इन्द्रेणी

इन्द्रेणी


indreniमुक्तक– जेबी खत्री
कति धेरै दुःख गर्छन्
पौरखीका हातहरू
दुःखमा नै रमाउँछन्
पौरखीका साथहरू ।

० ०

पौरखीले चट्टानमा
फूल फुलाउँछ
उद्यमीले चट्टानमै
मूल फुटाउँछ ।

००

दुःख गरे चट्टानमै
भाग्य टुसाउँछ
परिश्रमको फलमा नै
दिल खुसाउँछ ।

मृत्यु खरिद गर्छ मनुष्य !– तुलसीराम पोखरेल ‘निर्दोषी’

दाना छैन, पानी छैन
कपास छैन, बास छैन
तर, मनुष्य मृत्यु खरिद गर्छ !

सवारीसाधन सुविधा हो, यो शान–मान पनि हो
तर, लापरबाही नियन्त्रण नहुँदा
आँसु झर्छ शोक पर्छ
किनकि, बरदान भनिएको विज्ञान
अभिशाप पनि हो भन्ने बुझिएको छ
तर, मनुष्य मृत्यु खरिद गर्छ !

प्रविधिले फड्को मा-यो
आँसु र पीडा पनि थप्यो
कच्ची बाटो कच्चा ड्राइभर
कमजोर कानुन बुझदबुझ्दै–
तर, मनुष्य मृत्यु खरिद गर्छ !

छैनन् सच्चा मित्र, जीवन छ कच्चा
टर्रो परिवार, अमिलो समाज
सरकार पिरो, यान्त्रिक जिन्दगी
तर, मनुष्य मृत्यु खरिद गर्छ !
– गोंगबु आवास क्षेत्र, काठमाडौं