खेलकुदमा सेनाको बढ्दो लोकप्रियता

खेलकुदमा सेनाको बढ्दो लोकप्रियता


sportखेलकुद लेख
नेपाली खेल जगत्को प्रारम्भसँगै नेपाली खेलकुदको समग्र विकासका लागि नेपाली सेनाले अहम् भूमिका निभाउँदै आएको कसैबाट छिपेको छैन । सेनाले खेलकुदमा बढाएको सक्रियताले आमनेपालीमा आफ्नो छुट्टै पहिचान बनाएको छ । राजनीतिक हस्तक्षेपले खेलकुदको अस्तित्व नै सङ्कटमा परेको अवस्थामा सेना नै खेलकुदका लागि सङ्कटमोचन बनेको इतिहास हाम्रोसामु छ । त्यतिबेला सेनाको खेलकुदप्रतिको लगाव र संवेदनशीलता नहुँदो हो भने सायद अहिले नेपाली खेलकुद एकादेशको कथामा परिणत भइसक्थ्यो । राजनीतिक झटारोले पीडित विभिन्न खेलका खेलाडी यताउता भौँतारिरहेको अवस्थामा उनीहरूलाई समेटेर मार्गदर्शन गर्ने कार्य सेनाले गरेको थियो । आफ्नो मान, सम्मान र प्रतिष्ठाबाट हात धोइसकेको खेलकुदलाई सम्मानजनक स्थितिमा पु-याउन नेपाली सेना ढाल बनेको थियो । परिणाम, आज सम्पूर्ण खेलाडीले खेलकुदको वातावरणलाई महसुस गर्न पाएका छन् । खेलकुदबाट राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न पाएका छन् । त्यसैले त्रिभुवन आर्मी क्लबलाई अहिले पनि ‘मिनी राष्ट्रिय खेलकुद परिषदे’को संज्ञा दिइन्छ ।
खेलकुदप्रति जहिले पनि सकारात्मक धारणा राख्दै आएको नेपाली सेनाले वर्तमान अवस्थामा यसको सीमालाई अझ फराकिलो पारेको छ । पहिले एथलेटिक्स, फुटबल, बक्सिङ, कराते, तेक्वान्दो, भलिबल, ब्याडमिन्टन, जिम्न्यास्टिक र पौडीमा मात्रै आफूलाई सीमित राखेको सेनाले वर्तमान अवस्थामा अन्य खेलहरूलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ । यसको पछिल्लो उदाहरणको रूपमा घोडचढी र ट्रायाथलनलाई लिन सकिन्छ । छोटो अवधिमै घोडचढी र ट्रायाथलनमा पाएको अन्तर्राष्ट्रिय सफलता सेनाको मात्र नभई नेपालीको समेत गौरवको पाटो बनेको छ । यी खेलहरूमा सेनाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण, रजत र कास्य पदक जितेर नेपालको झण्डालाई अन्तर्राष्ट्रियस्तरमा फहराउन सफल भएका थिए । त्यस्तै विभिन्न खेलमार्फत सेनाका खेलाडीले नेपाली माटोको सुगन्ध अन्तराष्ट्रमा सुघाउँदै आएको कुरामा सायदै कसैको दुईमत होला । प्रथम ओलम्पियन स्वर्गीय भूपेन्द्र सिलवाल, गंगाबहादुर थापा र जितबहादुर केसी यसका जिउँदाजाग्दा उदाहरण हुन् । यी सेनाका खेलाडीले ओलम्पिकमा गरेको उत्कृष्ट प्रदर्शन अहिले पनि चर्चाको विषय बन्दै आएको छ । साँचो अर्थमा भन्नुपर्दा यसको सम्पूर्ण श्रेय सेनालाई जान्छ । सेनाकै कारणले उनीहरूले ओलम्पिकजस्तो खेलकुदको महाकुम्भमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेका थिए । ती खेलाडीले सञ्चारमाध्यममा प्रतिक्रिया दिँदा सेनाको खुलेर प्रशंसा गर्नुबाट नै सोझै अडकल र अनुमान लगाउन सकिन्छ । यसरी सेनाले खेलकुदको विकासमा कहिलेदेखि लगानी गर्दै आएको छ यी ओलम्पियनहरूको इतिहास पल्टाउँदा छर्लङ्ग हुन्छ ।
