जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनको सम्पूर्ण तयारी पूरा

जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनको सम्पूर्ण तयारी पूरा


मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा हुने प्रथम राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगरस्थित शहीद रंगशालाको कभर्डहलमा हुने प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडी विराटनगर आइसकेको प्रतियोगिता निर्देशक मोरङ जिल्ला ब्याडमिन्टन संघका सचिव एवं नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठले जानकारी गराए ।

२ लाख ५० हजारबराबरको पुरस्कार राशि रहेको प्रतियोगितामा यू– १५ छात्र र छात्रा एकल तथा यू– १९ छात्र र छात्रा एकल तथा युगल गरी ६ स्पर्धामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । करिब २० लाखको लागत रहेको प्रतियोगितामा पहिलो हुनेले २ सय, दोस्रोले १ सय र तेस्रो हुनेले ५० यूएस डलर नगद पुरस्कारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उपत्यकादेखि बाहिर पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता भएका कारण सोचेअनुरूप विदेशी खेलाडीको सहभागिता नरहे तापनि आगामी दिनमा खेलाडीको सङ्ख्यामा वृद्धि हुनुका साथै प्रतियोगिताका कारण यस क्षेत्रमा ब्याडमिन्टन खेलको विकास र विस्तारमा अझ बढी बल पुग्नेमा आफू विश्वस्त रहेको प्रतियोगिता निर्देशक श्रेष्ठले जानकारी गराए ।

उनले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए । यस अन्तर्राष्ट्रिय प्रतियोगिताले अन्य क्षेत्रमा पनि ब्याडमिन्टन खेलको पूर्वाधारमा सहयोग पुग्नुका साथै अन्य क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न बल पुग्ने श्रेष्ठले उल्लेख गरे । प्रतियोगिताको उद्घाटन पुस २४ गते प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले गर्नुहुने कार्यक्रम रहेको छ ।

नेपाली खेलाडी पनि उक्त प्रतियोगितामा सहभागिता जनाउन पाउने भएका कारण उत्साहित भएका छन् । कतिपय खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर पाउने भएका कारण आफूहरू उत्साहित भएको बताए । हामीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन कठिनाइ हुन्छ, आफ्नै देशमा यस्ता प्रतियोगिताहरू आयोजना भएमा अन्तर्राष्ट्रिय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्न पाउनाले आफ्नो खेल–कौशलतालाई वृद्धि गर्न सकिन्छ– प्रतियोगितामा सहभागी एक खेलाडीले बताए ।