फुल्चोकीको जंगलमा हराएका १६ को प्रहरीद्वारा उद्धार

फुल्चोकीको जंगलमा हराएका १६ को प्रहरीद्वारा उद्धार


ललितपुरको फुल्चोकी जंगल घुम्न गएका चार किशोरीसहित १६ जनालाई प्रहरीले उद्धार गरेको छ । उनीहरू जंगल घुम्न गएको बेला हराएका थिए । उनीहरूले आफूहरू गोदावरी जंगल घुम्न आएकोमा हराएको भन्दै १०० नम्बरमा फोन गरेपछि प्रहरीले उनीहरूलाई उद्धार गरेको हो ।

उनीहरू शनिबार साँझ ललितपुरको गोदावरी–३ स्थित फुल्चोकी घुम्न गएका थिए । आफूहरू जंगलमा हराएको प्रहरीलाई जानकारी गराएपछि ललितपुर प्रहरी परिसरसहित सातदोबाटो वृत्त र प्रहरी प्रभाग, बाडेगाउँसहितबाट गरी सातवटा टोली उनीहरूको खोजीका परिचालित भएका थिए ।

खोजीका क्रममा उनीहरूलाई गोदावरी बसपार्कबाट १० किलोमिटर टाढा फुल्चोकी जंगलको बीच खोँच भेटी उद्दार गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

उद्धार गरिएकामा धनुषाका ब्रिजमोहन साह, सुवास साह, अभिषेक यादव, ऋषिकुमार साह, श्रीराम साह, करण साह, सुवास साह रहेका छन् ।

यसैगरी उद्धार गरिएका अन्यमा स्याङ्जाकी सपना गुरुङ, तनहुँकी सिर्जना भट्टराई, काठमाडौंका अविनभसिंह ठकुरी, सिन्धुपाल्चोकका रोशन राना र दोलखाका रमेश पौडेल, मोरङका सञ्जोग घिमिरे, काठमाडौंकी अप्सरा खत्री, नुवाकोटकी श्रेया थपलिया र धनुषाका सन्तोषकुमार साह रहेको जनाइएको छ ।