वर्तमान अवस्थामा विश्वमा मौलाउँदै गएको खेलकुदलाई नेपाली सेनाले खुलेर आत्मसात् र अनुसरण गरेको छ । सेनाले पुरुष खेलाडीलाई मात्र नभई महिला खेलाडीलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ । महिलालाई फुटबल, भलिबल, ब्याडमिन्टन, बक्सिङ, कराते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, उसु र सुटिङ आदि खेलमा अगाडि बढाएको छ । त्यस्तै अहिले नेपालको सर्वाधिक लोकप्रिय खेल क्रिकेटमा समेत महिला र पुरुषको क्रिकेट टिम तयार गर्नेपट्टि सेना लागेको छ । यसरी नेपाली खेलकुदको समग्र विकासमा अहम् भूमिका निभाइरहेको सेना अहिले नेपाली खेलकुदको अभिन्न अङ्ग अर्थात् मेरुडण्ड नै बनेको छ । खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले खेलाडी उत्पादन गरे पनि उनीहरूको भविष्य सुनिश्चित गर्न नसक्दा अहिले खेलाडीको उत्कृष्ट गन्तव्य पनि सेना नै बन्न पुगेको छ । नियमित अभ्यास र जागिरसमेत पाई आर्थिक रूपमा सबल हुने भएकाले खेलाडीका लागि सेना पहिलो रोजाइमा परेको छ । यही कुरालाई आत्मसात् गर्दै सेनाले राष्ट्रियस्तरका खेलाडीदेखि उदीयमान खेलाडीलाई सेनाको शीतल छहारीमा फल्ने–फुल्ने अवसर प्रदान गर्दै आएको छ । परिणाम, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सेनाका खेलाडीले दबदवा कायम गर्न सफल भएका छन् ।
हाल सञ्चालन भइरहेको एनबीए नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा सेनाले निभाएको भूमिका निकै तारिफयोग्य छ । अन्य विभागीय टोलीहरूले यो प्रतियोगिताप्रति खासै चासो नदेखाएको र औँला उठाएको अवस्थामा सेनाले खुलेर स्वागत गर्दै आफ्नो सहभागिता जनाएको थियो । साथै प्रतियोगितालाई सफल पार्न सेनाले गरेको आर्थिक र नैतिक सहयोग आयोजक स्पोर्टस् फर अलका लागि सञ्जीवनी बुटीजस्तै बनेको छ । सेनाले प्रतियोगितामा सहभागिता मात्रै होइन, अस्वस्थ खेलाडीको उपचारका लागि नगद पचास हजारसमेत प्रदान गरेर यो प्रतियोगितामा आफ्नो उपस्थितिलाई समेत प्रस्ट्याएको छ । अझ रंगशालामा परेको दर्शकहरूको खडेरीलाई चिर्न सेनाले आफ्ना हजारौँ फुटबलका समर्थकलाई रंगशालामा उतारेर ठूलो गुन लगाएको छ । यसैबाट अनुमान लगाउन सकिन्छ नेपाली सेना खेलकुदप्रति कति गम्भीर छ भनेर । यसरी खेलकुदको विकासलाई राष्ट्रको विकास र गौरवको सूचीमा राखेको सेनाले भविष्यमा खेलकुदलाई अझ परिस्कृत गर्न कुमालेको भूमिका ननिभाउला भन्न सकिँदैन ।

