पुसभरि तापक्रममा उचारचढाव हुने मौसम विभागको अनुमान

पुसभरि तापक्रममा उचारचढाव हुने मौसम विभागको अनुमान


काठमाडौं उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।

न्यूनतम तापक्रम घटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेदीले जानकारी दिए । ‘माघ आउन बाँकी नै रहेकाले उपत्यकाको मौसममा अझै केही दिन उतारचढाव आउने छ,’ सुवेदीले बताए ।

उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

मध्य र पूर्वी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि बिहीबार देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार पूर्वी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।