अब गण्डकी प्रदेशबाट पनि श्रम स्वीकृति

अब गण्डकी प्रदेशबाट पनि श्रम स्वीकृति


वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आज (बिहीबार)देखि गण्डकी प्रदेशको पोखराबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहजरूपमा उपलब्ध गराउने उद्देश्यले सरकारले सो प्रदेशबाट पनि पुनः श्रम स्वीकृति जारी गर्न लागेको हो ।

सरकारले पहिलो चरणमा यही पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदान गर्न शुरु गरिसकेको छ ।

प्रदेश कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गरिने वैदेशिक रोजगार विभागको भनाई छ ।

सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीलाई उद्धृत गर्दै राससले जनाएको छ ।

अन्य प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाह गर्ने गरी आवश्यक व्यवस्था अन्तिम चरणमा पुऱ्याइएको र छिट्टै ती कार्यालयबाट सेवा प्रवाह गरिने उनले बताए ।

प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठमाडौंको ताहाचालस्थित श्रम कार्यालयमा लाइन लाग्नुपर्ने छैन ।