नेपाली सेना र मनाङमस्र्याङ्दी फाइनलमा
नेपाली सेना र मनाङमस्र्याङ्दी ‘एनबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् । सेनाले एनआरटी र मनाङले मदन भण्डारी स्पोर्टस् क्लबलाई पराजित गरी फाइनलमा प्रवेश गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा सेनाले बलियो मानिएको एनारटीलाई १–० को झिनो गोलअन्तरले पराजित गरेको थियो । निर्धारित समयको ३३औँ मिनेटमा अशोक गुरुङले गरेको गोलले सेनालाई फाइनलमा पु-याएको थियो । अशोक ‘म्यान अफ द म्याच’ चुनिएका थिए । त्यस्तै, उक्त प्रतियोगिताको अवसरमा नेपाली सेनाले स्पोर्टस् फर अल क्लबलाई नगद पचास हजार प्रदान गरेको थियो । उक्त पुरस्कार सेनाका उपरथी राजेन्द्र क्षेत्रीले क्लबका अध्यक्ष लोकबहादुर शाहीलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा शाहीले क्षेत्रीलाई क्लबको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।
त्यस्तै, मनाङमस्र्याङ्दी क्लब र मदन भण्डारी स्पोर्टस् एकेडेमीबीच भएको दोस्रो सेमिफाइनलमा मनाङले मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई २–० गोलले पराजित गरेको थियो । दुवै गोल दोस्रो हाफमा टासी छिरिङले गरेका थिए । निर्धारित ६० मिनेटको खेलमा टासीले ३८ र ५२औँ मिनेटमा बललाई जाली चुमाएका थिए । अब उपाधिका लागि मनाङले नेपाली सेनाविरुद्ध खेल्नेछ । स्पोर्टस् फर अल क्लब नेपालद्वारा आयोजित प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । फाइनल प्राविधिक कारणले गर्दा माघ १४ गतेलाई सारिएको आयोजकका अध्यक्ष लोकबहादुर शाहीले जनाएका छन् ।

मनकामना केबुलकारको उपाधि प्रहरीको पोल्टामा
मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ । पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल पुलिसले थ्री स्टार क्लबलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेलमा थ्री स्टारले अग्रता लिए पनि अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा खेलको नतिजा टाइब्रेकरमा पुगेको थियो । थ्री स्टारले जित्ने लगभग पक्का भइसकेको अवस्थामा ८५औँ मिनेटमा पुलिसका कप्तानसमेत रहेका भोला रिजालले गोल पर्काएर बराबरीमा ल्याएका थिए । प्रतियोगिताको पहिलो हाफ बराबरी रहे पनि दोस्रो हाफको शुभारम्भमा नै थ्री स्टारका विक्रम लामाले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । विजयसँगै पुलिसले तीन लाख ५५ हजार प्राप्त गरेको थियो । त्यस्तै दोस्रो हुने थ्री स्टारले दुई लाख एक हजारमै चित्त बुझाउनुपरेको थियो ।
विजयसँगै भाग्यमानी पुलिसले बेस्ट प्लेयरसहित चारवटा उपाधि हात पारेको थियो । प्रतियोगिताको ‘बेस्ट प्लेयर’को उपाधि पुलिसका कप्तान भोलाले हासिल गरेका थिए । उनले उक्त उपाधिसँगै मोटरसाइकल प्राप्त गरेका थिए । त्यस्तै बेस्ट डिफेन्डरमा दीपेन श्रेष्ठ, बेस्ट किपरमा रितेश थापा र बेस्ट प्रशिक्षकमा पुलिसकै विराटकृष्ण श्रेष्ठ चुनिएका थिए । त्यस्तै उपविजेताको तर्फबाट बेस्ट फरवार्डको उपाधि सन्तोष साहुखलले जितेका थिए भने बेस्ट मिडफिल्डरमा एपीएफका हेमन गुरुङ चुनिएका थिए । उनीहरूलाई जनही नगद पन्ध्र हजार प्रदान गरिएको थियो ।
विजयी टोलीलाई यस प्रतियोगिताका प्रमुख प्रायोजक मनकामना केबुलकारका प्रबन्ध निर्देशक राजुबाबु श्रेष्ठलगायतलले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए । सो समापन समारोहका प्रमुख अतिथि श्रेष्ठले आगामी वर्षमा पनि प्रतियोगितालाई प्रायोजन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । त्यस्तै फाइनल खेलको अवसरमा चारजना पूर्व राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको थियो । सम्मानित हुने खेलाडीमा मणिविक्रम शाह, डम्बरलाल मकाजु, सुकबहादुर गुरुङ र लोकबहादुर रञ्जित थिए । पोखरा कप फुटबल प्रतियोगिता गत पुस २३ गते माघ ३ गतेसम्म पोखरामा सम्पन्न भएको थियो ।

