महिला बास्केटबलमा साइपाल अपराजित

महिला बास्केटबलमा साइपाल अपराजित


डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमीले तेस्रो बुम महिला बास्केटबल प्रतियोगितामा अपराजित यात्रालाई कायम राखेको छ । चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा उपाधि दाबेदार साइपालले काठमाडौं नर्थ पोल क्लबलाई ६८–४१ ले पराजित गऱ्यो । जारी प्रतियोगितामा एक्लो अपराजित टिम साइपालका लागि प्रतीक्षा मगरले २५ अंक जोडेकी थिइन् ।

साइपालले राउन्ड रोविन लिगमा यसअघि समृद्धि गोरिल्लाज र आयोजक बीएमकेलाई हराएको थियो । साइपालले आफ्नो अन्तिम लिगमा अर्को आयोजक एनसीसीएससँग बुधबार प्रतिस्पर्धा गर्नेछ । चारवटै क्वार्टरको नतिजा आफ्नो पक्षमा पारेको साइपालले क्रमशः १४–१०, १३–१२, १७–१४ र १७–५ अंक जोडेको थियो ।

अर्को दाबेदार समृद्धिले एनसीसीएसलाई ४९–१८ ले सहजै हरायो । समृद्धिकी मुना महर्जनले २३ स्कोर गरिन् । सबै चार खेल खेलिसकेको समृद्धिको यो तेस्रो जित हो । समृद्धि सबै क्वार्टरमा हाबी रह्यो । समृद्धिले पहिलोमा ८–५, दोस्रो र तेस्रोमा समान १५–२ तथा चौथोमा ११–९ ले अगाडि रह्यो । साइपालसँग मात्र पराजित समृद्धिले अघिल्ला खेलमा बीएमके र काठमाडौं नर्थ पोललाई पन्छाएको थियो ।