सम्पदाको संरक्षणमा जनप्रतिनिधको जोड

सम्पदाको संरक्षणमा जनप्रतिनिधको जोड


काठमाडौँ महानगरपालिकाभित्र रहेका प्राचीन ऐतिहासिक धरोवर र सम्पदाको संरक्षण गर्नुपर्नेमा जनप्रतिनिधले जोड दिएका छन् ।

उक्त महानगरपालिकाले काठमाडौं निर्वाचन क्षेत्रका सङ्घीयसभा र प्रदेशसभाका सदस्यसँग आयोजना गरेको विकास पूर्वाधारसम्बन्धी छलफल कार्यक्रममा उनिहरुले महानगरको इतिहासलाई जीवन्त राख्नुपर्ने सुझाव दिए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महानगरभित्र लिच्छिविकालीन समयका कला, कौशलता तथा संस्कृतिले यहाँको सभ्यता र पहिचानलाई कायम गरेकाले तीनको संरक्षणको खाँचो औँल्याउँदै स्थानीय जनताको आवश्यकताका आधारमा अन्य विकास निर्माण गर्नुपर्ने बताए ।

नेपाली काङ्ग्रेसका नेता भिमसेनदास प्रधानले केन्द्र र प्रदेशले पठाएका विकासका योजनामा जनताको अपनत्व ग्रहण गराउन न्यूनतम जनसहभागिता गराउनुपर्नेमा जोड दिए । निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम र प्रदेश सरकारले पठाएको सशर्त अनुदानलाई महानगरपालिकाको स्थानीय विकास आयोजनासँग समन्वय हुने गरी सम्पदाको जगेर्ना तथा पूर्वाधार विकास निर्माण कार्य अगाडि बढाउनुपर्नेमा जनप्रतिनिधिबीच समझदारी कायम भएको प्रदेशसभा सदस्य वसन्त मानन्धरले जानकारी दिए ।

महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्र, पार्कलगायत निर्माण गर्न केन्द्र र प्रदेशको सहयोगको अपेक्षा गरे ।