भेट्रान कप प्रतिस्पर्धामा चर्चित व्यक्तित्व
‘एनबीए’ नेपाल कप भेट्रान कप फुटबल प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरूले सहभागिता जनाएका थिए । जसमा पूर्व भारतीय राष्ट्रिय फुटबल टिमका खेलाडी तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक श्याम थापाले समेत प्रतिस्पर्धा गरेका थिए । त्यस्तै अन्य व्यक्तित्वहरूमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, एमाओवादीका युवा नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन, सबैभन्दा पाका ७२ वर्षीय पूर्व राष्ट्रिय खेलाडी यज्ञलाल श्रेष्ठ, नेपाली सेनाका उपरथी भिक्टर जंगबहादुर राणा, अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञान शर्मा र अभिनेता धीरेन शाक्य रहेका छन् । यसैगरी पहिलो र छैटौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफमा गोल्ड मेडल जित्ने खेलाडीले पनि यस प्रतियोगितामा विभिन्न क्लबबाट प्रतिस्पर्धा गरेका थिए । जसमा डाक्टर किरण राई, मणिविक्रम शाह, वसन्त गुरुङ, उपेन्द्रमान सिंह, राजेश मानन्धर, बालगोपाल महर्जन, बाबुकाजी धौबन्जार र राजेश थापा रहेका छन् । यी चर्चित खेलाडीको उपस्थितिले पहिलोपटक काठमाडौंको रंगशालामा आयोजना भएको भेट्रान कप फुटबल प्रतियोगितामा चार चाँद लागेको थियो । उनीहरूकै प्रेरणाले आगामी वर्षदेखि भेट्रान कपले निरन्तरता पाउने भएको छ ।

खेल समाचार

ब्याडमिन्टन टोली भारतमा
सइद मोदी अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली भारतको लखनउ गएको छ । जनवरी २० देखि २५ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा रत्नजित तामाङ, विकास श्रेष्ठ र दीपेश धामीले प्रतिस्पर्धा गर्नेछन् । उनीहरूले सिङ्गल्स र डबल्समा खेल्नेछन् । अफिसियलमा वीरेन्द्र श्रेष्ठ तथा टिम व्यवस्थापकमा ध्रुव महर्जन रहेका छन् । नेपाल ब्याडमिन्टन महासङ्घका महासचिव रामजीबहादुर श्रेष्ठका अनुसार प्रतियोगिताको कुल पुरस्कार राशि एक लाख २० हजार अमेरिकी डलर रहेको छ । एसियाली खेलकुदमा कास्यसहित अन्य थुप्रै अन्तर्राष्ट्रिय ब्याडमिन्टनका पदक विजेता एवम् भारतका नौपटकसम्मका राष्ट्रिय च्याम्पियन सइद मोदीको स्मृतिमा यो प्रतियोगिता हँुदै आएको छ । सइदको १९८८ मा हत्या भएको थियो ।

