बिपी संग्रहालय र पुष्पलालको जन्मघर संरक्षण गर्न सांसदको माग

बिपी संग्रहालय र पुष्पलालको जन्मघर संरक्षण गर्न सांसदको माग


राष्ट्रिय सभाको बुधबार बैठकमा सांसदहरूले पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको संग्रहालय र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मघरको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको विशेष समयमा सांसद दीनानाथ शर्माले सुन्दरीजलमा रहेको विश्वेश्वरप्रसाद कोइरालाको संग्रहालय व्यवस्थित नभएको र पुष्पलालको जन्मस्थल रामेछापको भँगेरीमा रहेको घरसमेत भूकम्पले भत्किएपछि पुनर्निर्माण हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद शर्माले जननेता पुष्पलालको भत्किएको घर निर्माण गरी संग्रहालयका रूपमा विकास गर्नुपर्नेमा त्यस विषयमा सरकारले कुनै पनि ध्यान नदिएकोमा त्यहाँका बासिन्दा निकै दुःखी रहेको आफूले पाएको सुनाए ।

चित्रकारले कुँदेको पुष्पलाल र शहीद गंगालाल श्रेष्ठको चित्र त्यत्तिकै भुइँमा राखिएको हुँदा पुष्पलालजस्तो नेतालाई सबैभन्दा ठूलो उपेक्षा भएको आफूले महसुस गरेको हुँदा राज्यले महत्वपूर्ण व्यक्तित्वको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए ।