै जाने किसिमले आक्रमण गरियो । ढकालमाथि साङ्घातिक आक्रमण गर्नेहरू नेपाल कम्युनिस्ट पार्टी एमालेका कार्यकर्ता रहेको पुष्टि भयो । दुईजना गिरफ्तार गरिए । पर्शुराम बस्नेत नामका आक्रमणकारी गिरफ्तार हुन बाँकी छन् । पर्शुराम बस्नेत पत्रकार आक्रमण कार्यमा संलग्न छन् भन्ने घाइते पत्रकार ढकालको भनाइ सार्वजनिक भएकोमा अर्का महेश बस्नेत नामका एमालेका चर्चित कार्यकर्ताले पर्शुराम आफ्नो सर्म्पर्कमा रहेको र ‘सके गिरफ्तार गर्नू’ भनी राज्यलाई हाँक दिँदै छन् । नेपालको राजनीति यसरी यतिबेला तरङ्गित बन्न पुगेको छ ।
यस घटनाबाट नेपाली पत्रकारले आत्मसम्मानमा चोट पुगेको महसुस गरे भने राजनीतिक दलहरूसमेत लाजले शिर निहुराउने अवस्थामा छन् । इज्जत धान्नकै लागि क्राान्तिकारी गृहमन्त्री कृष्णबहादुर महराले महेश बस्नेतलाई पक्राउ गरेर एक दिन थुने र छाडिदिए । यस काण्डबाट प्रस्ट भयो वहालवाला नेपाल सरकार लुलो छ । कानुन कार्यान्वयन गर्दैन वा चाहँदैन । अर्को कोणबाट हेर्दा शक्तिशाली राजनीतिक दलहरूको सहयोगमा निर्मित झलनाथ खनाल नेतृत्वको सरकार पत्रकारहरूलाई अन्य दलहरूजस्तै आफ्नो प्रतिस्पर्धी ठान्छ, दुश्मन ठान्छ । दल र सरकार यहीँनेर चुकेको देखिन्छ । सरकारमा रहेका दलहरूलाई अब प्रश्न सोध्न सकिन्छ- के पत्रकार दलका प्रतिस्पर्धी हुन् ? दलबाट निर्वाचित भएर दलकै नेता तथा कार्यकर्ता वडाध्यक्षदेखि मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिको कुर्सीमा बस्छन् । पत्रकारले ती सबै तहका कुर्सीउपर कहिले आँखा गाड्छन् वा लोभ गर्छन् र पत्रकारलाई व्यवहारद्वारा प्रतिस्पर्धी प्रमाणित गरिँदै छ ?
पत्रकारको भूमिका जहिलेसुकै सकारात्मक हुन्छ । सकारात्मक निष्कर्ष र परिणामका लागि पत्रकारले आलोचना गर्छ । आलोचना गर्नु पत्रकारको खास विशेषता हो । स्वच्छ आलोचना जनता, राजनीतिक दल र लोकतन्त्रकै लागि हितकर हुन्छ । तर, यसका लागि स्वच्छ आलोचना सहन र स्वीकार्न सक्ने क्षमताको विकास गर्न दलहरूले अब ढिला गर्न हुँदैन । राजनीतिक दलले जनताका लागि राजनीति गर्ने हो । पत्रकारले जनताकै लागि पत्रकारिता गर्ने हो तर दल र पत्रकारको बाटो मात्रै अलग हो भन्ने सत्यलाई खासगरी दलहरूले नबुझ्दा आज मुलुकमा दण्डहीनता मौलाएर लोकतन्त्रको बाहक र रक्षक पत्रकार आक्रमणको सिकार भएका छन् । नेपाली पत्रकारले आफ्नो भूमिका र कर्तव्य राम्रैसँग बुझेका छन् र सोहीअनुसार आफूलाई प्रस्तुत गरिरहेका छन् । बुझ्न बाँकी दलहरूले नै हो । पत्रकारको मुद्दाले लोकतन्त्र, सुशासन, न्यायपूर्ण समाज, दण्डहीनताको अन्त्य, शान्ति, नयाँ संविधानसँग सरोकार राख्छ न कि झिनामसिना विषय र कुनै दलविशेषका कुनै स्तरका कार्यकर्ताको समर्थन वा विरोधसँग ।
नेपाली पत्रकारले हरेक राजनीतिक दललाई सम्मान गर्छन् । ठीक काममा प्रशंसा र गलतमा आलोचना गर्छन् । कानुनी शासनको पक्षमा सदैव क्रियाशील रहेका छन् । पत्रकार राजनीतिक दल, तिनका कार्यकर्ताको विरुद्धमा न पहिले थियो न त आउने दिनहरूमा हुने छन् । अपराधमा संलग्नहरूलाई कानुनी कारबाही गर भन्नु, धर्ना दिनु नेपालको मात्रै होइन संसारकै पत्रकारको धर्म र कर्तव्य हो । नयाँ अनुहारको नेपाली कार्लमाक्र्सका नामले समेत चिनिएका, मौजुदा एमालेको राजनीतिक मार्गदर्शक स्वर्गीय मदन भण्डारीको अनुपस्थितिले नेकपा एमाले डगमगाएन । इमानदारको प्रतीकको रूपमा नेपाल र छिमेकी देशमा समेत चिनिएका मनमोहन अधिकारीको निधनबाट समेत एमाले ओइलाएन, सकिएन भने दोषी ठहरिए बढीमा जेल सजाय भएर एउटा पर्शुराम नामक कार्यकर्ता पार्टीबाट घट्ने हुन् । यसबाट एमाले कमजोर हुने पनि होइन सकिने पनि होइन । यो खालको वास्तविकता एमालेजस्तो चतुर पार्टीलाई थाहा नभएको पनि होइन । एमाले अध्यक्षले नै नेतृत्व गरिरहेको सरकार स्वतन्त्र प्रेसको पक्षमा रहेको वकालत ठुल्ठूलो स्वरमा गर्छ र दोषीलाई कारबाही गर्न पछि नपर्ने गर्जन गरिरहेको छ । यति भइकन एमालेले किन पर्शुरामलाई प्रहरीमा बुझाउँदैन ? ताजुबको विषय यही भएको छ । समय अझै छ पत्रकारमाथि शृङ्खलावद्ध आक्रमण धेरैजसो दलकै कार्यकर्ताबाट भएका छन् । समय नर्घर्किंदै एमालेलगायतका दलहरूले दण्डहीनताको अन्त्यगरी अन्तर्राष्ट्रिय साख जोगाउन पनि आ-आफ्ना कार्यकर्तालाई संयमित हुन निर्देशित गर्नैपर्छ । अपराधमा संलग्न कार्यकर्तालाई कानुनको दायरामा ल्याउन सहयोग गर्नैपर्छ । मौजुदा कानुन कार्यान्वयन गरी दण्डहीनता अन्त्य गर्न लुलो सावित सरकारले आफ्नो रूप र भूमिका परिवर्तन गर्नैपर्छ ।