रतनकुमार टन्डन सहायकमा मनोनीत
नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रतनकुमार टन्डन एसियन भारोत्तोलन महासङ्घका अध्यक्ष मोहम्मद युसुफ अल मानको सहायकमा मनोनीत भएका छन् । कतारको दोहामा जनवरी ५ देखि ६ तारिखसम्म सम्पन्न एसियन भारोत्तोलन महासङ्घको चुनावी महासभाबाट अध्यक्ष टन्डनलाई सहायकमा मनोनीत गरिएको हो । यस्तै सङ्घका महासचिव पार्थ सारथीसेन गुप्त महासङ्घको प्राविधिक समितिको सदस्यमा निर्वाचित भएकाछन् । उनी महासङ्घको डिसिप्लेनरी कमिसनका सदस्यसमेत रहेका छन् । २९ देशका प्रतिनिधिको प्रतिस्पर्धा रहेको उक्त निर्वाचनबाट निर्वाचित १० मध्ये गुप्त एक भएको सङ्घले जनाएको छ । अल्पविकसित मुलुकको प्रतिनिधित्व गर्दै उक्त समितिमा नेपाल निर्वाचित हुनुले नेपालमा भारोत्तोलन खेलको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास लिन सकिन्छ । लगातार तीनपटक उक्त पदमा गुप्त निर्वाचित हुनुले नेपाली भारोत्तोलन खेलको विकास र विस्तारलाई विश्व रङ्गमञ्चमा चिनाउन मद्दत पुग्ने सङ्घले बताएको छ ।

दावाले लिए सङ्घर्षको जिम्मा
नेपाल कराते महासङ्घ एवम् नेपाल सितोरियो कराते डो सङ्घका अध्यक्ष तथा एसियाली प्यासिफिक सितोरियो कराते महासङ्घका प्रथम उपाध्यक्ष दावा गुरुङको संयोजकत्वमा एक सय ५१ सदस्यीय खेलकुद अधिकार संरक्षण सङ्घर्ष समिति गठन गरिएको छ । सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी गराइएको थियो । समितिले खेलकुदलाई नयाँ संविधानमा मौलिक हकका रूपमा स्थापित गरी सोहीका आधारमा खेलकुदको पुनर्संरचना गर्न १३ बुँदे सुझाव तथा मागपत्रसमेत पेस गरेको छ । समितिले प्रधानमन्त्री र संविधानसभा अध्यक्षमार्फत मातहतका सबै सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ । यसका लागि गुरुङले अहिले पूर्व राष्ट्रिय खेलाडी र खेलकुदका पदाधिकारीबीच आपसी छलफल र भेटघाटलाई बाक्लो पारेका छन् । गुरुङले अब पनि नभए कहिल्यै हुँदैन भन्दै आफू खेलकुद बचाउन वारपारको लडाइँमा लागेको प्रस्ट पारेका छन् ।

स्पोर्टस् साइन्स कोर्स सुरु
विभिन्न खेलका प्रशिक्षकलाई वैज्ञानिक पद्धतिबाट राष्ट्रियस्तरका खेलाडीलाई कसरी प्रशिक्षण गराउने भन्ने उद्देश्यका साथ राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले एडभान्स स्पोर्टस् साइन्स फर एलिट कोचेज कार्यक्रम सञ्चालन गरेको छ ।
फागुन २८ गतेसम्म चल्ने कोर्समा विभिन्न खेलका ८० प्रशिक्षक सहभागी छन् । उनीहरूलाई सात विदेशी र नौ स्वदेशी स्पोर्टस् साइन्स विज्ञले प्रशिक्षण दिनेछन् । विदेशीमा दक्षिण कोरियाको योङ इन विश्वविद्यालयअन्तर्गत स्पोर्टस् साइन्स विभागका डिन इम सुन गिल, दक्षिण कोरियाकै जन्जु भिजन विश्वविद्यालयअन्तर्गत शारीरिक शिक्षा विभागका खो वोन सु, क्युबाको इन्टरनेसनल स्कुल अफ फिजिकल एजुकेसन एन्ड स्पोर्टस्अन्तर्गत डिपार्टमेन्ट अफ स्पोर्टस् साइन्सका प्रोफेसर लुइस मिचेल आलवारो वेर्ता, ताइवनको नेसनल टाइवान नोर्मल युनिभिर्सटीअन्तर्गत डिपार्टमेन्ट अफ फिजिकल एजुकेसनका प्रोफेसर तिसुङ मिन हुन, डेनमार्कका साइकोलोजिस्ट डोर्थ गायल डेन कोर्न तथा भारतका साइन्टिफिक अफिसरद्वय डा. एमडी रंगा र डा. केपी मणिलालले प्रशिक्षण दिनेछन् । राखेप सदस्यसचिव युवराज लामाले कोर्सको उद्घाटन गर्दै राष्ट्रियस्तरका खेलाडीलाई दरिलो बनाउन कोर्स उपयोगी सावित हुने बताएका छन् ।

