एक सय सात किलो गाँजासहित कारचालक पक्राउ

एक सय सात किलो गाँजासहित कारचालक पक्राउ


महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित एक कारचालकलाई पक्राउ गरेको छ । सर्लाही जिल्ला पर्सा गाउँपालिका-१ का २० वर्षीय चन्दन यादव पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवारका अनुसार बीआर ३० एएच २३८८ नम्बरको सेतो रङ्गको कारको डिक्कीमा गाँजा राखी बर्दिवास हुँदै सदरमुकाम जलेश्वरतिर आउँदै गर्दा औरही नगरपालिका-८ स्थित टिम्कियामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीलाई शङ्का लागि कार रोकेर जाँच गर्दा कारको डिक्कीभित्र २० वटा पोकामा एक सय सात किलो चार सय ८५ ग्राम लागुऔषध गाँजा लुकाइ राखेको अवस्थामा बरामद गरिएको थियो ।

बरामद गाँजालाई चालकसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि आजै महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।