सडकको काम शुरु भएसँगै बसाइँसराइमा कमी

सडकको काम शुरु भएसँगै बसाइँसराइमा कमी


– मुक्तिनाथ भुसाल, अर्घाखाँची

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा निजी आवास पुनर्निर्माणसम्बन्धी अभिमुखीकरण तथा समीक्षा गोष्ठी कार्यक्रम अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा शुक्रबार सम्पन्न भएको छ । स्थानीय पूर्वाधारअन्तर्गतका आयोजनाहरू आगामी एक वर्षभित्र सम्पन्न गरिनुका साथै निजी आवास अनुदानतर्फ हालसम्म २ करोड २२ लाख रुपैयाँ खर्च भइसकेको बताइएको छ । जिल्लामा कुल लाभग्राहीको सङ्ख्या १०३७ मध्ये ९४६ जनाले अनुदान सम्झौता सम्पन्न गरेका र प्रथम, द्वितीय र तृतीय अनुदान लिनेहरूमा क्रमशः ९४४, ३४७ र १५३ जना रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइका निमित्त कार्यालय प्रमुख बलराम मिश्रले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आफ्नो भनाइ राख्ने क्रममा विश्वको ११औँ भूकम्पीय जोखिममा रहेको हाम्रो देश नेपालमा हालसम्म जे–जति जोखिमहरू भए ९८ प्रतिशत भवन नै भएकाले यसप्रति विशेष ध्यान दिन सुझाव दिएका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार आयोजना निर्देशक इन्जिनियर गणेशराज वस्तीले जिल्लाको वास्तविक अवस्था जान्न यो कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रमकै अवधिमा अनुगमनमा समेत समय दिएका निर्देशक वस्तीले चाक्ला, सिद्धारा, पाकुरी, नयाँबस्ती हुँदै धानखोला सडकको हररेसम्म पुगी सम्बद्ध सबै पक्षलाई राम्रो गरेको भन्दै धन्यवाद दिएका थिए ।

भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठूलो शीतगंगा नगरपालिकामा दिनहुँ बढ्दै गएको बसाइँसराइ सडक निर्माण शुरु भएयता कम हुँदै गएको छ । चाक्ला, सिद्धारा, पाकुरी, नयाँबस्ती हुँदै धानखोलासम्मको करिब ५५ किलोमिटर सडक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय पूर्वाधारअन्तर्गत निर्माण शुरु गरेसँगै स्थानीयहरूले आफ्नो गाउँलाई माया गर्न शुरु गरेका छन् । भ्याटसहित २४ करोड ७४ लाख ४९ हजार नौ सय एकतीस रुपैयाँमा लुम्बिनी अर्घाखाँची पुष्पा जेभीसँग गत असारमा सम्झौता गरिएको यो सडकले अपेक्षा गरेभन्दा बढी र गुणस्तरीय काम भएको भन्दै शीतगंगा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष बाबुराम गैरेको भनाइ रहेको छ ।

सडकको मर्मत कार्यअगाडि बढेसँगै वर्षौंदेखि बाँझो रहेका जमिनहरूमा चल्ला उत्पादनका लागि ह्याचरीदेखि प्रसस्तै कृषि फर्महरू खोल्न यतिबेला स्थानीयहरूलाई भ्याइनभ्याई बनेको छ । यो सडक सम्पन्न हुनासाथ करिब दुई हजार घरधुरी लाभान्वित हुनुको साथै यस क्षेत्रले कृषि तथा पशुपालनमा आत्मनिर्भर बन्ने साइट इन्चार्ज हरिबहादुर बोहराबाट बुझियो । उनका अनुसार यस क्षेत्रको माटो अत्यन्तै चुनौती पूर्ण भए पनि काम गर्ने ठेकेदार कम्पनीले तोकिएको मापदण्डअनुसार काममा तीव्रता दिएको भन्दै सडक नमुनायोग्य बन्ने बताए । मुलुकका केही खराब ठेकेदार कम्पनीका कारण विकासे कार्यलाई ठगी खाने भाँडो बनाएको सङ्घारमा यतिबेलासम्म पुष्पा जेभीले प्राप्त गरेको प्रशंसा भविष्यसम्म टिकिरहने हो भने अन्य कम्पनीका लागि समेत उदाहरण बन्न सक्नेछ ।