संविधान बनाऊ !– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

संविधान बनाऊ !– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’


indreniबनाउ छिट्टै अब संविधान
लागू हवस् त्यो मुलुकी अईन
यै माघको आठ गते छ म्याद
होला नि गुज्रेर गए फसाद ।।१।।

छ, सात, आठैतक हुन् प्रदेश
पहाडकै साथ रहोस् मधेश
कोही नछुट्ने अथवा नटुट्ने
निर्माणमा देश समस्त जुट्ने ।।२।।

छन् जात धेरैथरि वर्ण, लिङ्ग,
भाषा तथा संस्कृति अङ्ग–अङ्ग
स्वतन्त्रता धार्मिकले बनाई
सद्भावको भाव नयाँ जगाई ।।३।।

लेउन् युवाले बलियो कमान
नारी तथा हुन् पुरुषै समान
जो वृद्ध वा बालकको सुरक्षा
असक्त होस् जीवन पूर्ण रक्षा ।।४।।

पृथ्वी अटाउन् यस देशभित्र
ती बुद्धको शान्ति मिलोस् पवित्र
विस्तार, साम्राज्य हटुन् तमाम
नेपाल अक्षुण्ण र सार्वभौम ।।५।।

जातीय राज्यै पनि चाहिँदैन
नेपाल टुक्र्याउन पाइँदैन
सङ्घीयता होइन, पूर्ण देश
नेपाल सम्पन्न हुने विशेष ।।६।।

आतङ्क पैmल्यो दश वर्षसम्म
नेपाल ध्वस्तै पनि भो अचम्म
मारे मराए विधवा बनाए
अशान्तिको देश भनी चिनाए ।।७।।

विकासमा भो गतिरोध आज
निञा हरायो अथवा निसाफ
भागे युवा गाउँसमेत छाडी
बढ्दै गए शोषक वा गफाडी ।।८।।

मानेन जसले विधिको विधान
ल्याउन्न उसले तब संविधान
दायित्व सांसदतिर भो विधान
छिट्टो बनाऊ बरु संविधान ।।९।।

के.पी., माधव वा सुशील जति छौ नेता तिमी देउवा
खुट्टा नै किन पो कमाउनु प¥यो ? केही विरोधी छँदा
जारी होस् अब संविधान जनता यै चाहना राख्तछन्
गर्छन् रोध– विरोध क्वै यदि भने आफैँ जली मर्दछन् ।।१०।।