भवन बनाउन गाउँपालिकालाई निःशुल्क जग्गा

भवन बनाउन गाउँपालिकालाई निःशुल्क जग्गा


तेह्रथुमको फेदाप गाउँपालिकालाई कार्यालय भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएका छन् । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयवासीले ६० लाख मूल्यबराबरको ६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

गाउँपालिकाको केन्द्र औँसीबजारनजिकै भवन निर्माणका लागि ६ रोपनी जग्गा प्राप्त भएको र सो जग्गा गाउँपालिकाको नाममा रजिस्ट्रेसन पाससमेत गरिसकिएको गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले बताए । उनका अनुसार गाउँपालिकालाई स्थानीय होमप्रसाद कोइराला, गंगा राई, अमृतबहादुर लिम्बू र जयप्रसाद लिम्बूले संयुक्त रूपमा ३० लाख रुपैयाँबराबरको तीन रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

यस्तै, स्थानीय शेरबहादुर थापाले स्व. श्रीमती तिलरुपाको स्मृतिमा रु. ३० लाखबराबरको तीन रोपनी जग्गा उपलब्ध गराएका हुन् । जग्गा प्राप्तिपछि अब गाउँपालिकाको आफ्नै भवन निर्माणका लागि पहल थालिने अध्यक्ष चोङवाङले बताए ।

गाउँपालिकाको आफ्नै भवन नहुँदा भाडाका लागि मात्रै गाउँपालिकाले लाखौँ रुपैयाँ खर्च गरिरहेको छ । भाडाको घरमा साँघुरा कोठा भएकाले काम गर्नसमेत असजिलो भइरहेको छ ।