मूर्ति चोरी र भन्सार छलीमा संलग्न पक्राउ

मूर्ति चोरी र भन्सार छलीमा संलग्न पक्राउ


महानगरीय प्रहरी परिसर काठमाडौंले पुराना बुद्धका मूर्तिसहित एकजनालाई पक्राउ गरेको छ ।
टोलीले स्वयम्भू, सीतापाइला र भगवानपाउ इलाकामा पुरातात्विक महत्वका मूर्ति बेचबिखन तथा कारोबार हुँदै छ भन्ने विशेष सूचनाका आधारमा सिन्धुलीका ३९ वर्षीय दिलबहादुर ल्योलेलाई शनिबार साँझ पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता होविन्द्र बोगटीले झोलामा लुकाएर ल्याएका तीनथान बुद्धका मूर्तिसहित उनलाई पक्राउ गरिएको जानकारी दिए ।

यसैगरी परिसरको टोलीले भन्सार छलेर ल्याएको सुनसहित एकजनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशबाट फर्किएका कामदारलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन ल्याउँदै गरेको अवस्थामा धनकुटाका २८ वर्षीय समीर श्रेष्ठलाई शनिबार साँझ पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका श्रेष्ठसँग सुनका चुरा पाँच थान र रु. ४१ हजार बरामद गरेको छ । पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीका लागि राजस्व विभाग हरिहर भवन पठाइएको परिसरले जनाएको छ ।