होराइजन अपार्टमेन्टवासीमा पलायो आशा

होराइजन अपार्टमेन्टवासीमा पलायो आशा


काठमाडौंमा बनेका बहुतले अपार्टमेन्टमध्ये महाराजगञ्ज छेउको पार्क भ्यू होराइजन अपार्टमेन्टलाई बलियो, सुविधायुक्त र महँगोको रूपमा हेरिएको थियो । तर, ०७२ सालको भूकम्पले सबभन्दा बढी क्षति भने सोही होराइजनमा हुन पुग्यो । आफ्नै घर हुँदाहुँदै पैसा थन्क्याउने हिसाबले प्रायः ९० प्रतिशत व्यक्तिले उक्त अपार्टमेन्टका फ्ल्याट खरिद गरेका थिए । भूकम्पअघि केही व्यक्ति बसिसकेका थिए भने केहीले रङ्गरोकन गर्दै थिए । भूकम्पले सम्बन्धित सबैको आशामा तुषारापात गरिदियो ।

भूकम्पपश्चात अपार्टमेन्टमा बस्नेहरू संगठित भई दानबहादुर बुढाथोकीको संयोजकत्वमा होराइजन मालिकसँग पुनःमर्मत (रेट्रो) गर्नका लागि समिति गठन गरे । समितिले पटक–पटक बैठक गर्दै सरकार गुहार्नेदेखि लिएर ‘मालिक’ जयपुरियासँग भेट्न प्रयास पनि गरे । असली मालिकको खोजीमै दुई वर्ष बित्यो भने सरकारले मालिक खोजेर ल्याउने, सरकार कारवाही गर्न तयार छ भन्ने जवाफमै रुमलिएर बस्न थाले । भूकम्प गएको तेस्रो वर्षको शुरुवातमा बलल होराइजन मालिकसँग बुढाथोकीको समितिले भेट गर्ने मौका पायो । दुबैतर्फ वार्ता पनि पटक–पटक चल्यो । सो अपार्टमेन्ट पूनः मर्मत–सम्भार गर्न २ अर्ब ८ करोड इष्टिमेट गरी प्रतिव्यक्ति प्रतिस्वायर फिट रु. ४ हजार मागेको थियो ।

तर अपार्टमेन्टवासीका तर्फबाट मुद्दामा जाँदा ४÷५ वर्ष लाग्ने भएकोले बोर्गेनिङ गरी ६० प्रतिशत जयपुरिया र ४० प्रतिशत रकम अपार्टमेन्टवासीले ब्यहोर्नेगरी मौखिक सहमति गर्न सरोकारवालाहरू सफल भएका छन् । जयपुरियाले साधारणसभाबाट सर्वसम्मत पारित गरेर ल्याएमा ‘टिओआर’ (सम्झौता) गर्नेछु भनी बचन दिएपछि अपार्टमेन्टवासीले सर्वसम्मतिले निर्णय गरेका हुन् । अबचाहिँ अपार्टमेन्ट मरम्मत हुने भयो भनी उनीहरू आशावादी बनेका छन् । यसरी सहमतिमा ल्याउन बुढाथोकीको भूमिका अहम् रहेको भन्दै प्रशंसासहित अपार्टमेन्टवासीले मर्मत कार्य अघि बढाउन उत्प्रेरित गरेका छन् ।