‘आठौँ’ फागुनमै हुन्छ, रोकेर रोकिनेवाला छैन : विष्ट

‘आठौँ’ फागुनमै हुन्छ, रोकेर रोकिनेवाला छैन : विष्ट


– श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद प्रतियोगितालाई निरन्तर रूपमा सञ्चालन गर्न सातौँपश्चात् आठौँ राष्ट्रिय प्रतियोगिताको जिम्मेवारी प्रदेश नम्बर ५ नेपालगञ्जलाई राष्ट्रिय खेलकुद परिषद्ले सुम्पिएको थियो । निकै उत्साह र गौरवका साथ आठौँको झन्डा बोकेका मध्यपश्चिमाञ्चलका पदाधिकारीहरूले त्यसपछि आठौँलाई आफ्नो प्रतिष्ठाको विषय बनाए । जिम्मेवारी पाएलगत्तै आठौँको तयारीमा जुटेको मध्यपश्चिमाञ्चलले युद्धस्तमा कार्य अगाडि बढायो ।

त्यसमा निर्धारित समयमा आठौँको आयोजनाको लागि राखेपले होस्टेमा हैँसे पनि गऱ्यो । परिणाम, आठौँको आयोजनाको लागि अनुकूल वातावरण बन्दै गएको अवस्था पनि थियो । तर, पछिल्लोपटक नेपालको राजनीतिसँगै सरकार परिवर्तनपछि आठौँको तयारीमा सुस्तता आयो । जुन उद्देश्यअनुरूप आठौँको कार्य अगाडि बढ्नुपर्ने थियो त्यसमा जटिलता उत्पन्न भयो । परिणाम, युद्धस्तरमा भइरहेका कार्यहरूमा शिथिलता आयो, निर्धारित समयमा आठौँ हुन सकेन । त्यसपछि पुनः राखेपले अर्को मितिको घोषणा गरे पनि त्यसमा पनि हुन नसक्ने छाँटकाँट देखिएपछि अहिले आठौँको सास फागुनमा आएर रोकिएको छ । अब फागुनमा पनि आठौँ राष्ट्रिय प्रतियोगिता हुन्छ या हुँदैन त्यसको कुनै अत्तोपत्तो छैन । यसर्थमा सन्निकट आएको आठौँको मिति अहिलेसम्म तोकिएको छैन ।

प्रत्येक दुई वर्षमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना निश्चित समयमै गर्न राखेपले आठौँको मिति २०७५ साल मङ्सिर २१ देखि २९ गते तोकेको थियो । सबैलाई थाहा भएकै कुरा हो, शुरुवातका केही राष्ट्रिय प्रतियोगिता निर्धारित समयमा सञ्चालन भए पनि त्यसपछि तोकिएको समयमा हुन सकेका छैनन् । कुनै–कुनै ठाउँमा त तोकिएको स्थानमा राष्ट्रिय प्रतियोगिता हुन नसक्दा अन्तिम समयमा काठमाडौंमा सारिएको इतिहास पनि छ, त्यो पनि लामो समयको अन्तरालमा । यस्तो अवस्थामा तीन महिना आठौँपछि सर्नु कुनै ठूलो र नौलो घटना होइन् । राखेपले दोस्रोपटक आठौँको मिति घोषणा गर्दा माघ २५ देखि फागुन ३ गतेको मिति तय गरेको थियो । तर, यो मितिमा पनि आठौँको आयोजना हुने सम्भव नहुने देखिएपछि अहिले फागुनभित्र जसरी पनि आठौँ गर्ने पक्षमा राखेप देखिएको छ । र पनि, जुन किसिमले अहिले सञ्चारमाध्यममा आठौँको बारेमा जसरी समाचार सम्प्रेषण भएका छन् त्यसलाई नजरअन्दाज गर्ने सक्ने अवस्था छैन ।

परिषद्का सदस्यसचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताप्रति भ्रामक समाचार आएकोमा खेद प्रकट गरेका छन् । यो गलत सोचको उपज हो भन्दै विष्टले भने, ‘आठौँ राष्ट्रिय प्रतियोगिता फागुनमै हुन्छ, यसमा कुनै शङ्का छैन, कसैले षडयन्त्र गरेर आठौँ रोकेर रोकिनेवाला पनि छैन, आठौँ, हुन्छ, हुन्छ, हुन्छ, फागुनमै हुन्छ ।’

राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै ‘फागुनपछि पनि केही महिना आठौँ हुँदैन,’ भनेपछि आठौँको माहोल पुनः तातेको छ । तिम्सिनाले आठौँ आयोजना हुने खेलस्थल र बन्दै गरेका भौतिक पूर्वाधार निरीक्षण गरेपछि फागुनमा आठौँ हुन नसक्ने र हतारमा आठौँको मिति नतोकिनेसमेत बताएका थिए । सम्बन्धित निकाय नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले आठौँको बारेमा अहिलेसम्म कुनै आधिकारिक निर्णय र धारणा प्रस्तुत गरेको छैन । तर, तिम्सिनाले आफूलाई आधिकारिक व्यक्तिको रूपमा प्रस्तुत गर्दै जसरी आठौँको बारेमा प्रतिक्रिया दिए, त्यो अधिकार उनलाई कसले दियो, त्यो अहिले खेलकुदमा चर्चाको विषय बनेको छ । अधिकार प्राप्त हुँदासमेत सयौँचोटि सोचेर बोल्नुपर्ने राष्ट्रिय मुद्दामा सस्तो लोकप्रियता कमाउन तिम्सिनाले दिएको प्रतिक्रिया अहिले विवादित बनेको छ । जसले आठौँको आयोजनामा नकारात्मक सन्देश जाने पनि पक्का भएको छ । सत्यता तीतो हुन्छ, तर यो शतप्रतिशत साँचो हो । राखेपमा तिम्सिनाको कानुन अधिकार भनेको अध्यक्ष नभएको बेलामा अध्यक्षता गर्ने मात्रै हो । तर, उपाध्यक्ष तिम्सिना किन कार्यकारी प्रमुखको रूपमा प्रस्तुत भई खेलकुदलाई विवादमा ल्याउने प्रयास गरिरहेका छन्, त्यो रहस्यमय बनेको छ । यो तिम्सिनाको काँधमा बन्दुक राखेर फड्काउनेहरूको चाल पनि हुन सक्छ, तर तिम्सिनाले यो कुरा किन बुझेर पनि बुझपचाई रहेका छन् त्यो अहिले चिन्ताको विषय बनेको छ ।

चौथो, पाँचौँ, छैटौँ र सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्ण रूपमा भौतिक पूर्वाधार निर्माण भएर आयोजना भएका होइनन् । ती स्थानहरूमा निर्माण हुँदै गरेका क्रममा राष्ट्रिय प्रतियोगिताको आयोजना भएको विगतको इतिहास कसैबाट छिपेको छैन । अहिलेसम्म छैटौँ र सातौँ राष्ट्रिय प्रतियोगिताको क्रममा निर्माण हुनुपर्ने पूर्वाधारहरू अहिलेसम्म निर्माणको क्रममा छन् । त्यतिबेला राष्ट्रिय प्रतियोगिता गर्नुपर्ने बाध्यता थियो त्यसैलाई आत्मसात् गर्दै पूर्ण रूपमा पूर्वाधार निर्माण नभए पनि प्रतियोगिताको आयोजना गरिएको थियो । हो, राष्ट्रिय प्रतियोगिता भनेको के हो ? त्यसले आफ्नो औचित्य पुष्टि गर्नुपर्छ । तर, यो नेपाल हो, यो कुरा बुझ्नुपर्ने जरुरी छ । अर्को कुरा सरकार राष्ट्रिय प्रतियोगिताप्रति कति गम्भीर थियो, मागबमोजिमको बजेट समयमै उपलब्ध गराएको थियो कि थिएन ? सोअनुरूप कार्य भएको छ कि छैन त्यो महत्वपूर्ण कुरा हो । यो कुरा उपाध्यक्ष तिम्सिनालाई पनि राम्रोसँग थाहा छ, तर उनी बेमौसमको खेती किन गरिरहेका छन् त्यो प्रश्नचिह्नको घेरामा परेको छ ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताप्रति भ्रामक समाचार आएकोमा खेद प्रकट गरेका छन् । यो गलत सोचको उपज हो भन्दै विष्टले भने, ‘आठौँ राष्ट्रिय प्रतियोगिता फागुनमै हुन्छ, यसमा कुनै शङ्का छैन, कसैले षडयन्त्र गरेर आठौँ रोकेर रोकिनेवाला पनि छैन, आठौँ, हुन्छ, हुन्छ, हुन्छ, फागुनमै हुन्छ ।’ त्यसको लागि नेपाल सरकार, खेलकुद मन्त्रालय, राखेप र क्षेत्रीय समिति युद्धस्तरमा लागेको पनि खुलासा गरे । आठौँको बारेमा जुन टीका–टिप्पणी आएको छ, त्यो व्यक्तिविशेषको हो ।

व्यक्तिले त जे पनि बोल्न सक्छ भन्दै विष्टले भने, ‘त्यसले खासै अर्थ लाग्दैन । कुनै कुराको बारेमा टीका–टिप्पणी गर्दा आधिकारिक व्यक्ति हुनुपर्छ । आधिकारिक व्यक्तिले नबोलेको कुराप्रति मेरो केही भन्नु छैन । उनीहरू के–के बोल्छन् त्यसको प्रतिवाद गर्न म आवश्यक ठान्दिनँ पनि ।’ म तपाईंको पत्रिकामार्फत सम्पूर्ण खेलकुदकर्मीहरूलाई सन्देश दिन चाहन्छु भन्दै विष्टले भने, ‘आठौँको आयोजना राज्यले गर्न लागेको हो, त्यसमा कुनै शङ्का छैन, त्यसैले अन्योल र भ्रममा नपर्नुहोला ।’ यतिबेला नेपालगञ्ज रंगशाला र दाङको रंगशालाको निर्माण कार्य ५० प्रतिशत सकिसकेको र पुसभित्र ७५ प्रतिशत सकिने विष्टले बताए । त्यस्तै अन्य आयोजना स्थलको अहिले ८५ प्रतिशत कार्य सकिएको र फागुनसम्म पूर्ण रूपमा तयार हुने खुलासा गरे ।

राखेपले आठौँ राष्ट्रिय प्रतियोगिताको आयोजनाको लागि सरकारसँग ४३ करोडको बजेटको माग गरेको थियो । सरकारले अहिलेसम्म आठौँका लागि १७ करोड ८५ लाख उपलब्ध गराइसकेको छ । प्रतियोगिता सन्मुख आइसक्दा पनि बाँकी रकम सरकारले किन उपलब्ध नगराएको होला भन्ने प्रश्नमा विष्टले भने, ‘यो सबै सरकारको नीति तथा कार्यक्रममा निर्धारित कुरा हो, बजेट आउन केही समय लागेको हो । बजेट आउने कुरामा म विश्वस्त छु ।’