विराटनगर अन्तर्राष्ट्रिय खेलाडीको उत्थानको थलो बन्दै

विराटनगर अन्तर्राष्ट्रिय खेलाडीको उत्थानको थलो बन्दै


नेपालका प्रिन्स दाहाल र प्रफुल महर्जनले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा यू–१९ मा विजयी शुरुवातका साथ अन्तिम आठको यात्रा तय गरेका छन् । प्रिन्सले प्रियान्सु क्षेत्रीलाई २१–१३, २१–११ ले तथा महर्जनले नेपालकै सुरज गुप्तालाई २१–८, २१–११ ले पराजित गरे ।

यसैगरी अन्तिम आठमा स्थान बनाउनेमा नेपालका सत्यम सुब्बा, प्रनिषसिंह ठकुरी, पविन लिन्थेप, म्यानमारका थु रिन रहेका छन् । सत्यमले नेपालकै सफल थापालाई २१–१९, २१–१६ ले पाखा लगाए । प्रनिषले नेपालकै देवराज रानालाई १७–२१, २२–२० र २१–१९ ले हराए । पविनले नेपालका दिवश विश्वकर्मालाई १९–२१, २१– १०, २१–१४, थुरिनले नेपालका पेम्बा शेर्पालाई २१–१५, २१–१२ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरे ।

मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यू–१५ तर्फ नेपालका रोहित बराल, विवेक चौधरी, उज्ज्वल श्रेष्ठ र नरेन्द्र बमले पनि अन्तिम आठमा स्थान पक्का गरे । रोहितले भारतका अनोज क्षेत्रीलाई २१–१३, २१–१४ ले, विवेकले नेपालकै जोन जसराजलाई २१–१६, २१–१८, उज्ज्वलले भारतका मिङ्मा छिरिङ लेप्चालाई २१–१४, २१–१४, नरेन्द्र्रले नेपालकै अनिष खतिवडालाई २१ –१९, २१–१७ ले पन्छाउँदै अन्तिम आठमा पुगेका हुन् ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले उदघाटन गरेका थिए । उनले राजनीतिक उत्थानको थलो विराटनगर अन्तर्राष्ट्रिय खेलाडीहरूको उत्थानको थलो, औद्योगिक क्षेत्रमा पनि अग्रज हुनुका साथै अब उपत्यकाबाहिर आएर जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अग्रणी भएको बताए । उनले यस प्रतियोगिताका कारण विराटनगरले जुनियर खेलाडी उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।

२ लाख ५० हजार राबरको पुरस्कार राशि रहेको प्रतियोगितामा यू– १५ छात्र र छात्रा एकल तथा यू–१९ छात्र र छात्रा एकल तथा युगल गरी ६ स्पर्धामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । करिब २० लाखको लागत रहेको प्रतियोगितामा पहिलो हुनेले २ सय, दोस्रोले १ सय र तेस्रो हुनेले ५० यूएस डलर नगद पुरस्कारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।