न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई ‘हो वान्जी’ बौद्ध समाज नेपालले मुख्य प्रायोजन गरेको छ । सुकेधारास्थित समाजका तर्फबाट नेपाल प्रमुख सोनाम भुटिया र प्रतियोगिता संयोजक कुमार राईले पुुस २४ गते मंगलबार सम्झौतापत्र आदनप्रदान गरेका छन् ।
‘हो वान्जी’ बौद्ध समाजका भुटियाले भने– हामी न्यु डायमण्डका फ्यान हौँ, प्रतियोगितासँग जोडिने अवसर पाएकोमा समाज गौरवान्वित भएका छौँ । सम्झौतामा उल्लेख भएअनुसार मुख्य प्रायोजक गरेबापत समाजले आयोजकलाई ५ लाख उपलब्ध गराउनेछ । सम्झौतापश्चात् प्रतियोगिता ‘हो वान्जी’ न्यु डायमण्ड कप दोस्रो खुला राष्ट्रिय महिला भलिबलको नामले सञ्चालन हुनेछ ।
प्रतियोगिता संयोजक कुमार राईले पुस २५ देखि २८ सम्म सञ्चालन हुने ‘हो वान्जी न्युडायमण्ड कप दोस्रो खुला राष्ट्रिय महिला भलिबल’ प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । संयोजक राईले ‘हो वान्जी’ बौद्ध समाजलाई महत्वपूर्ण सहयोगका लागि धन्यवाद व्यक्त गरे । त्यस्तै प्रतियोगितालाई नानी छोरी स्मृति प्रतिष्ठानका अशोककुमार मालीले तेस्रो पुरस्कारको रकम १ लाख १ हजारको प्रायोजन गरेका छन् ।
ब्ल्याकहर्ष सुजका एमडी चिनियाँ श्रेष्ठले चौथो पुरस्कार ५१ हजारको प्रायोजन गर्ने भएका छन् । सेन्चरी कमर्सियल बैंकले व्यक्तिगत विद्याका सम्पूर्ण उत्कृष्ट खेलाडीले प्राप्त गर्ने पुरस्कारको रकम ५० हजार प्रायोजन गर्ने भएको प्रतियोगिता संयोजक राईले बताए । प्रतियोगितालाई अन्नपूर्ण गाउँपालिका छोमोरोङका भलिबल शुभचिन्तकबाट ५० हजार ४ सय, हाल अमेरिकानिवासी भलिबलका वरिष्ठ प्रशिक्षक हुकुमराज गिरी र भलिबल खेलाडी रमिला तण्डुकारबाट ५०–५० हजार सहयोग प्राप्त भएको छ ।
प्रतियोगितालाई मुक्तिनाथ विकास बैंकले ३० हजार, हेस्टेहैँसे सहकारी, चन्द्र्रागिरि नगरपालिका–१५ र हाल जापाननिवासी नीलम राउतबाट २५–२५ हजार, कुमारी बैंकबाट २० हजार सहयोग प्राप्त भएको छ । प्रतियोगिताको लागि नेपाल भलिबल संघले १५ हजार, संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले २५ हजार, संघका महासचिव जितेन्द्रबहादुर चन्दले १० हजार सहयोगको घोषणा गरेका भने चन्द्र्रागिरि नगरपालिका– १५ का वडाध्यक्ष उत्तमबहादुर राउतले व्यक्तिगत १० हजार सहयोग गरेका छन् ।
नैकापस्थित न्यु डायमण्ड एकेडेमीमा लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । साविक विजेता न्यू डायमण्ड र चितवन टाइगर्स समूह ‘ए’मा रहेका छन् भने समूह ‘बी’मा टप्स र पारामाउन्ट छन् । त्यस्तै, समूह ‘सी’मा आर्मी र पुलिस तथा समूह ‘डी’मा एपीएफ र जावलाखेल रहेका छन् ।
प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पाउनेछन् । तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ र व्यक्तिगत विधाका उत्कृष्टले जनही ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार तथा समापन सभामुख कृष्णबहादुर महराले गर्नेछन् । उदघाटन खेल आयोजक न्यु डायमण्ड र चितवन टाइगर्सबीच हुनेछ ।
प्रतिक्रिया