आज माघे संक्रान्ति, देशैभरि उल्लासका साथ मनाइँदै

आज माघे संक्रान्ति, देशैभरि उल्लासका साथ मनाइँदै


आज माघे संक्रान्ति, परम्परागत रुपमा देशभर तथा नेपालीहरु बसोबास गर्ने विभिन्न मुलुकहरुमा धुमधामका साथ मनाइँदै छ ।

देशभर विभिन्न जाति र समुदायले आ–आफ्नै मुल्य–मान्यताअनुसार माघे संक्रान्ति मनाइरहेका छन् । आजको दिनदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रन्तिलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।

आजकै दिनबाट हिउँद घट्दै जाने र वसन्तका साथै ग्रिष्म ऋतु बढ्दै जाने मान्यता पनि रहिआएको छ । माघे संक्रान्तिमा सबेरै उठेर नुहाईधुवाई गरेर, चोखो कपडा लगाई तील र चाकु मिसाएको परिकार तथा तरुल आदि खाने चलन छ ।

माघे संक्रान्ति थारु र मगर समुदायको मुख्य चाँड हो । थारु र मगर समुदायले माघे संक्रान्तिलाई माघी पर्वको नामले मनाउने गरेका छन् । पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरलगायत जिल्लामा थारु समुदायले धुमधामका साथ माघी मनाइरहेको छन् । उता मगर समुदायको बाहुल्य क्षेत्रमा पनि माघीले छुट्टै रौनक थपेको छ ।

साथै सुदूरपश्चिम प्रदेशमा आजको दिनलाई ‘नरहरी’ पर्वको नामले धुमधामसाथ मनाइन्छ । आजको दिन बिहानै कागलाई चामलबाट बनेको विशेष रोटी ‘झुनमुने’ खुवाएर नुहाइधुवाइ गरी मनाइन्छ । यसैबीच, माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा राजनीतिक दलका नेताहरुले शुभकामना समेत दिएका छन् ।