राष्ट्रिय महिला तेक्वान्दो माघमा
नेपाल तेक्वान्दो सङ्घअन्तर्गत महिला सशक्तीकरण व्यवस्थापन समितिको आयोजनामा प्रथम राष्ट्रिय महिला तेक्वान्दो प्रतियोगिता माघ २३ गतेदेखि हुने भएको छ । समितिले नयाँ र प्रतिभावान खेलाडीको पहिचान र उत्पादन गर्ने उद्देश्यले पहिलोपटक अधिराज्यभरिका प्रतिभावान महिला खेलाडीको मात्र सहभागितामा प्रतियोगिता आयोजना गर्न लागेको बताएको छ । साथै समितिले नेपालको तेक्वान्दो खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्राप्त गरेको सफलतामा महिला खेलाडीको अहम् भूमिका रहेको जानकारी गराउँदै महिलाको सहभागितामा मात्र राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गराउँदा महिलाको आत्मविश्वास, सफलता र सशक्तीकरणमा टेवा पुग्ने जनाएको छ ।
प्रतियोगितामा प्रतिस्पर्धा गर्न छनोट चरण पार गर्नुपर्नेछ । यसका लागि राष्ट्रिय महिला खेलाडीले समेत छनोट चरणमा सहभागिता जनाउनुपर्नेछ । तीनदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आयोजककी अध्यक्ष एवम् संयोजक नन्दा बस्यालले जानकारी गराएकी छिन् । अध्यक्ष बस्यालले यो राष्ट्रिय प्रतियोगितामा निर्णायक, प्रशिक्षक र व्यवस्थापनको भूमिका पनि महिलाले मात्रै निभाउने खुलासा गर्दै यसले तेक्वान्दो खेलमा नयाँपनको अनुभूति हुने विश्वास प्रकट गरेकी थिइन् ।
प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, नेपाल प्रहरी क्लब, एपीएफ क्लब र विश्वविद्यालय गरी नौ टिमका ९० खेलाडीले विभिन्न १० तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता सञ्चालन गर्न करिब १८ लाख १४ हजार सात सय रुपैयाँ खर्च हुने बताइएको छ । महिला सशक्तीकरण व्यवस्थापन समिति नेपाल तेक्वान्दो सङ्घअन्तर्गतको एउटा उपसमिति हो । जसको गठन गत वर्ष भएको थियो । प्रतियोगिताको जानकारी गराउन समारोहमा उपस्थित भएका नेपाल तेक्वान्दो सङ्घका महासचिव दीपराज गुरुङले महिलाहरूको सक्रियताले तेक्वान्दो विकासमा नौलो आयाम थपिने विश्वास प्रकट गरेका थिए । उनले यो समिति महिला खेलाडीको हकहित र अधिकारका लागि गठन भएको बताउँदै समितिका रहेका कार्यक्रमलाई नेपाल तेक्वान्दो सङ्घले सहयोग गर्ने बताएका थिए ।