आठौँको मिति माघ पहिलो साता तोकिने

आठौँको मिति माघ पहिलो साता तोकिने


राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगामी माघको पहिलो साता तोकिने बताएका छन् । प्रदेश नम्बर ५ मा आयोजना हुन गइरहेको आठौँ राष्ट्रिय प्रतियोगिताको भौतिक पूर्वाधारको निरीक्षणपश्चात् विष्टले माघको पहिलो साता आठौँको मिति तोकिने बताएका हुन् ।

यसअघि आठौँको आयोजनाको मिति दुईपटक तोकिए पनि निर्धारित समयमा प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । आठौँको पहिलो मिति मंसिर २१ देखि २९ गते र दोस्रो मिति माघ २५ देखि ३ गते तोकिएको थियो । त्यसपछि फागुनको दोस्रो सातादेखि आठौँको आयोजना हुने प्रचारप्रसार गरिए पनि राखेपले मिति भने तोक्न सकेको छैन ।

समयमै भौतिक पूर्वाधार निर्माण हुन नसक्दा आठौँको मिति दुईपटक सार्नुपरेको खुलासा गर्दै विष्टले भने, ‘अब तोकिने मिति अन्तिम हो, उक्त मितिमा आठौँ सञ्चालन हुन्छ, समय र परिस्थितिका कारण पनि अब हामीसँग अर्को विकल्प छैन, त्यसैले बाध्यतावश जसरी भए पनि आठौँको आयोजना फागुनमा हुन्छ ।’ आठौँ फागुनको दोस्रो सातादेखि सञ्चालन गरिने अड्कल काटिए पनि उक्त मितिमा आठौँ नहुने भएको छ । प्राप्त जानकारीअनुसार आठौँको आयोजनाको लागि निर्माण भइरहेका भौतिक पूर्वाधार र प्रतियोगिता आयोजना हुने स्थलको वातावरण दृष्टिगत गरी अब आठौँको मिति तोकिने सदस्यसचिव विष्टले जानकारी गराए ।

यतिबेला अन्य भौतिक पूर्वाधारको निर्माण ८५ प्रतिशत सम्पन्न भइसके पनि नेपालगन्ज र दाङको रंगशालाको कार्य ५० प्रतिशत सकिएको छ । अबको दुई महिनामा सम्पूर्ण पूर्वाधारको निर्माण सकिने भएकोले आठौँ आयोजनाको मिति फागुनको तेस्रो साता तोकिन सक्छ । यसका लागि सम्पूर्ण खेलकुदका निकायसँग छलफल भइरहेको पनि विष्टले बताए ।

‘आठौँको आयोजना फागुनमै हुन्छ, म ग्यारेन्टी गर्छु, शंका गर्ने कुनै कुरै छैन, कसैले रोकेर रोकिनेवाला छैन,’ विष्टले भने । केही व्यक्तिहरूले आठौँको अनर्गल प्रचार गरेको भन्दै त्यो आधिकारिक नभएको विष्टले दाबी गरे । आठौँको आधिकारिक निर्णय राखेपको बोर्डले गर्ने हो, कुनै व्यक्तिविशेषले होइन, त्यसैले यस्ता अनर्गल हल्लाको पछाडि नलाग्न खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई अनुरोध गरेका छन् ।