पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत पारा बहिरा क्रिकेट प्रतियोगितामा टिम ‘ए’ पहिलो भएको छ । मूलपानीको माथिल्लो मैदानमा भएको खेलमा टिम ‘ए’ले टिम ‘बी’लाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको टिम ‘ए’ले निर्धारित २० ओभरमा १ सय ५६ रनको योगफल खडा गरेको थियो । सुबोध थापाले ३३, मोहम्मद सब्बिरले ३१, कृष्ण धामीले १५, विजयकुमार राईले १४ र प्रशान्त सुवेदीले १३ रन जोडेका थिए ।
जवाफमा टिम ‘बी’ ५१ रनमा समेटियो । रोशन मगरले १२ तथा छविलाल पौडेलले ७ रन बनाए । टिम ‘ए’का ललन चौधरी उत्कृष्ट बलर तथा सुबोध थापा उत्कृष्ट ब्याट्सम्यान चुनिए । टिम ‘ए’कै मोहम्मद सब्बिर ‘म्यान अफ दी टुर्नामेन्ट’ घोषित भए ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले उदघाटन गरेका थिए भने विजेतालाई राखेपका सदस्य उपेन्द्र पौडेललगायतले पुरस्कृत गरेका थिए ।
प्रतिक्रिया